हालान्डको ह्याट्रिकमा नर्वेको फराकिलो जित

एजेन्सी – युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डले ह्याट्रिक पुरा गरेपछि युइएफए नेसन्स लिगको समूह चरणको तेस्रो खेलमा नर्वेले रोमानियामाथि ४–० को फराकिलो जित आत्मसात गरेको छ ।

घरेलु मैदानमा नर्वेको जितमा हालान्डले ह्याट्रिक पुरा गर्दा एलेक्सान्डर सोरलोथले एक गोल थपे । २० वर्षीय युवा फरवार्ड हालान्डले पहिलो एक तथा दोस्रो हाफमा दुई गोल गर्दै राष्ट्रिय टोलीबाट पहिलो ह्याट्रिक पुरा गरे ।
ओस्लोमा आइतबार राति भएको खेलमा घरेलु टोली नर्वेले खेलको १३औं मिनेटमा हालान्डको गोलबाट अग्रता लिएको थियो । उनले स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर मार्टिन ओडगार्डको चलाखीपुर्ण पासमा अफसाइड बिट ट्रयाप गर्दै उत्कृष्ट फिनिस गरेका थिए ।
३९औं मिनेटमा एलेक्सान्डर सोरलोथले गोल गरेपछि नर्वेले पहिलो हाफमा २–० को अग्रता कायम गर्‍यो । बर्गर मेलिङको पासमा अनमार्क रहेका सोरलोथले वान टचमा खाली पोस्टमा गोल गरेका थिए ।

दोस्रो हाफको दुवै गोल हालान्डको नाममा रह्यो । ६४औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गर्दै नर्वेलाई फराकिलो जिततर्फ अग्रसर गराए । यसपटक पनि हालान्डले ओडेगार्डकै पासमा क्लोज रेन्जबाट गोल गर्न सफल भएका थिए ।
त्यसको १० मिनेटपछि एलेक्सान्डर सोरलोथको पासमा हालान्डले गोल गर्दै राष्ट्रिय टोलीबाट पहिलो ह्याट्रिक पुरा गर्दै नर्वेलाई ४–० को सानदार जित दिलाए । २०१९ देखि राष्ट्रिय टोलीमा रहेका हालान्डले नर्वेबाट ६ खेल खेल्दै ६ अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका छन् ।

जितसँगै नर्वेको लिग ‘बी’ १ मा तीन खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा उक्लन सफल भएको छ । पराजित रोमानिया ४ अंकसहित तेस्रो स्थानमा छ । यही समूहको अर्काे खेलमा अष्ट्रियले नर्दन आयरल्यान्डमाथि १–० को जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ ।
अष्ट्रियको जितमा माइकल ग्रिगोरिसचले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । समान ६ अंक भएपनि हेड टु हेडमा नर्वे दोस्रो स्थानमा छ । नर्दन आयरल्यान्ड १ अंकसहित पुछारमा छ ।
अन्य नतिजा
लिग ‘ए’ ग्रुप – १
बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध नेदरल्यान्ड्स (०–०), पोल्यान्डविरुद्ध इटाली (०–०)
लिग ‘ए’ ग्रुप – २इंग्ल्यान्डविरुद्ध बेल्जियम (२–१), आइसल्यान्डविरुद्ध डेनमार्क (०–३)
लिग ‘ए’ ग्रुप – ३क्रोएसियाविरुद्ध स्वीडेन (२–१), फ्रान्सविरुद्ध पोर्चुगल (०–०)
लिग ‘बी’ – १नर्वेविरुद्ध रोमानिया (४–०), नर्दन आयरल्यान्डविरुद्ध अष्ट्रिया (०–१)
लिग ‘बी’ – २इजरायलविरुद्ध चेक रिपब्लिक (१–२), स्कटल्यान्डविरुद्ध स्लोभाकिया (१–०)
लिग ‘बी’ – ३रसियाविरुद्ध टर्की (१–१), सर्वियाविरुद्ध हंगेरी (०–१)
लिग ‘बी’ – ४आयरल्यान्डविरुद्ध वेल्स (०–०), फिनल्यान्डविरुद्ध बुल्गेरिया (२–०)
लिग ‘सी’ –२अर्मेनियाविरुद्ध जर्जिया (२–२), इस्टोनियाविरुद्ध नर्थ म्यासेडोनिया (३–३)
लिग ‘सी’ –३ग्रीसविरुद्ध माल्दोभा (२–०), कोसोभोविरुद्ध स्लोभेनिया (०–१)
लिग ‘सी’ – ४काजकस्तानविरुद्ध अल्वानिया (०–०), लिथुआनियाविरुद्ध बेलारुस (२–२)

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *