रुविना अलराउन्ड प्रदर्शनमा प्रदेश-१ को सुखद अन्त्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्ड प्रदर्शनमा प्रदेश-१ ले ललितपुर मेयर ११ लाई १४ रनले पराजित गर्दै ललितपुर मेयर वुमन्स च्याम्पियनसिप २०७७ टि० क्रिकेट प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।

जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको ललितपुर मेयर ११ ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनायो । ललितपुरकी सुमन खतिवडाले २५ बलमा ३ चौका सहित २५ रनको योगदान दिइन् । त्यस्तै अनुराधा चौधरी ३२ बलमा ४ चौका सहित २८ रनमा आउट भइन् । कप्तान सरस्वती चौधरी पनि १८ रनमा अविजित रहिन् । कञ्चन श्रेष्ठ ४ र अस्मिना कर्माचार्य १२ रनमा आउट भइन् । प्रदेश १ की कप्तान रुविना क्षेत्री बेलबासेले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिइन् । सबनम राई र ज्योती दनुवारले १-१ विकेट लिइन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय २८ रन बनायो ।प्रदेश-१ की रोमा थापा ५७ बलमा १० चौका सहित ६६ रनमा अविजित रहिन् । रोमाले ४५ बलमा अर्धशतक प्रहार गरेकी थिइन् । अप्सरी बेगम २९ बलमा २ चौका सहित २६ रनमा अविजित रहिन् । तेस्रो विकेटका लागि रोमा र अप्सरीले ७५ रनको अविजित साझेदारी गर्दै प्रदेश १ लाई बलियो योगफलमा पुर्याए ।

ओपनर काजल श्रेष्ठ ८ र कप्तान रुविना क्षेत्री बेलबासे २१ रनमा आउट भइन् । रुविनाले २४ बलमा २ चौका र १ छक्का प्रहार गरिन् । ललितपुर ११ की सरस्वती चौधरी र सरस्वती कुमारी चौधरीले १–१ विकेट लिइन् ।
प्रदेश १ ४ खेलमा २ मा हार र २ मा जित सहित ४ अंकका साथ तेस्रो स्थानमा रहँदै बाहिरियो । तीन महिना अघि प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता च्याम्पियन प्रदेश(१ लिग चरणबाटै बाहिरिएको हो । एपिएफ र सुदूरपश्चिम शीर्ष दुईमा रहँदै फाइनलमा पुगि सकेका छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *