एक थान कम्प्युटरबाट सुरु भएको सुविसुको यात्रा

२८ असोज, काठमाडौं । विनय माेहन साउद र सुधीर पराजुली सानैदेखिका सहपाठी । विद्यालय तहदेखिको उनीहरुको मित्रता उच्च शिक्षा अध्ययन गर्दासम्म जारी नै रह्यो ।
इन्जिनियरिङको अध्ययन सँगै गरेका उनीहरुले औपचारिक पढाइ सिध्याएसँगै व्यवसायमा हात हाल्ने निधो गरे । सानो लगानीमा व्यापार सुरु पनि गरिहाले । इन्जिनियरिङ अध्ययन पुरासँगै उनीहरुले आफूले पढेकै विषय अर्थात इन्जिनियरिङ सम्बन्धी सामानहरुको सप्लाईको व्यापार गर्न शुरु गर्ने सोचे ।
विनयले यो काममा आफ्नो अर्का साथी सुरेन्द्र श्रेष्ठलाई पनि सहभागी गराउने सोचे । सुरेन्द्र पनि विनयका सानैदेखिका साथी थिए । उनी ठमेलमा होटल व्यवसाय सञ्चालन गर्थे । विनय र सुधीर मिलेर शुरु गर्न लागेको व्यवसायीमा उनी पनि मिसिने भए । उनीहरुले ४०/४० हजार रुपैयाँ शुरुमा लगानी गरे । अनि एक थान कम्प्युटर किनेर सुरेन्द्रकै होटलको एक कोठामा कार्यालय स्थापना गरियो । यसरी भयो सुविसुको बिजारोपण ।
आज नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायकको रुपमा दरिएको छ सुविसु केवल नेट प्रालि । विनय यसका प्रमुख कार्यकारी अधिकृत हुन् भने सुधीर अध्यक्ष हुन् । उनीहरुले सुरुमा इन्टरनेट सेवा दिने भनेर काम थालेका थिएनन् । तर, पनि इन्जिनियरिङ सम्बन्धी काम गर्ने भएकाले उनीहरुलाई यसबारे धेरथोर ज्ञान भने थियो ।
व्यवसाय सुरु गरेपछि तीन मध्येका एक पार्टनर सुधीर एमबीए अध्ययनका लागि भारत गए । दिल्लीबाट उनले एकदिन एउटा सन्देश पठाए, जसमा केवल इन्टरनेटको व्यवसाय गर्ने विषयमा । त्यसबेला टीभी र इन्टरनेट एउटै तारबाट सेवा दिन सकिने प्रविधि अमेरिकामा निकै चर्चित थियो । कोएक्सेल केवलमार्फत अमेरिकामा टीभी र इन्टरनेट एउटै तारबाट दिन सुरु भएको कुरा सुधीरले सन्देशमा उल्लेख गरेका थिए । त्यसबारे जानकारी दिने पत्रिकामा प्रकाशित समाचारको कटिङसमेत उनले पठाएका थिए ।
सुधीरको प्रस्तावले विनयलाई आकर्षित गर्यो । तर उनले सुधीर फर्केपछि मात्रै व्यवसाय गर्ने बताए । सुधीले एमबीए सकिनेवित्तिकै आउने भनेपछि इन्टरनेटको व्यवसाय शुरु गर्ने सोच बन्यो ।
त्यतिञ्जेल उनीहरुले केही पैसा कमाएका थिए । उमेरले भर्खरै २५/२६ वर्ष पुग्दै गरेका उनीहरुले अनावश्यक खर्च कहिल्यै गरेनन् ।
‘उमेर त मोजमस्ति गर्ने नै थियो, तर हामीले गरेनौं,’ विनय भन्छन्, ‘एउटा गाडी पनि नकिनेर हामीले मोटरसाइकलबाटै काम चलायौं ।’
तर यसरी जोगाएको पैसा उनीहरुलाई व्यवसाय थाल्नका लागि भने पर्याप्त थिएन । र पनि उनीहरुले आँटे । सन् २००० मा नेपाल दुरसञ्चार प्राधिकरणमा केवल इन्टरनेट सञ्चालनका लागि अनुमति माग गरे । तर सुरुमा उनीहरुलाई प्राधिकरणले पत्याएन । उनीहरुले लाइसेन्स पाएनन् ।
उनीहरुले हिम्मत हारेनन् । पुनः दोस्रो पटक आवेदन दिए । फेरि पनि सफलता हात परेन । त्यसबेला केवल टिभीको भने सहजै लाइसेन्स पाउने स्थिति थियो । त्यसैले उनीहरुले सञ्चार मन्त्रालयमा आवेदन दिए । १ जनवरी २००१ मा केवल टेलिभिजनको लाइसेन्स उनीहरुलाई मिल्यो ।
उनीहरुले केवल इन्टरनेटको लाइसेन्सका लागि तेस्रोपटक प्रयास गरे । यसपटक भने लाइसेन्स पाए । लाइसेन्स पाएको ६ महिनाभित्र सेवा सुरु गर्नुपर्ने शर्त थियो । उनीहरुले बैंकबाट कर्जा लिएर व्यवसाय थाले । यसरी केवल टिभी र इन्टरनेट सेवा एकसाथ दिने पहिलो कम्पनी बन्यो सुविसु ।
त्यसबेलासम्म इन्टरनेट कम्पनीहरु डायलअप र वायरलेसमा थिए । केवल टेलिभिजन प्रणाली भने ‘वान वे’ प्रकृतिको ‘कोएक्सेल केवल’ मा चलिरहेका थिए । सुविसुले ‘टू वे’ सिस्टमबाट काम गर्नुपर्ने थियो । तर त्यसबेला ‘टू वे’ सिस्टमको काम गरेका प्राविधिकहरु नेपालमा थिएनन् । भारतमा पनि नपाइएपछि उनीहरुले ताइवानबाट प्राविधिक बोलाएर काम गराए ।
उपत्यका बाहिरको बिस्तार
काठमाडौं उपत्यका बाहिर सबैभन्दा पहिला पोखराबाट २००४ मा सुविसुले सेवा सुरु गरेको थियो । २००६ मा आइपुग्दा कर्पोरेट ग्राहकहरु बढ्न थाले । त्यसपछि सुविसुले पोखरामा सेवा विस्तार गर्दै गयो ।
काठमाडौंमा सेवा विस्तार गर्न जति अप्ठेरो थियो त्योभन्दा धेरै गाह्रो पोखरामा थियो । यद्यपि उनीहरुले आएका वाधा–व्यवधानहरुलाई चिर्दै अगाडि बढे । पोखरामा पनि सुविसुको कर्पोरेट ग्राहकहरु थिए । अहिले पनि धेरै ग्राहक कर्पोरेट नै छन् । त्यसमा पनि धेरै बैंक तथा वित्तीय संस्थाको संख्या ठूलो छ ।
सेवा विस्तार भए पनि सुविसुसँग पोखरामा प्राविधिकहरु थिएनन् । प्राविधिक व्यवस्थापन पनि उनीहरुका लागि निकै चुनौतीपूर्ण थियो । तर पोखरामै कार्यरत टेलिकमका कर्मचारीहरुलाई पार्टटाइम काममा लगाए । जसका कारण सेवा प्रवाहमा समस्या भएन ।
यसले बैंक तथा वित्तीय संस्थाहरु खुसी भए । सेवा प्रवाह राम्रो भएको भन्दै धेरै कर्पोरेट ग्राहकहरु सुविसुकै सेवा लिन्थे । यसैगरी सुविसुले सेवा विस्तारलाई जोड दिँदै गयो । अहिले सात प्रदेशको ७७ जिल्लामा नै सुविसुको सेवा पुगिसकेको विनय बताउँछन् ।
कर्पोरेट ग्राहक खुशी
सन् २००७ देखि नै विभिन्न कार्यालयहरुमा सुविसुको डिमान्ड शुरु भएको थियो । अहिलेसम्म पनि सुविसुका धेरै ग्राहक कर्पोरेट नै छन् । रिटेल ग्राहकको कुरा गर्ने हो भने सुविसु दोस्रो नम्बरमा छ । रिटेलमा राम्रै गर्ने सोच हुँदाहुँदै पनि दोस्रो नम्बरमा पर्नुका धेरै कारणहरु रहेको विनय बताउँछन् ।
सुविसुले केवल इन्टरनेट शुरु गरेसँगै कर्पोरेट सेक्टरको रोजाइमा यो पर्यो । एटिएम सेवा दिन पनि इन्टरनेटका कारण निकै समस्यामा परेका बैंकहरुलाई सुविसुको सेवाले निकै सहज बनायो । अर्को ‘क्वीक रेस्पोन्स’ का कारणले पनि कर्पोरेटको रोजाइमा सुविसु नै परेको विनय बताउँछन् ।
सेवा राम्रो चलेको थियो । नयाँ ठाउँमा सुविसुले सेवा विस्तार पनि राम्रै गरिरहेको थियो । तर २ वषअघि एक्कासी मुख्य सिस्टम रहेको बालुवाटारमै आगलागी भयो । आगलागीबाट निकै ठूलो क्षति भयो । त्यसबेला त्यहाँ खटिएका सुरक्षा गार्डको हेलचेक्राइले पनि धेरै ठूलो क्षति हुन पुगेको विनयको भनाइ छ ।
आगलागीपछि केही व्यक्तिगत ग्राहकहरुले सेवा छाडे पनि कर्पोरेट ग्राहकहरुले भने सुविसु नै चलाइरहे । बालुवाटारमा आगलागी भएपछि धेरैले सेवा अवरुद्ध हुने सोचेका थिए । तर सुविसुको थापाथालीमा पनि अर्को स्टेशन भएका कारण इन्टरनेट सेवाग्राहीहरुलाई त्यस्तो असर गरेन । धेरैले अब सुविसुको इन्टरनेट लामो समय चल्दैन भन्ने सोचे पनि त्यसको असर भने नपरेको विनय बताउँछन् ।
‘कम्पनीलाई क्षति भए पनि ग्राहकलाई भने समस्या हुन दिएनौं, क्षति भएका संरचना पनि तीव्र गतिमा काम गरेर ४/५ दिनमै सम्पन्न गरियो,’ उनले भने ।
सेवा विस्तार निरन्तर
शुरुवाती चरणमा भन्दा धेरै गुणा चुनौति अहिले छ । बजारमा धेरै कम्पनीहरु छन् । सबैसँग स्वस्थ प्रतिष्पर्धा गरेर सेवाग्राहीलाई सेवा उपलब्ध गराउनु अहिलेको निकै चुनौतीपूर्ण काम हो । यसलाई ध्यान दिँदै अहिले पनि सुविसुले सेवा विस्तार गरिरहेको छ ।
प्रदेश २ मा ठूलो नेटवर्क नै बनाइएको छ । त्यहाँका रिटेल ग्राहकहरुमा पनि गज्जबले सेवा विस्तार गर्ने सुविसुको योजना छ । अन्य प्रदेशको तुलनामा २ नम्बरमा कमजोर हुन्छ कि ? भन्ने जिज्ञासामा विनयले एउटा उदाहरण दिए ।
‘जुत्ताको मार्केटिङ गर्न एउटा कम्पनीको टोली अफ्रिका पुगेछ, तर अफ्रिकामा सबै खाली खुट्टै हिँड्थे त्यो देखेपछि टोलीले कम्पनीमा यहाँ बजार विस्तार गर्न नहुने जुत्ता व्यापार हुँदैन भन्ने रिपोर्टिङ गर्यो,’ उनी भन्छन्, ‘तर अर्को कम्पनीले जहाँ जुत्ता लगाउन जानेका छैनन्, त्यहाँ त झन् ब्यापार हुन्छ, जुत्ता लगाउन सिकाएर व्यापार गर्ने हो भनेर अघि बढ्यो । नभन्दै त्यो कम्पनी सफल पनि भयो ।’
प्रदेश २ मा पनि यस्तै गर्न लागिएको उनले बताए । अहिलेसम्म सुविसुका ५५ हजार ग्राहक प्रदेश २ मा बनिसकेका छन् । अझै बन्ने क्रममा छन् । अहिले काठमाडौं बाहिर सुविसुले धेरै व्यक्तिगत ग्राहकहरु बढाउँदै लगेको छ । अब प्रदेश २ सँगै अन्य प्रदेशहरुमा पनि सेवा तीव्र रुपमा विस्तार गर्ने सुविसुको योजना छ ।
सेवा विस्तारसँगै थप प्रभावकारी बनाउन अब डिजिटाइज्ड अफिस बनाउने योजना रहेको सीईओ विनय बताउँछन् । अहिले महामारीको अवस्थामा पनि पूर्ण डिजिटाइज अफिस बनाएर ग्राहकहरुलाई सरल तरिकाले सेवा दिने उनले बताए । यो कार्यान्वयनसमेत शुरु भइसकेको छ ।
सरकारसँग अपेक्षा र थोरै गुनासा
इन्टरनेट प्रयोगकर्ताहरुको संख्या दिनप्रतिदिन बढ्दो मात्रामा छ । अझ पछिल्लो समय आएका सामाजिक सञ्जालका कारण इन्टरनेटको खपत झनै बढिरहेको छ । खासगरी टिकटकले नेपालबाट ठूलै रकम बाहिरिने गरेको छ ।
प्रधानमन्त्रीले डिजिटल नेपालको कुरा उठाउनु राम्रो भएको विनय बताउँछन् । तर साँच्चिकै डिजिटल नेपाल बनाउनका लागि इन्टरनेट सेवालाई गाउँ–गाउँमा पुर्याउनु पर्ने उनको भनाइ छ ।
कन्टेन्ट डेलिभरी नेटवर्क (सीडीएन) गुगल, फेसवुक, टिकटक जस्ता सामाजिक सञ्जालका लागि राष्ट्रिय नीति बनाउनु पर्ने उनको धारणा छ । २ महिनाअघि टिकटकले आफ्नो टेक्नोलोजी परिवर्तन गर्यो जसका कारण सबै इन्टरनेट एक्कासी ‘स्लो’ भयो । टिकटकले आफ्नो प्रोटोकल बदलेपछि सीडीएनबाट नभई छुट्टै इन्टरनेटबाट खरिद गर्नुपर्ने भयो । यसका लागि सुविसुले मात्रै एक महिनामा १ करोड रुपैयाँ तिर्नु परेको विनयले सुनाए । उनका अनुसार यसका लागि सबै कम्पनीले तिर्दा ७/८ करोड रुपैयाँ विदेशिएको थियो ।
‘सरकारले केही नीतिगत व्यवस्था गर्ने हो भने यो रोकिन्छ । तर सरकारी नीतिहरु नै अस्पष्ट भएका कारण अलिक असहज भएको छ,’ उनले भने ।
अहिले पनि इन्टरनेट सेवा सरकारको कम प्राथमिकतामा रहेको उनी बताउँछन् । धेरै पुराना ऐनहरु रहेको भन्दै उनले समयसापेक्ष ऐनहरु परिमार्जन गरिनु पर्ने बताए ।
‘ब्रोडब्यान्ड भन्यो भने अहिले पनि १ एमबीपीएस/२ एमबीपीएस भनिन्छ, जबकी यहाँ ३५, ४५, ६५ एमबीपीएसको सेवा शुरु भइसक्यो,’ उनी भन्छन्, ‘प्रोभाइडर अघि भइसक्यो पोलिसी पछाडि छ, अब त सरकारले एक सय, एक हजार एमबीपीएसको कुरा गर्नु पर्यो ।’
सरकारले अहिले पनि फ्रिक्वेन्सी दिने लाइसेन्स दिएको छैन । यो पनि दिनुपर्ने उनी बताउँछन् । डिजिटल नेपालको लक्ष्य पूरा गर्न कर पनि घटाउनु पर्ने उनको सुझाव छ । ४० प्रतिशतसम्म कर तिर्नु परेको भन्दै उनले इन्टरनेटको पहुँच सबैमा पुर्याउन यो घटाउनु पर्नेमा जोड दिए । करको दर घटाएपछि इन्टरनेटको मूल्य पनि सस्तो हुने उनी बताउँछन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *