एमबाप्पे र ग्रिजमनको गोलको फ्रान्सको जित

एजेन्सी – युवा फरवार्ड केलियन एमबाप्पे र एन्टोइन ग्रिजमनको गोल सहयोगमा विश्व विजेता फ्रान्सले युइएफए नेसन्स लिगमा विश्व उपविजेता क्रोएसियालाई २–१ ले पराजित गरेको छ ।

फ्रान्सले क्रोएसियालाई पछिल्लो तीन खेलमा लगातार पराजित गर्न सफल भएको हो । क्रोएसियाका निकोला भ्लासिकले गोल गरेपनि टोलीको हार टार्न सकेन । फ्रान्सले विश्वकपको फाइनलमा तथा गत महिना नेसन्स लिगकै खेलमा क्रोएसियालाई समान ४–२ ले पराजित गरेको थियो ।
माक्सिमिरल जाग्रिवमा बुधबार राति भएको खेलमा पाहुना टोलीले खेलको आठौं मिनेटमा नै एन्टोइन ग्रिजमनको गोलबाट अग्रता लिएको थियो । फर्लान्ड मेन्डीको क्रसलाई क्रोएसियाका डिफेन्डरले राम्ररी क्लियर गर्न नसकेको बललाई ग्रिजमनले गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।

१५औं मिनेटमा फरवार्डद्धय मार्सियल र एमबाप्पेको समन्वय मिलेपनि एमबाप्पेको प्रहार पोस्टबाट थोरै बाहिरिदा फ्रान्स अग्रता दोब्बर पार्नबाट चुक्यो । १९औं मिनेटमा फ्रान्सले पेनाल्टी अपिल गरेपनि रेफ्रीले त्यसलाई वास्ता गरेन ।
३०औं मिनेटमा क्रोएसियाले बराबरीको सुवर्ण अवसर खेर फाल्यो । मारियो पासालिकको पहिलो प्रहारलाई डिफेन्डर क्लेमेन्ट लेङ्लेटले ब्लक गरेपनि रिवाउन्डमा उनकै प्रहारलाई गोलरक्षक ह्युगो लोरिसले उत्कृष्ट बचाउ गर्दै बराबरी टारे । लगत्तै क्रोएसियाले पेनाल्टी अपिल गरेपनि रेफ्रीले त्यसमा कुनै प्रतिक्रिया दिएन ।
४५औं मिनेटमा ग्रिजमनको सुन्दर फ्रिकिकमा क्लेमेन्ट लेङ्लेटको हेडर पोस्टनजिकै बाट बाहिरिदा फ्रान्स अग्रता दोब्बर पार्नबाट चुक्यो । प्रतिस्पर्धात्मक बनेको खेलको ६४औं मिनेटमा घरेलु टोलीले खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

कप्तान लुका मोड्रिचबाट आएको ब्याक पासलाई जोसिप ब्रेकालोले मिलाईदिएको पासमा निकोला भ्लासिकको प्रहारलाई फ्रान्सका गोलरक्षक लोरिसले रोक्ने कुनै अवसर नै पाएन । ७६औं मिनेटमा ग्रिजमनको कर्नरमा राफयल भरानबाट फ्लिक हुदै आएको बललाई पल पोग्वाको लो प्रहार गोलरक्षक डोमिनिक लिभाकोभिकले सहजै नियन्त्रणमा लिए ।
७९औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए । पल पोग्वाको लामो पासलाई लुकास डिग्नेले अफसाइड बिट ट्रयाप गर्दै वान टचमा फ्लिक गरेको बललाई एमबाप्पेले पनि वान भर्सेस वानको अवस्थामा वान टचमा फिनिस गरेका थिए । खेलमा पछि परेपछि घरेलु टोलीले दुई सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।
८६औं मिनेटमा माटियो कोभासिसको प्रहारलाई गोलरक्षक लोरिसले दोस्रो प्रयासमा बचाएपनि क्रोएसिया बराबरीबाट चुक्यो । ९०औं मिनेटमा एन्डरेज क्रामारिकको सुवर्ण अवसर पाएपनि लोरिसले अर्काे उत्कृष्ट बचाउ गरेपछि फ्रान्स २–० ले विजयी हुन सफल भयो ।
जितसँगै लिग ‘ए’ ३ मा अपराजित रहेको फ्रान्स ४ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा रहँदा क्रोएसिया ३ अंकसहित तेस्रो स्थानमा छ । समान १० अंक भएपनि पोर्चुगल गोल अन्तरमा शीर्षस्थानमा छ । स्वीडेनले अंकको खाता खोल्न सकेको छैन ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *