दशैँ, तिहार आएसँगै गाउँका सडक खुलाइँदै

गएको असार साउन महिनामा आएको अभिरल वर्षात्का कारण बिग्रेका जिल्लाका ग्रामीण क्षेत्रका सडक सुचारु गर्न थालिएको छ । दशैँ, तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिसँगै वर्षात्ले बन्द भएका स्थानीय तहका दजनौँ सडक अहिले धमाधम खोलिन थालिएको छ । वर्षात्ले पहिरो आउँदा हिलाम्मे हुनुका साथै ठाउँठाउँमा बन्द भएका यहाँका ग्रामीण क्षेत्रका सडक सुचारु गरिन थालेपछि स्थानीयवासी खुशी भएका छन् । असार–साउनको भारी वर्षात्सँगै खसेका पहिराका कारण जिल्लाको मौवा, मेल्लेक, केआइसिंह, वाइल, कपल्लेकी, जोरायल गड्सेरा, मुडभारा धुर्कोट, सायल, चवराचौतारा सडक अवरुद्ध हुनुका साथै कतिपय सडक त बन्द नै भएका थिए ।
त्यसैगरी ठाउँठाउँमा पहिरा खस्दा कतिपय यहाँका सडक तीन महिनादेखि बन्द भएका छन् । वर्षात्का कारण बन्द भएका ग्रामीण सडक खुलाउन अहिले सम्बन्धित स्थानीय तहले डोजर प्रयोग गरी एकै साथ सुचारु गराउन थालेको जोरायल गाउँपालिका–१ गैराका वडासदस्य छपेशबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षात्ले कतिपय स्थानीय तहका सडक तीन महिनादेखि बन्द भएका थिए, अहिले वर्षात् बन्द भएको तथा दशैँ, तिहार शुरु भएसँगै सुचारु गराउन थालेका छौँ ।” यहाँका गाउँघरमा दशैँको क्रमिकरुपमा चहलप पहल शुरु हुन थालेको छ । यहाँका स्थानीयवासी दशैँका लागि घर लिपपोत गर्नेदेखि अन्य किनमेलका काममा पनि व्यस्त हुने गरेको शिखर नगरपालिका–३ का स्थानीयवासी लोकबहादुर बलायरले बताउनुभयो । शहरभन्दा पनि गाउँमा दशैँको चहलपहल शुरु भएकाले यातायातका साधन सञ्चालनका लागि बन्द भएका सडकमा डोजर लगाएर बाटो खुलाउन थालिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँका सडक बन्द भएकाले नागरिकलाई सास्ती भएको थियो, दशैँ पनि आउन थालेका कारण नागरिकको सहजताका लागि भए पनि सडक खुलाउन थालेका छौँ ।” जथाभावी डोजर प्रयोग गरेर खनिएका जिल्लाका दजनौँ ग्रामीण सडकमा बर्सेनि असार, साउनमा पानी पर्दा सडक हिलाम्मे हुनाको साथै लिक बिग्रिएर सवारीसाधन गुड्नसमेत बन्द हँुदै आएका छन् । यहाँका ग्रामीण सडकमा बर्सेनि वर्षात् शुरु हुनासाथ पहिरा खस्ने र यातायात सञ्चालनमा समस्या आउने गरेको चालक बताउँछन् । गाउँपालिका, वडा कार्यालय, जिल्ला समन्वय समिति, निर्वाचन पूर्वाधार क्षेत्र विकासको रकमले यहाँका ग्रामीण भेगमा उपभोक्ता समितिमार्फत मनपरि खनिएका सडकमा पहिरो आउँदा अवरुद्ध बन्नेको शिखर नगरपालिका–१ कपल्लेकीका स्थानीयवासी शङ्कर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यकर्ताका माग पूरा गर्न खनिएका सडक वर्षमा जम्मा छ÷सात महिना मात्रै चल्छन्, अरु महिना त बन्द हुन्छन्, सुधार गर्न कसैले पहल चालेका छैनन् ।”
जथाभावी खनिएका यहाँका ग्रामीण सडकमा ग्रेड नमिल्ने, उकालो हुने, साँघुरो हुने तथा कटिङ नपुग्ने गरेको शैलेश्वरी यातायात प्रालिका गाडी चालक मदन लुहारको आरोप छ । यहाँका अधिकांश ग्रामीण (कच्ची सडक) मा हिउँदका छ महिनामात्रै सवारी साधन सञ्चालन गर्न मिल्ने तथा हल्का वर्षात् शुरु हुनासाथ ग्रामीण भेगको यात्रा पैदलमय हुने शैलेस्वरी यातायात प्रालि दिपायलका प्रमुख प्रेमबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “बाटो लैजाने नाममा जथाभावी डोजर लगाएर खनेका सडकमा पानी परेपछि पहिरो खस्ने, हिलाम्मे हुन्छन् ।” यतिमात्र नभई यहाँका अधिकांश ग्रामीण सडकमा सवारी साधन चलाउन अति जोखिममा रहेका छन् । बिना मापदण्ड निर्माण गरिएका यहाँका ग्रामीण सडकमा दर्जनौँ सवारी दुर्घटना हँुदासमेत सडकको स्तरोन्नतिका लागि खासै पहल हुन नसकेको स्थानीयवासीको गुनासो रहेको छ । रासस

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *