इटाली र नेदरल्यान्ड्स भिड्दै

एजेन्सी – युइएफए नेसन्स लिगको चौथो राउन्डको खेलमा आज (बुधबार) राति विभिन्न २० खेलमा प्रतिस्पर्धा हुदैछ । इटालीले घरेलु मैदानमा बलियो नेदरल्यान्ड्सको आतिथ्यता गर्दा इंग्ल्यान्डले डेनमार्कको तथा बेल्जियमले आइसल्यान्डको सामना गर्दैछ ।

इटाली र नेदरल्यान्ड्सबीचको खेल गिविस स्टेडियम बरगामोमा राति १२ः३० बजे हुनेछ । घरेलु मैदानमा नेदरल्यान्ड्सलाई पराजित गर्दै इटाली अंक तालिकामा बलियो पकड बनाउँदै नेसन्स लिगको अर्काे चरणको सम्भावना बलियो पार्ने दाउमा हुनेछ ।
लिग ‘ए’ १ मा रहेको इटालीको ३ खेलबाट ५ अंक रहेको छ । समान खेलबाट नेदरल्यान्ड र पोल्यान्डको ४ अंक रहेको छ । बोस्निया एन्ड हर्जगोभिनाको २ अंक रहेको छ । पछिल्ला खेलहरुमा अपराजित रहेको इटाली नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि अपराजित यात्रालाई निरन्तरता दिने योजनामा हुनेछ ।
इटालीको यो योजनामा सिरो इम्मोविले, स्टेफन अल सरावे, फेडरिको चिइसा, मार्काे भेराटी, जर्गिन्हो, निकोलो बरेल्ला, जर्जियो चिलियानी, लियोनार्दाे बोनुची, एलेसान्द्रो फ्लोरेन्जी, क्रिस्टियानो बिराघी र गोलरक्षक जियानलुजी डोन्नररुम्मा रहनेछन् । यस्तै इमर्सन, मोइस किन, ड्यानिलो डि एम्ब्रुसो र स्टेफानो सेन्सीलगायतको खेलाडी पनि इटालीसँग हुनेछन् ।

यता, पछिल्लो खेलमा सन्तोषजनक नतिजा ल्याउन नसकेको नेदरल्यान्ड्स इटालीलाई पराजित गर्दै जितको लयलाई पक्रने योजनामा हुनेछ । नेदरल्यान्ड्सको पछिल्लो ३ खेलमा दुई हार र एक बराबरीको नतिजा छ । गत महिना नेसन्स लिगकै दोस्रो राउन्डमा नेदरल्यान्ड्स इटालीसँग १–० ले तथा मैत्रीपुर्ण खेलमा मेक्सिकोसँग १–० ले पराजित हुँदा नेसन्स लिगमा बोस्नियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।
प्रशिक्षक रोनाल्ड कोम्यानले छाडेयता नेदरल्यान्ड्सले चार खेल खेल्दा १ मात्र जित हात पारेको छ ।नेदरल्यान्डसँग मेम्फिस डिपाए, लुक डि जोङ, जर्जिन्हो वाइनाल्डम, फ्रान्की डि जोङ, क्विन्सी प्रोमिस, भर्जिल भान डाइक र गोलरक्षक जस्पर सिलेसन छन् ।

यि दुई टोली ५ पटक प्रतिस्पर्धा गर्दा तीन खेल इटालीले जित्दा दुई खेल बराबरीमा सकिएको छ । नेदरल्यान्ड्सले जित निकाल्न सकेको छैन ।
यही समूहको अर्काे खेलमा पोल्यान्ड र बोस्निया एन्ड हर्जगोभिनाबीच राति १२ः३० बजे नै प्रतिस्पर्धा हुँदैछ। इटाली र नेदरल्यान्ड बराबरीमा रोकिएको अवस्थामा पोल्यान्डले बोस्नियालाई हराए अंक तालिकामा शीर्षस्थानमा उक्लनेछ ।
पोल्यान्डका लागि रोबर्ट लेवान्डोस्की मुख्य हतियार हुँदा बोस्नियासँग इडेन जेको र मिरालेम प्यानिच टोलीमा हुनेछ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *