संक्रमितको शव व्यवस्थापनमा खटिएका दुई युवाको कथा

२४ पुस, काठमाडाैं । मंसिरको विहान १० बजे सरोज श्रेष्ठलाई किस्ट अस्पतालबाट फोनमा भनियो, ‘अर्को कोभिड डेथ भएको छ, आउनुपर्यो ।’
त्यसको २० मिनेटमा सरोज र विक्रम श्रेष्ठ इमाडोलस्थित अस्पताल पुगेर इनफेक्सन कन्ट्रोल टिमको सहयोगमा पिपिई लगाए । ट्रलीमा एक बण्डल प्लाष्टिक, केही कपडा, कैची र टेप तयार थिए । उनीहरु ट्रली गुडाउँदै आइसियू कक्षमा पुगे, जहाँ त्यही बिहान ७० वर्षीय कोभिड संक्रमितको मृत्यु भएको थियो ।
मृत संक्रमित राखिएको बेड पर्दाले घेरिएको थियो । उनीहरुले त्यही बेड छेउमा ट्रली रोके । उपचाररत अन्य बेडका संक्रमितहरुको ध्यान आफूतिर केन्द्रित भएको थाह नपाएझैं गर्दै उनीहरु आवश्यकता अनुसार कैची, प्लाष्टिक, कपडा, टेप चलाउन थाले ।
एक अर्काको संकेतमा हात चलाइरहेका सरोज र विक्रमले शवको शीरदेखि पाउसम्म नयाँ कपडाले बेरिसकेका थिए । कपडामाथि प्लाष्टिक र रामनामीको दुईपत्र बेरेर आवश्यक ठाउँमा टेप लगाए । त्यसपछि शवलाई होसियारीपूर्वक ट्रलीमा राखेर शवगृहमा लगे । उनीहरुले अत्यन्तै संयमित र शान्तभावमा ४० मिनेटमा काम फत्ते गरे ।
शवगृहबाट फर्केर पिपिई सेट खोलेपछि हामीले सोध्यौँ– कोहि तयार नहुने यो काम गर्दा मनमा कस्तो भावना आउँछ ?
‘सकेसम्म मृतकप्रति सम्मान र बाहिर सुरक्षा हुनेगरी राम्ररी काम गर्नुपर्छ भन्ने सोचिन्छ’, सरोजले भने ।
गएको सात महिनामा उनीहरुले व्यवस्थापन गरेको यो २६ औं कारोना संक्रमितको शव हो । यसरी कोरोना भाइरससँग नडराइ कर्तव्य पथमा लम्किएका उनीहरु समाजसँग चाहिँ डराएका छन् ।
त्यसैले वास्तविक नाम र ठेगाना नखुलाउने सर्तमा उनीहरु हामीसँग कुरा तयार भएका हुन् ।

सरोज र विक्रम श्रेष्ठ दुबै कक्षा १२ का विद्यार्थी हुन् । सरोजका आफ्नै फुपूका छोरा विक्रम मिल्ने साथी जस्तै थिए। दौँतरीहरु उमेर अनुसारको रुचिमा रमाइरहेका बेला उनीहरु भाइरस संक्रमितको शव व्यवस्थापनमा लागेका छन् ।
अस्पतालका कतिपय कर्मचारी उनीहरुलाई अद्भुत पात्रको रुपमा लिन्छन् । कतिपयले बेलाबखत सोध्छन्, ‘हैन, केले बाध्य पारेर भाइहरु यो काममा लागेका हँ ?’
सरोज र विक्रम नानाथरी प्रश्नको सन्तुलित जवाफ दिँदै आफ्नो काम अगाडि बढाउँछन् । विक्रम भन्छन्, ‘फेरि, हामीले नगरे पनि यो काम कसै न कसैले त गर्नै पर्थ्यो नि ।’
****
किस्ट शिक्षण अस्पतालमा बेसिक साइन्सको एनोटोमी डिपार्टमेण्टमा दुई वर्षदेखि काम थालेका उनीहरु व्यवस्थापन विषयका विद्यार्थी हुन् । मेडिकल साइन्सका विद्यार्थीहरु पढ्दा अभ्यासको लागि शव चिरफार गर्दा सहयोग गर्ने उनीहरुको काम हो । विद्यार्थीको लागि शव राख्ने, मिलाउने गरिरहेका उनीहरुले किस्ट प्रशासनबाट आएको संक्रमितको शव व्यवस्थापन गर्ने प्रस्ताव सहजै स्वीकार गरेका थिए ।

लकडाउन भएकाले कलेज बन्द थियो । सरोज/विक्रमले समयलाई उपयोगी रुपमा बिताउन पनि यो काम रोजेका थिए । ‘शव व्यवस्थापन हाम्रो लागि नयाँ कुरा थिएन, तर भाइरस भएको शव व्यवस्थापनलाई लिएर सुरुमा डर लागेकै थियो,’ सरोज भन्छन्, ‘तर, उहाँहरुले ट्रेनिङ दिन्छौँ भनेपछि ढुक्क भयौँ ।’
उनीहरुले ट्रेनिङ लिइरहेकै बेला जेठ १४ गते किस्ट अस्पतालमा उपत्यकाकै पहिलो कोरोना संक्रमितको मृत्यु भयो । त्यतिबेला मानिसहरु घरबाट बाहिर निस्किएका थिएनन् । दिनहुँ फैलिने अफवाहले मानिसहरु त्रसित थिए । एक जनालाई भाइरस लाग्यो भने समाज नै सकिन्छ भन्ने मनोविज्ञान थियो । त्यो दिन किस्ट अस्पतालमा ठूलै तनाव भयो ।
दिउँसो २ बजे मृत्यु भएको भए पनि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमण पुष्टि भएको खबर साँझ ७ बजे मात्र गर्यो । अस्पतालले घर पुगेका कर्मचारीहरुलाई सुरक्षित रहन  सूचना र सरोजलाई ‘अब मैदानमा आउन’ निम्तो दियो । उनीहरु आधा घण्टा नबित्दै अस्पताल पुगे ।
पहिलोपटक संक्रमितको शव व्यवस्थापन गर्नुपर्दा कस्तो भयो ?
‘हाम्रो लागि त्यो महत्वपूर्ण दिन थियो । अब काम देखाउने बेला भयो भन्ने सोचेर सतर्कतापूर्वक तयार भयौं’, विक्रम भन्छन्, ‘हामीसँग पर्याप्त सुरक्षा कवच पनि थियो ।’
४०–४५ मिनेटमा पहिलो काम फत्ते गरेर निस्कदा रातको ११ बजेको थियो । शवगृहबाट निस्केर उनीहरु अस्पतालमै बसे ।
भोलिपल्ट उक्त शव कसरी व्यवस्थापन गर्ने भन्नेमा विवाद भयो । उपत्यकामा पहिलो मृत्यु भएकाले अलमल थियो । अपराह्न ५ बजे  नेपाली सेनाको टोली आइपुग्यो, तर शवगृहमा छिरेर शव निकाल्न मानेन । फेरि सरोज/विक्रम नै पिपिई लगाएर शवगृहमा पसे । उनीहरुले शव निकालेर सेनाको गाडीमा राख्दा अस्पतालका कर्मचारीहरुले ताली बजाएर हौसला बढाए ।
‘त्यसबाट हामीमा आत्मविश्वास बढ्यो,’ सरोज भन्छन्, ‘सुरुमा के होला, कसो होला भन्ने भएको थियो, पहिलो काम गरेपछि हामी ढुक्क हुन थाल्यौं ।’

संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएपछि १४ दिन क्वारेण्टिनमा बस्नुपर्छ । त्यो बिचमा उनीहरुलाई कुनै स्वास्थ्यमा समस्या देखिएन । लामो समय क्वारेण्टिनमा थन्किनुपर्दा मनमा अनेक कुरा खेलेर हैरान चाहिँ भएको उनीहरु बताउँछन् ।
अन्य अस्पतालमा धेरै कर्मचारी संक्रमित भए । विशेषगरी फोहर व्यवस्थापनका कर्मचारीलाई कोरोना भाइरसले धेरै सतायो । तर, संक्रमितको २६ वटा शव व्यवस्थापन गर्दा पनि उनीहरु सुरक्षित छन् ।
आफूहरु सुरक्षा कवच र होसियारीले जोगिएको उनीहरु बताउँछन् ।
****
किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठक सरोज र विक्रम श्रेष्ठ दाजुभाइको हिम्मत र सेवाभावलाई सलाम भन्छन् । ‘फोन गर्नासाथ तुरुन्त आइपुग्ने उहाँहरुको स्वभावले पूरा अस्पताल टिम प्रशन्न छ’, उनी भन्छन्, ‘यती कच्चा उमेरमा यो लेभलको आत्मविश्वास र प्रतिवद्धता कमै मान्छेमा पाइन्छ ।’
अस्पताल व्यवस्थापनको प्रशंसाले चुनौती थपिदिएको महसुस सरोज र विक्रम श्रेष्ठलाई छ । ‘मान्छे महत्वपूर्ण कामले हुँदो रहेछ’, कुराकानीको बिट मार्दै सरोजले भने, ‘हामी भाइरसको डरले कामबाट भाग्नेवाला छैनौं ।’
फोटो/भिडियो : चन्द्र आले/अनलाइनखबर

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *