अभियन्ताको दाबी : हालको त्रिभुवन विमानस्थलमा बसेर शंखधरले ऋण मोचन गरेका थिए

२८ पुस, काठमाडौं । गत मंसिर १६ गते केही सांस्कृतिक अभियन्ताहरूले हालको त्रिभुवन विमानस्थलको धावन मार्ग छेउमा केही ऐतिहासिक सामग्रीको अवशेष फेला पारे । यी संरचना र इतिहासकारहरुको मतलाई आधार मानेर अभियन्ताहरुले नेपाल संवत्का सुरुवातकर्ता शंखधर साख्वाले अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बसेर काठमाडौंवासीलाई ऋणमुक्त गराएको दाबी गरे ।
अभियन्ताहरुले त्यहाँ भेटिएको फल्चा (पाटी)को अवशेष र चारवटा ढुंगेधाराले उत्तरलिच्छविकालीन संरचनाको संकेत दिएको दाबी गरेका छन् । साख्वाबारे जानकारी दिने अर्काे प्रमाण भनेको पशुपतिको प्रांगणमा रहेको शंख फुकिरहेको मूर्ति हो । सोही मूर्ति पनि विमानस्थल क्षेत्रबाट नै लगेको हुन सक्ने दाबी गर्दै हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रलाई नेपाल संवतका सुरुवातकर्ता शंखधर साख्वासँग जोडेर ऐतिहासिक रुपले महत्वपूर्ण मानेका छन् ।
शंखधर साख्वा नेपालका राष्ट्रिय विभूति हुन् । आजभन्दा ११४१ वर्ष पहिले काठमाडौंवासीलाई ऋणमुक्त गरेर उनैले नेपाल संवत्को सुरुवात गरेको भन्ने मान्यता छ । तिनै साख्वासँग जोडेर अहिले अभियन्ताहरुले त्रिभुवन विमानस्थल क्षेत्रको ऐतिहासिक महत्वलाई बहसमा ल्याएका हुन् ।
इतिहासविद् हरेराम जोशी भने शंखधर साख्वाले यही ठाउँमा बसेर काठमाडौंवासीको ऋणमुक्त गरे भन्ने प्रमाण नभेटिएको बताए । अनलाइनखबरसँग इतिहासविद् जोशीले भने, ‘हालसम्म अहिलेको त्रिभुवन विमानस्थल परिसरमा बसेर शंखधरले काठमाडौंवासीलाई ऋणमुक्त गरेको कुरा कुनै स्रोतमा नभेटेको बताए । यद्यपि पुरातात्विक प्रमाण फेला पार्न सके अभियन्ताहरुले अहिले दाबी गरेको विषय प्रमाणित हुन पनि सक्ने उनले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र फेला परेको एक लोःहिटी
सम्पदा संरक्षणसम्बन्धी अभियन्ता यादवलाल कायस्थको समूहले त्रिभुवन विमानस्थलमा पुरातात्विक अवशेष भेटेको थियो । त्यसको वैज्ञानिक समय निर्धारण नभए पनि अभियन्ताहरुले संरचना निर्माणको समय करिब साढे ११ सय वर्ष अघि रहेको दाबी गरेका छन् ।
कायस्थ लगायतको समूहले आफ्नो दाबीलाई पुष्टि गर्नको लागि संस्कृतिविद् सत्यमोहन जोशी, मल्ल के सुन्दर लगायतसँग यसबारे छलफल गरेका थिए । सो क्रममा जोशी र मल्लले पनि हालको त्रिभुवन विमानस्थल क्षेत्रलाई ऐतिहासिक रूपमा महत्वपूर्ण रहेको मानेको कायस्थले जानकारी दिए ।
सन् १९५५ मा विमानस्थल निर्माण थाल्दा त्यहाँको एउटा स्तम्भ काटिएको बताइन्छ । यसमा यकिन तथ्य प्रस्तुत नगरिए पनि सिनामंगल मन्दिरमा रहेको शिवलिंग नै विमानस्थलमा काटिएको स्तम्भको अवशेष हो भन्ने दाबी अभियन्ताहरुको छ ।
कायस्थका अनुसार सिनामंगलको पुरानो नाम शिला मुगः अर्थात् शिलास्तम्भ थियो । यो नामले गर्दा यो क्षेत्रमा कतै न कतै शिलास्तम्भ हुनुपर्छ भन्ने लागेको उनी बताउँछन् । काठमाडौं र भक्तपुरको सीमा पहिले यही स्तम्भले छुट्याएको मान्यता पनि रहेको उनले बताए ।
भाषा वंशावलीका अनुसार तोकिएको समयमा टेकु दोभान गएर उठाएको बालुवा सुनमा परिणत हुन्छ । राजज्योतिषले त्यो सुनाएपछि भक्तपुरका राजा आनन्ददेवले सुन उठाउन भरियाहरू पठाउँछन् । तर काठमाडौंका व्यापारी शंखधर साख्वाले ती भरियालाई प्रभावमा पारेर सुन आफ्नो घरमा राख्न लगाइ बालुवा बोकाएर भक्तपुर पठाए । त्यही सुनले साख्वाद्वारा उपत्यकावासीको ऋणमुक्त गरिएको किंवदन्तीमा उल्लेख छ । तिनै साख्वाले हालको त्रिभुवन विमानस्थल क्षेत्रमा बसेर नै उपत्यकावासीलाई ऋणमुक्त गरेका थिए भन्ने दाबी अभियन्ताहरुले गरेका हुन् ।
यो क्षेत्र काठमाडौंको हनुमान ढोका, भक्तपुरको सुकुल ढोका, ललितपुरको पाटन ढोका र गोकर्णको दक्षिण ढोकाको केन्द्रमा पर्छ । पुरानो सिनामंगल क्षेत्रको पाटी तथा धारा पुनर्निर्माण समितिका संयोजक समेत रहेका स्थानीय लक्ष्मण विष्ट आफ्ना आमा–बाबु र हजुरबा–हजुरआमाले पनि हालको विमानस्थल क्षेत्रमा एउटा स्तम्भ थियो, जुन काठमाडौंवासीको ऋणमुक्तिको प्रतीक रहेको भन्ने कथा सुनाएको बताउँछन् ।
इतिहासकारहरुको भनाइ
त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागकी पूर्वप्राध्यापक डा. चुडा बज्राचार्य कमलप्रकाश मल्लको एउटा आलेखमा काठमाडौं, भक्तपुर र पाटन बीच पर्ने थुम्कोमा बसेर शंखधरले काठमाडौंवासीको ऋण मुक्त गरेको भन्ने उल्लेख रहेको बताउँछिन् । उनी भन्छिन्, ‘साख्वाबारे त्यसबाहेक अन्य कुनै स्रोत मैले भेटेकी छैन ।’
त्यस्तै, संस्कृतिविद् डा. गोविन्द टण्डन काठमाडौंवासीको ऋण मोचन गर्दा शंखधर साख्वा बसेको ठाउँबारे कुनै स्रोतमा पढ्न नपाएको बताउँछन् । विमानस्थलमा अभियन्ताको रूपमा आफू पनि पुगेको भन्दै टण्डनले त्यहाँ रहेका संरचनाको ऐतिहासिकता भने रहेको बताए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *