छाडा चौपाया हुम्ला पठाइँदै

प्रकाशित मिति : २५ पुष २०७७, शनिबार ०८:५०

प्रदेश राजधानी वीरेन्द्रनगरका सडक तथा बजार क्षेत्रमा छाडा अवस्थामा रहेका पशु चौपायालाई हुम्ला पठाइएको छ । छाडा पशु चौपायाको उचित व्यवस्थापन गर्न उच्च अदालतले परमादेश जारी गरेपछि वीरेन्द्रनगर नगरपालिकाले पहिलो चरणमा हुम्लास्थित कृषि फर्मलाई पठाइएको हो ।
अदालतले बुधबार वीरेन्द्रनगर नगरपालिकालाई छाडा अवस्थामा रहेका पशु चौपाया तत्काल व्यवस्थापन गर्न परमादेश जारी गरेको थियो । नगरपालिकाले बिहीबारसम्म सडकमा छाडिएका पशु चौपाया लैजान सार्वजनिक अपिल गरेको थियो ।
नगरपालिका वातावरण तथा अनुगमन उपशाखा प्रमुख यामलाल गिरीले कोही सम्पर्कमा नआएपछि शुक्रबार १०० पशु चौपाया हुम्लाको खार्पुनाथ गाउँपालिकातर्फ पठाएको जानकारी दिनुभयो । त्यहाँको कृषि फर्मले गाई तथा गोरु उपलब्ध गराइदिन नगरपालिकासँग लिखित अनुरोध गरेपछि पठाइएको उहाँको भनाइ छ । उपशाखा प्रमुख गिरीले बाँकी चौपाया क्रमशः मागका आधारमा पठाउने गरी समन्वय भइरहेको बताउनुभयो ।
वीरेन्द्रनगरका सडकमा करीब ५०० छाडा पशु चौपाया रहेको तथ्याङ्क छ । छाडा पशु चौपायाका कारण सडकमा दुर्घटनाको जोखिम बढ्नुका साथै सवारीसाधनलाई आउजाउमा समस्या हुने गरेको छ । कानूनले सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *