केयूमा सक्षम र नैतिकवान पदाधिकारी नियुक्त गर : डा. केसी

१ माघ, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालय (केयू)को  पदाधिकारीमा सक्षम र नैतिकवान व्यक्तिको नियुक्त गर्न माग गरेका छन् । बिहीबार विज्ञप्ति जारी गरी केसीले केयूको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र न्यायोचित हुनुपर्ने बताएका छन् ।
हाल केयूको उपकुलपति नियुक्तिका लागि सर्च कमिटीले प्रक्रिया अघि बढाएको र ३५ जना भन्दा धेरैले आवेदन दिएका छन् । केसीले विज्ञहरुबाट सबै उम्मेदवारको योग्यता र अनुभवदेखि भिजनसम्मको मुल्यांकन गरेर मात्रै नियुक्तिका लागि सिफारिस गर्न माग गरेका छन् ।
मेडिकल शिक्षा नियमनमा गत वर्षहरुमा देखिएको चरम अनियमितता र बेथितिको केन्द्रमा काठमाडौं विश्वविद्यालयका निवर्तमान पदाधिकारीहरु रहेको भन्दै उनले देशका आधाभन्दा बढी निजी मेडिकल कलेज केयू अन्तर्गत रहेको र पदाधिकारीहरु ती मेडिकल कलेजका सञ्चालकहरुको स्वार्थ र इशारामा चल्ने गरेको आरोप लगाएका छन् ।
‘कतिसम्म भने निजी कलेजहरुलाई नेपाल सरकार मन्त्रिपरिषद्ले एमबीबीएस कार्यक्रमका लागि तोकेकोभन्दा बढी शुल्क लिन दिने गरी अवैध निर्णयहरु समेत भएका छन्’ केसीले भनेका छन् । उनले आफ्नो पछिल्लो सत्याग्रहमा भएका सम्झौतासमेत कार्यान्वयन हुने गरी तथा सक्षम र नैतिकवान व्यक्ति नियुक्त गर्न माग गरेका छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *