मिर्गौलापीडितलाई साढे छ लाख सहयोग

दुवै मिर्गौला फेल भएर डायलासिस गराइरहनुभएका तनहुँको व्यास नगरपालिका–१४ निवासी सन्तोष रानामगरलाई अमेरिकाबाट रु साढे ६ लाख सहयोग जुटेको छ । अमेरिकाको टेक्सास र न्यूयोर्कमा रहनुभएका भीम थापा, भुवन आले, आशिष थापा र कुलदीप रानामगरको पहलमा रु छ लाख ४५ हजार २१० सहयोग जुटेको हो ।
उक्त रकम शनिबार पीडित रानालाई हस्तान्तरण गरिएको छ । रकम सङ्कलनकर्ता भीम थापाका बुवा ताराबहादुर थापा र सोही वडाका अध्यक्ष काजीमान श्रेष्ठले पीडितको घरमा पुगेर उक्त रकम हस्तान्तरण गर्नुभएको हो । अमेरिकामा रहेका नेपालीहरुले सङ्कलन गरेको रकमले पीडितको उपचारमा सहयोग पुग्ने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यसअगाडि स्थानीय युवाले गठन गरेको सन्तोष बचाउ अभियानमार्फत रानाको उपचारका लागि रु छ लाख ५८ हजार ६२४ सहयोग सङ्कलन भएको थियो । उक्त रकम पनि पीडितलाई हस्तान्तरण गरिसकिएको छ । सन्तोष बचाउ अभियानका संयोजक युवराज आलेले वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली, जिल्लाभित्रकै विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग रकम सङ्कलन गरिएको जानकारी दिनुभयो ।
मिर्गौलापीडित रानाले देश तथा विदेशबाट उपचारका लागि सहयोग गर्ने सबै सहयोगदाताप्रति आभार व्यक्त गर्दै अब बाँच्ने आशा पलाएको बताउनुभयो । गत वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि रानाले डायलासिस गर्दै आउनुभएको छ । “मिर्गौला प्रत्यारोपणका लागि ठूलो रकम आवश्यक पथ्र्यो, देश तथा विदेशबाट सहयोग जुटाइदिने सबैप्रति आभारी छु”, उहाँले भन्नुभयो, “अब बाँच्ने आशा पलायो ।”
मन्दिर स्तरोन्नतिका लागि रु तीन लाखको अक्षयकोष
व्यास नगरपालिका–५ सिर्दीमा रहेको सत्यवती गुफाको स्तरोन्नतिका लागि रु तीन लाखको अक्षयकोष स्थापना गरिएको छ । समुदायस्तरबाट रकम सङ्कलन गरी मन्दिरमा रु तीन लाखको अक्षयकोष स्थापना गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष विष्णुप्रसाद पण्डितले जानकारी दिनुभयो ।
स्थानीयस्तरबाट उठेको अक्षयकोष सिर्दी टोल विकास समितिका अध्यक्षलाई हस्तान्तरण गर्दै व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले स्थानीय जनसमुदायबाट नै सङ्कलित रकमले मन्दिरको स्तरोन्नति र विकासमा सहयोग पुग्ने बताउनुभयो ।
एक हजार पाँच स्थानीयवासीसँग रु ३०० का दरले रकम सङ्कलन गरेर अक्षयकोष स्थापना गरिएको हो । सत्यवती गुफा गुप्तेश्वर महादेव मन्दिरको विशिष्ट धार्मिक विशेषता रहेको स्थानीयवासी बताउँछन् । मन्दिरको दर्शन गरेमा मनले चिताएको इच्छा पूरा पण्डितले बताउनुभयो । रासस

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *