अनलाइन प्रणालीका कारण वित्तीय र भुक्तानी क्षेत्रमा सकारात्मक प्रभाव

अनलाइन प्रणालीको बढ्दो प्रयोग र विस्तारले नेपालको वित्तीय र भुक्तानी क्षेत्रमा सकारात्मक प्रभाव पारेको सरोकारवालाले बताएका छन् ।

पछिल्लो दशकयता भित्रिएका नयाँ पूर्वाधार, प्रविधि र एप्लिकेशनको सहायताले वित्तीय तथा सार्वजनिक सेवाको प्रयोग घरबाटै उपभोग गर्ने स्थिति आएको उनीहरुले चर्चा गरे । 

ब्रान्डवर्थ प्रालिले शनिबार आयोजना गरेको ‘फोन पे डिजिटल कन्क्लेभ’ मा बोल्दै सम्बद्ध सरोकारावाले सेवा लिँदा लाइन लाग्नुपर्ने, कार्यालय धाउनुपर्ने झन्झट घटिरहेको बताए । साथै डिजिटल सेवा राजधानी र केही सहरमा मात्रै केन्द्रित भएकाले यसलाई देशको दूरदराजसम्म विस्तार गर्नुपर्ने आवश्यकता समेत उनीहरुले औंल्याएका छन् ।

डिजिटल कन्क्लेभको छैटौं सत्र अन्तर्गत ‘अनलाइन कि अफलाइन’ विषयमा बोल्दै सरोकारवाहरुले पछिल्लो एक दशकयता नेपालमा डिजिटल प्रविधिको विकासले सेवा प्रवाहमा सरलता र पारदर्शिता ल्याएको चर्चा गरे । 

सो अवसरमा बोल्दै सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुण्यप्रसाद आचार्यले प्रविधिका कारण शेयर÷आईपीओ भर्नेहरुको लामो लाइनको अन्त्य भएको बताए ।

सीडीएससी ‘पेपरलेस नेटवर्क’को रुपमा अगाडि बढिरहेको बताउँदै उनले भने, ‘आईपीओ अनलाइनबाटै लिने सुविधा हुँदा कोभिड महामारीको समयमा धेरै सहज भइरहेको छ ।’

पुँजी बजारमा अहिले हरेक दिन ५ देखि ६ अर्बको हारहारीमा कारोबार भइरहेको अवस्थामा यसको व्यवस्थापन अनलाइन सिस्टमबाटै भइरहेको उनले बताए ।

‘हाल पुँजी बजार शहरकेन्द्ति छ । डिजिटल प्रणालीको सहायताले यसलाई गाउँतिर पनि लैजानुपर्छ,’ उनले भने, ‘इन्टरनेटको पहुँच र वित्तीय साक्षरता बढेसँगै सबै ठाउँबाट पुँजी बजारमा उपस्थिति हुने अवस्था छ । त्यसैले बैंक तथा वित्तीय संस्था, ब्रोकर र सम्बद्ध सबै सरोकारवालाबीच सहकार्य हुनुपर्छ’ ।

त्यस्तै कार्यक्रममा बोल्दै अर्का वक्ता नेपाल क्लियरिङ हाउस लिमिटेका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले लाइनबाट अनलाइनको यात्रामा गइरहँदा एनसिएचएलको प्रभाव उल्लेखनीय रहेको चर्चा गरे ।

एनसिएचएल मार्फत् यो आर्थिक वर्षमा कात्तिक मसान्तसम्म करिब १५५ अर्ब रुपैयाँको हारहारीको कारोबार डिजिटल प्रणालीबाट भएको जानकारी उनले दिए ।

उनले भने, ‘अहिले सामान्य उपभोक्ताले डेबिट काडर्, क्रेडिट कार्ड, प्रिपेड कार्ड लगायत प्रयोग गर्छन् । साथै मोबाइल बैंकिङ, एप्लिकेशन, वालेटहरु छन् । रिटेल ट्रान्जेक्सनका लागि समेत चेकको प्रयोग हुने गथ्र्यो, अहिले विस्तारै डिजिटल प्रणालीमा परिवर्तन हुँदै छ ।’

डिजिटल पेमेन्ट जारी गर्ने पूर्वाधारको सन्दर्भमा नेपालमा टेलिकम, बैंक आदिमा ‘एक्सेप्टेन्स’ हुने पूर्वाधारको कमी भएको भनाइ उनको छ । ग्राहकहरुलाई नयाँ प्रविधिमा आकर्षित गर्न कतिपय सवालमा नीतिगत रुपमै कार्यक्रम ल्याउँदा थप सहज हुने उनले बताए ।

साथै उनले पेमेन्ट इकोसिस्टमको विकासका लागि चाहिने लगानी, पूर्वाधारको विकास, सेवाग्राही विस्तार, सचेतना आदिका लागि सरोकारवालाहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिए । 

त्यस्तै कार्यक्रममा बोल्दै भुक्तानी सेवा प्रदायक ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले घरमै बसी अनलाइन भुक्तानी गर्ने अभ्यासले सेवाग्राहीहरुको अनावश्यक भीड र लाइन घटाएको उल्लेख गरे ।

नेपालमा अनलाइन भुक्तानी सम्बन्धी कुनै कानून नै नहुँदा ई–सेवा सुरु गरिएको चर्चा गर्दै उनले अहिले भने अनलाइन भुक्तानी सेवाले उद्योगको स्वरुप पाएको भनाइ राखे । 

‘एक÷दुई जनाको सोचबाट सुरु भएको स्टार्टअपले देशमा अनलाइन भुक्तानी उद्योग सिर्जना गरिदिएको छ,’ उनले सुनाए ।

ई–सेवाले हाल ४० लाख ग्राहकलाई प्रत्यक्ष सेवा र एक लाख एजेन्ट नेटवर्कबाट डेढ करोड जनतालाई सेवा दिइरहेको उनले जानकारी दिए । 

सापकोटाका अनुसार सेवा उपभोगदेखि नीति निर्णय गर्ने सबै तहको ‘माइन्डसेट’ परिवर्तन हुन जरुरी छ । ‘अहिले क्यास वा चेक भुक्तानी र डिजिटल पेमेन्टलाई लिएर एकप्रकारको खाडल नै छ,’ उनले भने, ‘धेरैले अझै भुक्तानीका लागि क्यासलाई पहिलो प्राथमिकता दिन्छन् र डिजिटल पेमेन्टलाई वैकल्पिक ठान्छन् । अब डिजिटल पेमेन्टलाई मुख्य र क्यासलाई दोस्रो माध्यम भनेर चिनाउन आवश्यकता छ ।’

त्यस्तै छलफलमा बोल्दै इन्टरनेट सेवा प्रदायक भायनेट कम्युनिकेशन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठकले कोभिड महामारी सुरु भएयता अनलाइन प्रयोगकर्ताको संख्या तीव्र बढेको बताइन् ।

‘लाइनबाट अनलाइनमा जान स्वभावैले इन्टरनेटको सबैभन्दा ठूलो भूमिका छ । अहिले जेजति डिजिटल रुपान्तरण देखिरहेका छौं, इन्टरनेट प्रविधिमा आएको विकास र परिवर्तन कै कारण सम्भव भएको हो,’ उनले भनिन् ।

कोभिड महामारी सुरु भएयता डेटाको खपत ह्वात्तै बढेको उनले बताइन् । ‘हामीले सुरुमा एफटिटिएच सुरु गर्दा १ एमबीपीएसको इन्टरनेट दिँदा पनि ठूलो स्पीड लाग्थ्यो,’ उनले भनिन्, ‘अहिले मानिसहरुले अनलाइनबाटै शिक्षा, भुक्तानी, ईकमर्स, सोसल मिडिया लगायतका काम गर्दा धेरै डेटाको उपभोग गरिरहेका छन् ।’

उनले इन्टरनेटको खपतसँगै डेटा सुरक्षाको मुद्धा पनि संवेदनशील बनिरहेको तर्क गरिन् । ७ महिनाअघि भायनेटले आफ्ना ग्राहकसँग सम्बन्धित डेटा ब्रिचको घटना भोगेको उदाहरण दिँदै उनले सूचना सुरक्षाको जोखिम सबैतिर बढेको उल्लेख गरिन् । 

‘सुरक्षा अद्यावधिक गर्ने, अडिट गरिरहने, निश्चित सेक्युरिटी फायरवेल राख्ने कुरामा सतर्क हुन जरुरी छ,’ उनले भनिन्, ‘अहिले नियामक दूरसञ्चार प्राधिकरणले पनि सेवा प्रदायकका यस्ता विषयलाई सम्बोधन गर्न विनियामवली ल्याएको छ, जसमा सुरक्षा अवलम्बनका केही व्यवस्था तोकिएका छन् छन् ।’


 

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *