हिराको घुँडाको शल्यक्रिया गर्नुपर्ने

काठमाडौं (हाम्रो खेलकुद)– महिला राष्ट्रिय टोली तथा एपिएफकी रक्षक हिरा भुजेलको दायाँ घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ ।गत महिला सम्पन्न राष्ट्रिय लिगको आफ्नो दोस्रो खेलमै घाइते भएकी हिरा दुई महिना यता फिजियोथेरापी गराउँदै आएकी थिइन् ।

सामान्य बल खेल्दा कुनै समस्या नभएपनि उफ्रिदा चोट लागेको दिनको जस्तै समस्या र घुँडा सुन्निएपछि चिकित्सकको सल्लाहमा उनले घुँडाको एमआरआई गराएकी थिइन् । आइतबार एमआरआई रिपोर्ट आउँदा उनको घुँडाको मिडिल मिनिस्कस टेयर भएको देखिएपछि शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएको हिराले हाम्रो खेलकुदलाई बताइन् ।
‘झन्डै दुई महिनादेखि थेरापी गराएरहेको छु । समान्य अभ्यास गर्न र बल खेल्दा कुनै समस्या छैन,’ उनले भनिन्,‘ तर जम्प गर्दा घुँडा दुख्ने र सुन्निने भएपछि बिएण्डबी अस्पतालको डक्टरलाई देखाए । उहाँले एमआरआई गर्ने सल्लाह दिनुभयो । एपिएफकै अस्पतालमा एमआरआई गराउँदा मिनिस्कस टेयर भएको रिपोर्ट आयो ।’
चोटका कारण उनले महिला लिग गुमाएकी थिएन । माघ १० गते विराटनगर महानगरपालिका विरुद्धको खेलका दौरान ल्यान्डिङ गर्ने क्रममा उनको घुँडामा चोट लागेको थियो । त्यसपछि उनी नियमित थेरापीमा रहँदै आएकी थिइन् । ‘सुरुमा ग्रान्डी अस्पतालमा देखाए । त्यहाँ डक्टरले थेरापीबाट हुन्छ भन्ने सल्लाह दिनु भयो । त्यसपछि लगातार थेरापी गराए,’ उनले भनिन्,‘ यति लामो समयसम्म पनि जम्प गर्दा दुखेपछि मैले एन्फाकी फिजियोथेरापिष्ट नविना (श्रेष्ठ) म्यामलाई भने । उहाँले एकपटक डक्टरलाई देखाउनु भन्नुभयो । डक्टरको सल्लाहमा एमआरआई गराए ।’

मिनिस्कस टेयर भन्ने थाहा भएपछि चाँडो शल्यक्रिया गर्न श्रेष्ठले सुझाएको हिराले बताइन् । उनले भनिन् ‘यति लामो समय देखि थेरापी गरिरहेको छु । अरु सामान्य भइसकेको छ । शल्यक्रिया गराएर रिहाब चाडो सुरु गर्दा छिट्टै खेलमा फर्कने सम्भावना रहन्छ भन्नुभएको छ।’२०७० मा एपिएफमा आबद्ध भएकी हिरा २०७२ मा राष्ट्रिय टोलीकी सदस्य रहँदै आएकी छिन् । उदयपुर कटारीकी उनी राष्ट्रिय टोली र क्लबबाट लेफ्ट ब्याकबाट खेल्दै आएकी छिन् ।
हिराले अखिल नेपाल फुटबल संघ (एन्फा) ले चाँडो शल्यक्रियाको व्यवस्था मिलाई दिए हुने भन्ने आशा राखेकी छिन् । फागुन ३ गते राष्ट्रिय टोली तथा एपिएफकै फरवार्ड सावित्रा भण्डारीलाई पनि घुँडामा चोट लागेको थियो । उनी र हिरा नियमित फिजियोथेरापी गराउँदै आएका छन् । सावित्राको घुँडाको शल्यक्रिया कतारमा गराउनका लागि पहल थालिसकेको एन्फाले जनाएको छ ।

हिराले पनि आफूले पनि त्यस्तै उपचारको अपेक्षा राखेको बताइन् । ‘बाहिर गएर शल्यक्रिया गरेर अनि रिहाब सुरु गर्न पाए चाडै फर्कन्छु भन्ने आशा छ’, उनले भनिन्, ‘नविना म्यानले पनि सावित्राको जस्तो गम्भिर होइन । त्यसैले छिटो फर्कने सम्भावना हुन्छ । जतिसक्दो छिटो शल्यक्रिया गराउन भन्नुभएको छ ।’
एन्फाले यसअघि पटक पटक खेलाडीहरुलाई उपचारका लागि खेलाडीलाई कतार पठाउँदै आएको छ । राष्ट्रिय टोलीका विक्रम लामा र विमल घर्ती मगर कतारमा उपचार गराइरहेका छन् । विक्रमको गत महिना तथा विमलको दुई साता अघि घुँडाको शल्यक्रिया भएको थियो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *