स्वनाम साथी : सर्वहाराका लागि महापाठ

चिनियाँ सांस्कृतिक क्रान्तिले नेपाली युवामा कुन स्तरको आवेग पैदा गर्ने गरेको थियो भनेर जान्न स्वनाम साथी (शशी शेरचन) को जीवन बुझ्नपर्ने हुन्छ । चिनियाँ सांस्कृतिक क्रान्तिबाट प्रभावित भएर कम्युनिस्ट पार्टीमा लाग्नेहरू धेरै थिए, कति अहिले पनि जीवित छन् ।
त्यसमध्येका स्वनाम साथी एकमात्र पात्र भेट्छु जो जीवनको अन्त्यसम्म सक्रिय रह्यो । श्रमिक, भुइँमान्छेको लागि लड्ने कम्युनिस्ट आन्दोलनका महापाठ, मार्क्सवादी चिन्तकले १० पुस २०७७ मा हामी माझबाट महाप्रस्थान गरे ।
स्वनाम साथी म्याग्दीको सम्पन्न परिवारमा जन्मिनुभएको थियो । तर त्यो सम्पन्नता ३०–३० वर्ष थेग्ने खालको थिएन । २०४६ पछि उहाँहरु दुःख भोग्नुपर्ने अवस्थामा हुनुहुन्थ्यो । कम्युनिस्टहरू त्यागी हुनुपर्छ भन्ने उहाँको दृष्टिकोण थिएन । कम्युनिस्ट सरल, वर्गहीन हुनुपर्छ तर भोगी नै हो भन्ने दृष्टिकोण उहाँमा थियो । जोगीजस्तो होइन, भौतिकवादी भनेको भोग्ने नै हो भन्ने उहाँको भनाइ हुन्थ्यो ।
स्वनाम साथी आफूलाई साम्यवादी बनाउनको निम्ति स्वाभाविक रूपमा त्यही खालको जीवनमा जानुभयो । त्यसलाई कष्ट होइन, उपलब्धिको रूपमा बुझ्नुभयो । त्यसैले पनि आन्दोलनमा लागेर चरम भौतिक दुःख खेप्नुभयो ।
आफ्नो सबै सम्पत्ति कम्युनिस्ट आन्दोलनलाई बुझाएर आफूलाई सर्वहारा बनाउने व्यवहार उहाँले लागु गर्नुभएको थियो । आर्जनमा भने कहिल्यै लाग्नुभएन । सिंगो कम्युनिस्ट आन्दोलनको मूल प्रवृत्ति भने भएको जोगाउने, सकेसम्म थप्ने खालको थियो । त्यसले गर्दा उहाँ सधंै नमिल्दो पात्र जस्तो हुनुभयो । साँझ परेपछि कहाँ बस्न जाने भन्ने समस्या आइहाल्ने ।
नेपाली कम्युनिस्ट आन्दोलनले उब्जाएको समस्या हो, यो । त्यसलाई समाधान गर्न उहाँले पनि सक्नुभएन । सर्वहारा भइसकेपछि सामूहिक जीवन के हो त भन्ने फैसला हुनुपर्छ । समाजवादी जीवन कस्तो हुनुपर्छ भन्ने हुनुपर्छ ।

एक त रोगी शरीर, त्यसमाथि परिवारसँग सम्बन्ध तोडेपछि स्वनाम साथी निरीहजस्तो बन्नुभयो । त्यसैले पनि सर्वहाराहरूको नीतिबाट पैदा भएको एउटा ठूलो पाठजस्तो लाग्छ मलाई उहाँ । कम्युनिस्ट आन्दोलनप्रति समर्पित भएकाले, विनम्र भएकाले त्यो पात्रले कहिल्यै गुनासो गरेन । सर्वहाराको नीतिमा रहेको अपुग कारणले स्वनामजीले अनावश्यक दुःख पनि झेल्नुपर्यो ।
सांस्कृतिक क्रान्तिको प्रभाव
२०४७ सालसम्म स्वनाम साथीलाई सुमन नामले चिनिन्थ्यो । म ४० सालपछि आन्दोलनमा आएँ, ४६ सालको परिवर्तनपछि उहाँसँग भेट भयो । चार–पाँचवटा पार्टी मिलेर एकता केन्द्र बन्ने छलफल चलिरहेको त्योबेला हामीले पाटन ढोकामा गोप्य खेलखोर बनाएका थियौं ।
उहाँको पार्टी अध्यक्ष रूपलाल विश्वकर्मालाई राख्न र प्रचण्डजीहरू त्यतै भेटिने, निर्मल लामाजीहरू पनि ललितपुर वरपर बस्ने भएकाले भेटवार्ता गर्न सजिलो होस् भनेर हामीले पाटन ढोका रोजेका थियौं । त्यहीँ आबद्ध हुनुहुन्थ्यो स्वनाम साथी पनि । त्यही बेलादेखि लामो समय एउटै कमिटीमा बस्यौँ । यो क्रम निरन्तर रह्यो ।
चीनमा सर्वहारा सांस्कृतिक क्रान्ति चलेको थियो । मानिसहरु कारखाना, खेतमा जाने, विश्वविद्यालयबाट विद्यार्थीहरू जनताको बीचमा जाने महाभियान चलेको थियो । त्यो अभियानको जबरजस्त प्रभाव नेपालका विद्यार्थी र बौद्धिकहरूको बीचमा पर्यो । त्यसैको प्रभावबाट औपचारिक शिक्षा बहिस्कार गरी कम्युनिस्ट आन्दोलन उठाउने अभियानमा स्वनाम साथी लाग्नुभएको थियो ।
ढोंगी कहिल्यै हुनुभएन
स्वनाम साथीले काठमाडौंबाटै राजनीतिक जीवन सुरु गर्नुभयो । २०२२/०२३ सालबाट उहाँले थानकोटको मंगोलदय हाइस्कुलमा पढाउनुभयो । त्यहाँ पढाउनुको उद्देश्य संगठन निर्माण गर्नु थियो । त्यतिबेला पूर्णकालीन कार्यकर्तालाई जीवन चलाउन गाह्रो थियो । अध्यापनको क्रममा उहाँले कालीमाटीमा दाउरा पुर्याउन, बेच्न आउनेहरूसँग संगत बढाउनुभयो । थानकोट क्षेत्रको पार्टी संगठन उहाँकै प्रभावमा बनेको हो ।
स्वनामजी लामो कालसम्म निजी कोठाविनै बाँच्नुभयो । ०४६ सालपछि उहाँ न्युरोडस्थित जनमोर्चाको अफिसमा बस्नुभयो । पार्टी अफिसमा उहाँ सुत्ने एउटा खाट थियो । पार्टी कार्यालय पाटीमा पुग्दा उहाँलाई बस्ने ठाउँ भएन
स्वनामजीले ०३२/३३ सालमा बनाउनुभएको सर्वहारावादी कम्युनिस्ट लिगमा तनहुँ, काठमाडौं लगायतका मानिसहरू थिए । ०३८ सालमा उहाँ नेपालमा मजदुर किसान संगठनसँग एकता गर्न पुग्नुभयो । त्यतिबेला नेपालको कम्युनिस्ट आन्दोलनमा पहिलो पटक पार्टी प्रमुख दलित थियो । दलित समुदायबाट विकसित भएर आएको नेतृत्व रूपलाल विश्वकर्मा थिए ।
औपचारिक शिक्षामा स्नातक गरेर, मास्टर डिग्री फाल्दिएर हिँडेको मान्छे हुन्, स्वनाम साथी । रूपलाल विश्वकर्मा एक–दुई दिनमात्र स्कुल गएका र ग्रामीण परिवेशमा हुर्किएका थिए । आज त जात व्यवस्थाको हालत यस्तो छ भने त्यतिबेला कस्तो थियो होला ? खपिसक्नु नै थिएन । तर स्वनाम साथीले उनै रूपलाललाई नेता बनाएर पार्टी एकता गर्नुभयो ।
उहाँले रूपलाल विश्वकर्माको नेतृत्वलाई अप्ठ्यारो पार्ने, अनावश्यक अन्तरविरोध सिर्जना गर्न खोज्ने कहिल्यै गर्नुभएन । त्यतिबेलाको सन्दर्भ र नेपाली कम्युनिस्ट आन्दोलनको सापेक्षतामा त्यो असाधारण महत्वको कुरा थियो । उहाँसँग रूपान्तरणकारी दिमाग थियो या भनौं आफूलाई त्यसरी रूपान्तरण गर्नुभएको थियो । उहाँ सामाजिक विकारबाट ग्रस्त र ढोंगी कहिल्यै हुनुभएन । साँच्चिकै रूपान्तरणको संघर्ष गरेको मान्छे हो स्वनाम साथी ।
समस्याग्रस्त झोलाको जिन्दगी
धनी परिवारको मानिस सर्वहारा भएर चिन्तालाग्दो स्थितिमा पुग्यो भनेर विभिन्न लेखहरूमा आइरहेको हुन्छ । म यो कुरा मान्दिनँ र स्वनामजी पनि यसलाई अस्वीकार गर्नुहुन्थ्यो । मैले सम्पत्ति छोडेँ या त्यागेँ भन्ने भाव नै थिएन, उहाँमा ।
धनी मानिसहरू श्रमिक वर्गका निम्ति लड्न आउनु भनेको अनावश्यक जन्जिरबाट मुक्त भएको हो । वर्गीय हिसाबले माथिल्लो अवस्थामा पुग्नु भनेको त अनावश्यक र मानवविरोधी संरचनामा फस्नु हो । त्यसबाट बाहिर निस्कनु कुनै त्याग नभएर मुक्तिको प्रश्न हो ।
स्वनाम साथीले पनि त्यही ढंगले बुझ्नुहुन्थ्यो । अरूले यति त्यागे, उति लगानी भयो भनेर ब्याज समेत असुल गर्न चाहने । स्वनाम साथीमा भने त्यागबापत केही पाउनुपर्छ भन्ने चिन्तन प्रक्रिया नै थिएन ।
उहाँमा परिवारप्रतिको लालसा किञ्चित पनि देखिँदैन’थ्यो । उहाँका भाइबहिनीहरूले ०४६ साल आसपासमा दुःख पाइसकेका थिए । उहाँमा परिवारको निम्ति केही गरिदिऔं, सोर्स फोर्स लगाऔं भन्ने पटक्कै थिएन । त्यसैले, धेरैले उहाँलाई निष्ठुर देख्थे । गर्न सक्ने कुरा पनि किन नगरेको होला भन्थे । उहाँ भने सिँगो वर्गको निम्ति समर्पित हुनुहुन्थ्यो ।
स्वनामजी लामो कालसम्म निजी कोठाविनै बाँच्नुभयो । ०४६ सालपछि उहाँ न्युरोडस्थित जनमोर्चाको अफिसमा बस्नुभयो । पार्टी अफिसमा उहाँ सुत्ने एउटा खाट थियो । पार्टी कार्यालय पाटीमा पुग्दा उहाँलाई बस्ने ठाउँ भएन । त्यसपछि उहाँ एकजना पुरानो साथीको टेकुस्थित अफिसमा बस्न थाल्नुभयो । स्वनामजीको जिन्दगी एउटा झोलामा चलिरह्यो । कम्युनिस्ट नेताहरू उहाँको स्थिति, खानपानबारे सोध्ने आँट गर्दैन’थे ।
पछिल्लो कालमा माओवादी पार्टीमा रहँदा स्वनामजीको लागि फ्ल्याटको व्यवस्था भयो । तर त्यो व्यवस्था प्राकृतिक ढंगले वा गर्नैपर्छ भन्ने उद्देश्यले थिएन । पार्टी भित्रका खास–खास नेताका स्वार्थका कारणले त्यस्तो भएको थियो । केही आर्थिक मामलाहरू थिए, जसको लागि स्वनाम साथी चाहिएको थियो ।
उहाँ लिभिङ टुगेदरमा पनि बस्नुभयो, तर प्रेम असफल भयो । अरूसँग मन नगएपछि उहाँ डिप्रेसनको शिकार समेत बन्नुभयो । उहाँ अरू पनि थुप्रै रोगबाट ग्रसित बन्न पुग्नुभयो । उहाँलाई मेरुदण्ड (रिड) सुक्दै जाने रोगले च्याप्यो । उहाँ दमबाट पीडित हुनुहन्थ्यो, पछि मिर्गौला फेल भयो ।
एलोप्याथिक डाक्टरहरूले ०४१ सालतिरै उहाँको आयु १० वर्षभन्दा बढी जाँदैन भनेर घोषणा गरिदिएका थिए । तर उहाँले अर्को ३० वर्षभन्दा बढी बाँचेर देखाइदिनुभयो । यसमा उहाँको संकल्प शक्तिमात्र नभएर औषधि उपचार, ध्यान लगायतका विधिमा उहाँले हासिल गरेको ज्ञान कारण थियो ।
स्वनामजी संसारभरका विविध सूचनाको भण्डारजस्तो हुनुहुन्थ्यो । सामान्यतः कम्युनिस्ट नेताहरूलाई वास्तै नभएका कुराहरुको पनि सूचना जम्मा गरेर बस्नुहुन्थ्यो उहाँ ।
दुःख बिसाउने चौतारी
मानिसहरू स्वनामजीप्रति आकर्षित थिए, भेट्न लालायित हुन्थे । उहाँलाई सबैले मनको कुनै कुनामा राखिरहन्थे । त्यसको एउटा कारण उहाँमा रहेको असाधारण विनम्रता थियो । यस्तो गुण विरलै मानिसमा पाइन्छ ।
आफ्नो हालत जतिसुकै खराब भए पनि अरूको बेदना सुन्न सक्ने क्षमता थियो स्वनामजीमा । पीडामा भएको बेला, रिस उठेको बेला, चित्त दुखेको बेला, घाउ दुखेको बेला, खुसी भएको बेला या भनौं जस्तोसुकै बेला पनि उहाँ अरूको वेदना सुनिदिनुहुन्थ्यो ।
पार्टी आन्दोलनमा दुःख पाएका साथीहरूले दुःख बिसाउने चौतारीजस्तो भएको थियो स्वनामजीको व्यक्तित्व । उहाँले दिनसक्ने त केही थिएन, तर उहाँसँग पोखिएर मानिसहरू हल्का हुन्थे । उहाँले जानेसम्म, चेतनास्तरले भ्याएसम्म मान्छेहरूलाई ‘ट्रिटमेन्ट’ गर्नुहुन्थ्यो । उहाँमा चित्त प्रसन्न बनाउने उपल्लो तहको क्षमता थियो । उहाँमा त्यो अद्भुत शक्ति पनि थियो । कतिपय अवस्थामा खराब तत्वहरूले उहाँको विनयशीलताबाट फाइदा पनि उठाउँथे, उहाँलाई उपयोग गर्थे ।
कम्युनिस्ट ढोंगभन्दा अलग
स्वनामजीले बिहे गरेपछि बहिनीको घरमा बस्न पुग्नुभयो । यद्यपि, उहाँ विवाह संस्थाको विरोधी हुनुहुन्थ्यो । एकदिन भन्नुभयो– विवाहको नाटक गरेर आइयो ।
उहाँको बिहेपछि भेट पातलिँदै गयो । तीन वर्षमा पाँच–सात पटक मात्र हाम्रो भेट भयो । म विशेषगरी उहाँ बिरामी हुँदा भेट्न जान्थेँ । हामीले नयाँ आन्दोलन सुरु गर्ने भएपछि पनि एकपटक उहाँसँग छलफल गर्न गएका थियौं । त्यसअघि हामी पार्टीका बैठकमा, बैठकको तयारीका क्रममा, महाधिवेशन वा सम्मेलन हुँदा, विधान बनाउने कमिटीमा बसेर लामो समय सँगै रह्यौँ ।
माओवादी पार्टीसँगको एकतापछि भने संगठनात्मक काममा उहाँ धेरै सक्रिय हुनुभएन । बरु, मार्क्सवादी गुरुकुल चलाउने जस्ता सोचमा केन्द्रित हुन थाल्नुभयो । त्यसले गर्दा पनि हाम्रो भेट कम हुन थाल्यो ।
उहाँले छोडेको सन्देश के हो भने कम्युनिस्टहरू ढोंग मुक्त हुनुपर्यो, जे हो त्यही देखिनुपर्यो । निजी सम्पत्तिप्रति आशक्त हुनु भएन । सम्पत्ति थप्ने, लुट्ने, नातेदारको नाममा सम्पत्ति थुपार्ने तर बाहिर अर्कै देखिने प्रवृत्तिको खिलापमा हुनुहुन्थ्यो उहाँ । सम्पत्ति छ भने आफू बाँच्ने स्थिति बनाएर समाजवादी क्रान्तिको निम्ति त्यसलाई उपयोग गर्ने उहाँको सन्देश हुन्थ्यो । त्यस्तो नपाएपछि उहाँले नाम नै दिनुभयो– साहु कम्युनिस्ट ।
स्वनामजीले जसलाई साहु कम्युनिस्ट भन्नुभयो उसँग सम्बन्धविच्छेद गर्नुभएन । त्यहाँ केही विसंगति, अन्तरविरोध भयो, केही न केही मिलेन । दुनियाँले सोचेका थिए– स्वनाम साथी त्यो पार्टीमा छैनन् । तर सल्लाहकारको त्यान्द्रो त उहाँले जोडिराख्नु भएको रहेछ
कम्युनिस्ट भएपछि विनम्रतापूर्वक श्रमिक वर्गको पक्षमा समर्पित भइरहनुपर्छ । सामन्तवाद या पुँजीवादी संस्कृति वा मूल्य मान्यताबाट अलग हुनुपर्छ भन्ने उहाँको मान्यता थियो । धेरैजसो कम्युनिस्ट शुद्धतावादी हुन्छन्– कोही मान्छे ठीक भनेपछि ठीकमात्रै देख्ने, कोही मानिस बेठीक भनेपछि बेठीकैबेठीक मात्र देख्ने । तर स्वनामजी भन्नुहुन्थ्यो– प्रत्येक मान्छे खराब छ समाजमा, सत्य त्यही हो ।
समाजको वर्गीय संरचनाले मानिसलाई खराब बनाउँछ । प्रत्येक खराबभित्र पनि असल चीज छ, त्यसैलाई संयोजन गर्ने हो । यसलाई स्वनामजीले व्यवहारमै लागु गर्नुभएको थियो ।
उहाँले सिकाएको अर्को पाठ भनेको क्रान्तिकारीहरू जनतासँग विनम्र हुनुपर्छ भन्ने हो । अरू जान डराउने ठाउँमा पनि उहाँ यही गुणले सजिलै सम्बन्ध बनाउन सक्नुहुन्थ्यो । समाजको जुनसुकै अवहेलित, बदनाम ठाउँ र पात्रहरुसँग उहाँ सजिलै भिजिदिनुहुन्थ्यो ।
कम्युनिस्टहरुले सुन्नै नचाहेको बेला स्वनामजीले तेस्रो लिंगीहरूसँग संगत गरेको कुरा निकै नमिल्दो अझ घिनलाग्दोजस्तो विषय मानिन्थ्यो । बेश्यावृत्तिमा लागेका मानिसहरु समेत उहाँलाई मन पराएर भेट्न आउनेसम्मको स्थिति थियो । इतिहासमा हामी कि गौतम बुद्धको त्यस्तो देख्छौं कि त इसा मसिहको । इसा मसिह मारिँदा एक जना बेश्या पर्खेर बसिरहेकी थिई । गौतमबुद्ध बेश्यालाई मित्र बनाउन जान्थे ।
स्वनामजी कसैको बोझ नबनी सिर्जनात्मक कर्ममा लागिरहने सन्देश दिनुहुन्छ । पार्टीको लाइन पर्खेर बस्ने होइन, भ्याएजति कामको पहल आफैं गर्नुपर्छ भन्ने उहाँको सन्देश हो ।
साहु कम्युनिस्टको गुण त सरेन !
पार्टीको भवसागरलाई प्रभावित गर्न सक्ने स्थिति थिएन । नयाँ पार्टी बनाउन स्वनामजीको स्वास्थ्यले नै साथ दिँदैन’थ्यो । सापेक्षतामा आफ्नो अनुभव, क्षमता र आफूलाई प्रेम गर्ने मान्छेहरूको वरपरबाट जति सकिन्छ त्यति गर्ने बाटो रोजेको देखिन्छ स्वानामले ।
पछिल्लो समय उहाँ पार्टी लाइन लागु गर्ने अवस्थामा कहीँ पनि हुनुहुन्न’थ्यो । उहाँले साहु कम्युनिस्ट भनिसक्नु भएको थियो । तर उहाँलाई माया गर्नेहरु पनि त्यही भिडमा थिए । जसको कारणले अन्त्यमा एउटा विसंगति जस्तो प्रकट भयो ।
स्वनामजीले जसलाई साहु कम्युनिस्ट भन्नुभयो उसँग सम्बन्धविच्छेद गर्नुभएन । त्यहाँ केही विसंगति, अन्तरविरोध भयो, केही न केही मिलेन । दुनियाँले सोचेका थिए– स्वनाम साथी त्यो पार्टीमा छैनन् । तर सल्लाहकारको त्यान्द्रो त उहाँले जोडिराख्नु भएको रहेछ । त्यो विसंगति किन पैदा भयो ? भन्न गाह्रो छ ।
दक्षिण भारतमा चल्तिको एउटा भनाइ छ– एक महिनासँगै बस्यौं भने म केही तिमीजस्तो हुन्छु, तिमी केही मजस्तो हुन्छौ । साहु कम्युनिस्टको विरुद्धमा लड्दालड्दै, अलग कुरा गर्दागर्दै पनि संगत पनि हुनाले स्वनामजीमा साहु कम्युनिस्टको केही हरक सरेजस्तो लाग्छ मलाई ।
इतिहासमा सबैभन्दा गनाएका मान्छेहरु बसेको पार्टीसँग सम्बन्धविच्छेद नगरेको अवस्थाचाहिँ नहुनुपर्थ्यो उहाँको । त्यो पार्टीसँग उहाँको केही पनि मिल्दैन’थ्यो, तर सम्बन्ध रह्यो । जीवनमा समाधान हुन नसकेर झुण्डिएर बसेको एउटा अन्तरविरोध हो त्यो । यसलाई सन्तुलित ढंगले बुझ्नुपर्छ ।
भुइँमान्छेको निम्ति समर्पित क्रान्तिकारी योद्धाको अन्त्येष्टिको क्रममा हर्ताकर्ताहरु को थिए ? साहु कम्युनिस्टहरु नै थिए । प्रदूषित नभइसकेका कम्युनिस्ट र श्रमिकहरुले पुलमा बसेर रमिता हेर्नुपर्ने अवस्था थियो । स्वनामजी मलामी तान्ने व्यक्तित्व बनाएको मान्छे होइन । मलामी संख्या महत्वपूर्ण कुरा पनि होइन । उहाँ त यत्ति तडकभडक पनि चाहनुहुन्न’थ्यो, जुन साहु कम्युनिस्टहरूले गरेका थिए ।
(आहुतिसँग अनलाइनखबरकर्मी विश्वास खड्काथोकीले गरेको कुराकानीमा आधारित)

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *