डिजिटल शिक्षामाथि बिर्तामोडको धावा

निकुञ्ज शर्मा
आधारभूत तहका विद्यार्थीहरुलाई नैतिकवान बनाएर आनी बानीमा केही सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले बिर्तामोड नगरपालिकाले आफ्नो स्थानीय तहभरीको विद्यालयहरुमा आचरण सचेतना शिक्षा विषय ल्याएको छ । वि.स. २०७६ सालको शैक्षिक सत्रमा कक्षा ३ र ४ मा अनि २०७७ सालमा कक्षा ५ र ६ मा लागू गरिएको छ । आगामी २०७८ सालमा कक्षा ७ र ८ मा समेत यो विषय राख्न हाल तयारी गरिरहेको पाइन्छ । आधारभूत तहको कक्षा ६ देखि ८ सम्म जम्मा ९ वटा विषयहरु हुन्छन् जसमा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक, नैतिक, स्वास्थ्य तथा शारिरीक, पेशा व्यवसाय तथा प्राविधिक शिक्षा र स्थानीय विषय वा मातृभाषा । यी मध्ये स्थानीय विषय वा मातृभाषा विषयमा केही स्थानीय तहहरुले वाहुल्यता रहेको जाती वा समुदायको मातृभाषा नै पढाइ गर्ने गरेको पाइन्छ भने धेरैजसो क्षेत्रमा कम्प्युटर शिक्षा पठनपाठन गर्ने गरेको पाइन्छ ।
आजको युग भनेको सूचना तथा सञ्चार प्रविधिको युग हो । डिजिटल साक्षरता आधुनिक मानिसको लागि अपरिहार्यता हो । अर्थात् अब एउटा मान्छे जतिसुकै पढेको किन नहोस् उसमा न्यूनतम कम्प्युटर चलाउने साधारण सिप हुनैपर्दछ । कम्प्युटरको प्रयोग शिक्षा, स्वास्थ्य, व्यापार, वाणिज्य, उद्योग, चिकित्सा, इन्जिनियरिङ, मनोञ्जन, अनुसन्धान आदि जस्ता सबै क्षेत्रमा हुने गर्दछ । अब त साक्षरताको परिभाषाभित्र डिजिटल सिपलाई समेत राख्न थालिएको छ । कुनैपनि अफिसर, कर्मचारी, शिक्षक, प्रोफेसर, व्यापारी, उद्योगपति यो सिपलाई शिरोधार्य नगरेमा अब टिक्न कठिन हुँदैछ । त्यसैले कम्प्युटर शिक्षा आजको आवश्यकता हो ।
बिर्तामोड नगरपालिका अन्तर्गत १८ वटा सामुदायिक, ५७ वटा संस्थागत, १ गुरुकुल र १ मदरसा विद्यालयहरु रहेका छन् । अधिकांस संस्थागत विद्यालयहरुमा कक्षा १ देखि नै कम्प्युटर शिक्षा पठनपाठन हुने गरेको छ । त्यहाँ पढ्ने नानीहरु प्रायः सबल परिवारका हुने हुँदा घरमा समेत कम्प्युटर, ल्यापटप, ट्याब वा स्मार्टफोन हुने गर्दछ । उनीहरुले सामान्य ज्ञान घरबाटै नभए विद्यालयमा समेत हासिल गर्ने वातावरण छ । सामुदायिक विद्यालय एवम् गुरुकुल र मदरसा जहाँ अल्पसख्यङ्क, दलित, मधेसी, थारु, मुसलमान, राजवंशी, सन्थाल, धिमाल, मुसहर आदि जस्ता पिछडावर्गका नानीहरु पढ्ने गर्दछन् । उनीहरुको पारिवारिक हैसियत त्यति राम्रो पाइदैन ।
जुन कुरा कोभिड १९ को समयमा कोशिस गरिएको अनलाइन कक्षामा उनीहरुको अत्यन्तै न्यून उपस्थितिबाट पनि झल्किन्छ । घरमा डिजिटल डिभाइस केही विद्यार्थीको बाहेक अन्यको हुँदैन । उनीहरुले कम्तिमा पनि कक्षा ६ देखि ८ सम्ममा कम्प्युटरका आधारभूत ज्ञान लिन पाउँथे, कम्प्युटर देख्न, छुन पाउँथे । कम्प्युटर अन अफ गर्न, टाइप गर्न, अफिस प्याकेजका वर्ड, एक्सल, पावरपोइन्ट चलाउन, फाइल, फोल्डर निर्माण गर्न सिक्दथे । भविस्यमा उनीहरुलाई डिजिटल असाक्षरको ट्याग लगाउनु पर्दैनथ्यो, केही जागिर गर्न वा व्यापार व्यवसाय गर्न सानो हतियार बन्न सक्थ्यो – कम्प्युटर शिक्षा ।
अहिलेको सामाजिक विसंगती र विकृतिबाट नानीहरुलाई जोगाउन aआचरण सचेतना शिक्षा चाहिन्छ तर सोही प्रकृतिको नैतिक शिक्षा तथा सामाजिक शिक्षा हुँदाहँुदै कम्प्युटर शिक्षालाई नै विस्थापित पार्नेगरि ल्याइएको यो शिक्षाको के महत्व ? के हामी जुनसुकै विषय पढाउँदा नि नानीहरुलाई राम्रो आनीबानीका कुरा, नैतिकताका कुरा, आचरणको ज्ञान दिन सक्दैनौं र ? अहिलेसम्म दिएका छैनौं र ?
तर बिर्तामोड नगरपालिकाले आफ्नो अधिकारको सदुपयोग गर्ने क्रममा हजारौं बालवालिकाको प्राविधिक ज्ञान हासिल गर्न पाउने अधिकारलाई कुण्ठित पारिदिएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *