दिल्लीलाई शीर्षस्थानमा उक्लिने अवसर

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३० औं खेलमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७ : ४५ पछि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

दिल्ली छैटौं र राजस्थान चौथो जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्ने छन् । दिल्ली ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक तालिमा नेट रन रेटको आधारमा दोस्रो छ । समान १० अंकनै भएपनि नेट रनरेटको आधारमा मुम्बई इन्डियन्स शीर्ष र रोयल च्यालेन्जर्स बेंगलोर तेस्रो स्थानमा छन् । आजको खेलमा विजयी भएमा दिल्ली १२ अंकका साथ शीर्षस्थानमा उक्लिने छ ।
यता राजस्थान भने ७ खेलमा ३ मा जित र ४ मा हार सहित सातौं स्थानमा छ । राजस्थान दिल्लीलाई हराउँदै अंक तालिकामा चौथो स्थानमा उक्लिन चाहाँन्छ । पछिल्लो खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको राजस्थानको मनोबल उच्च छ । उक्तक्रममा राहुल टेवाटियाले ४५ र रियान पराग ४२ रनमा अविजित रहँदै जित पक्का गराएका थिए ।
टेवाटिया र परागले उक्त खेलमा राजस्थान शीर्षक्रममा मात्र निर्भर छैन भन्ने संकेत दिएका थिए । तर राजस्थानका शीर्षक्रमका ब्याट्सम्यानलाई उत्कृष्ट प्रर्दशन गर्न आवश्यक छ । राजस्थानले दिल्लीलाई हराउन स्टिभ स्मिथ, जस बटलर, सन्जु स्यामसन र बेन स्टोक्सले उत्कृष्ट ब्याटिङ गर्न आवश्यक देखिन्छ । जोफ्रा आर्चर बलिङ हतियार हुन् । जोफ्रा आर्चरलाई अन्य बलरले राम्रो साथ दिन आवश्यक छ ।

राजस्थानले चार विदेशी खेलाडीमा स्टोक्स, स्मिथ, आर्चर र बटलरलाई खेलाउने छ । जारी सिजनमा उत्कृष्ट प्रर्दशन गर्दै आएका अलराउन्डर टेवाटिया दिल्लीलाई टाउको दुखाईका खेलाडी बन्न सक्छन् । स्टोक्स राजस्थानका प्रमुख खेलाडी हुन् । उनको प्रर्दशन निकै महत्वपूर्ण हुने छ ।
दिल्ली पछिल्लो खेलमा मुम्बईसँग ५ विकेटले पराजित हुन पुगेको थियो । विकेटकिपर ऋषभ पन्त घाइते भएको हुँदा उनले आजको खेल पनि गुमाउने छन् । पन्त घाइते हुँदा दिल्लीले विकेटकिपरमा अष्ट्रेलियाका एलेक्स केरी र चौथो नम्बरमा अजिंक्या रहाणेलाई निरन्तरता दिने छ । अर्का आक्रामक ब्याट्सम्यान शिम्रन हेटमायर पनि बेन्चमा बस्नुपर्ने हुन्छ ।
दुई आक्रामक ब्याट्सम्यान टोलीमा नहुँदा दिल्ली केहि दबाबमा रहने छ । पृथ्वी शा, शिखर धवन र कप्तान श्रेयस ऐरलाई उत्कृष्ट इनिङ खेल्न आवश्यक देखिन्छ । तल्लोक्रममा मार्कस स्टोइनिसले आफ्नो लयलाई निरन्तरता दिन आवश्यक छ । सुरुवाती ७ खेलमा १७ विकेट लिएका तीव्र गतिका बलर कागिसो रबाडा दिल्लीका प्रमुख हतियार हुन् । रबाडालाई एनरिच नोर्टजे र हर्षल पटेलले राम्रो साथ दिन आवश्यक देखिन्छ ।

दिल्लीले स्पिनरमा रविचन्द्रन आश्विन र अक्षर पटेललाई निरन्तरता दिने छ । दुबईको बाउन्ड्री ठूलो हुँदा मध्यक्रममा आश्विन र अक्षर दिल्लीका लागि नायक बन्न सक्छन् । दुबै टोलीमा खेलाडी परिवर्तन गर्ने सम्भावना कम छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आजको खेलमा पनि बेन्चमा बस्ने सम्भावना छ । दिल्लीले चार विदेशी खेलाडीमा रबाडा, नोर्टजे, स्टोइनिस र केरीलाई खेलाउने छ ।
आइपिएलमा दिल्ली र राजस्थानबीच कुल २१ खेल भएका छन् । दिल्ली १० खेलमा विजयी हुँदा ११ खेलमा पराजित भएको छ । जारी सिजनको पहिलो खेलमा दिल्लीले राजस्थानलाई ४६ रनले पराजित गरेको थियो । शारजाहमा सम्पन्न उक्त खेलमा दिल्लीले पहिला ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो । राजस्थान १९.४ ओभरमा १ सय ३८ रनमा अल आउट भएको थियो ।
अंक तालिका
मुम्बई, दिल्ली र बेंगलोरको अंक तालिकामा समान १० अंक छ । समान ७ खेलमा नेट रन रेटको आधारमा मुम्बई शीर्ष, दिल्ली दोस्रो र बेंगलोर तेस्रो स्थानमा छन् । कोलकाता ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ।
सनराइजर्स हैदराबाद ८ खेलमा ५ मा हार र ३ मा जित सहित पाँचौ स्थानमा छ । चेन्नई सुपर किंग्स ८ खेलमा ५ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । राजस्थान ७ खेलमा ४ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *