१ माघ, काठमाडौं । भोलिदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुने नेपाल–भारत संयुक्त आयोगको वैठकमा सीमा सम्बन्धी विषयमा छलफल नगर्ने संकेत भारतले गरेको छ ।
परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली तीन दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली ओर्लेको केही घन्टामा भारतीय विदेश मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता अनुराज श्रीवास्तवले सीमासम्बन्धी विषयमा छलफल नहुने संकेत गरेका हुन् ।
पत्रकार सम्मेलनमा उनलाई के वैठकमा सीमा विवादबारे कुराकानी हुन्छ ? भनी सोधिएको थियो । जवाफमा उनले भने,‘सीमा विवादको बारेमा हाम्रो पोजिसन स्पष्ट छ । जेसीएम (संयुक्त आयोग) र बाउन्ड्री वार्ता दुई पृथक संयन्त्र हुन् ।’
भारतसँग सीमा विवादको बारेमा छलफल गर्न परराष्ट्र सचिवस्तरीय संयन्त्र र अन्य प्राविधिक विषयमा बाउन्ड्री वर्किङ ग्रुप (बिडब्लुजी) रहेको छ । नेपालले भने गत वर्ष भारतले नेपाली भूभाग समेटेर नक्सा जारी गरेपछि उत्पन्न विवादको बारेमा छलफल हुनुपर्ने बताइरहेको छ ।