झापामा दुई प्रदेशसभा सदस्य वामदेवको अभियानमा

२७ पुस, विराटनगर । प्रदेश १ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई जना प्रदेशसभा सदस्य एकता अभियानमा लागेका छन् ।
नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएसँगै प्रदेश १ का सांसदहरु तानातानमा छन् । ओली समूहमा रहेका मुख्यमन्त्री शेरधन राई आफ्नो सरकार जोगाउने प्रयासमा छन् भने प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड–माधव समूह पनि बहुमत जुटाउने प्रयासमा छन् ।
नेकपाका दुई प्रदेशसभा सदस्य भने दुवै समूह छाडेर वामदेव गौतमतिर लागेका छन् । पार्टी विभाजनपछि कुनै समूहमा नलागेका उनले शनिबार मात्र आफ्नै संयोजकत्वमा नेकपा राष्ट्रिय एकता अभियान घोषणा गरेका थिए ।
गौतमले सुरु गरेको एकता अभियानमा झापाका दुई जना प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली  जोडिएका छन् । बुढाथोकी र मैनालीसहित ७ जना स्थानीय नेताले संयुक्त वक्तव्य जारी गर्दै पार्टी विभाजनको पक्षमा नलाग्न र एकता अभियानमा जोडिन अपील समेत गरेका छन् ।
केन्द्रमा दुई लाइन देखिएपनि पार्टी वैधानिक रुपमा नफुटेका कारण केन्द्रलाई दबाव दिने उदेश्यले एकताका लागि आह्वान गरेको बुढाथोकीले बताए । आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै उनले मुख्यमन्त्री राई विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका बारेमा थप कुनै निर्णय नभएको बताए ।
बुढाथोकीलाई ओली समूहले केन्द्रीय सदस्य बनाएको थियो, तर उनले त्यसलाई अस्वीकार गरे ।
दुई सांसदले छाडे प्रचण्ड–माधवको साथ
यसैबीच मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने दुई प्रदेशसभा सदस्य ओली समूहमा आएका छन् ।
पुस १२ गते नेकपा प्रचण्ड–माधव समूहका ३७ सांसदको हस्ताक्षरसहित राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी उदयपुरकी कला घले र मोरङकी बसन्तीदेवी यादव ओली समूहमा लागेका हुन् । घले प्रत्यक्ष निर्वाचित हुन् भने यादव समानुपातिक सांसद हुन् ।
९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा सत्तारुढ नेकपाका मात्रै ६७ जना छन् । उनीहरुमध्ये ४७ जना आफ्नो पक्षमा रहेको प्रचण्ड–माधव समूहको दाबी थियो । तर अविश्वासको प्रस्तावमा ३७ जनाले मात्रै हस्ताक्षर गरे ।
प्रदेश सरकारमा रहेका प्रचण्ड–माधव समूहका कृषि राज्यमन्त्री राम रानाले कित्ता परिवर्तन गरे । कला र बसन्तीदेवीले पनि समूह परिर्वतन गरेपछि प्रचण्ड–माधवलाई सांसद जोगाउन गाह्रो परेको देखिन्छ । ओली समूहले भने हस्ताक्षर नगरेका १० जना र हस्ताक्षर गरेका केही सांसद आफूतिर तान्ने प्रयास गर्दै आएको छ ।
हेर्नुहोस् प्रेस विज्ञप्ति :

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *