बलात्कारको घटना लुकाउन पञ्चायती गर्नेहरुलाई धरौटीमा छाड्न आदेश

२७ असोज, काठमाडौं । जिल्ला अदालत सप्तरीले पञ्चायती बसेर बलात्कारको घटनामा लुकाउन भूमिका खेल्ने ३ जनालाई जनही एक लाख १० हजार धरौटीमा छाडेको छ ।
डाक्नेश्वरी नगरपालिका–७ ब्रम्हपुरीकी १७ वर्षीया किशोरीलाई २६ भदौमा चार जनाको समूहले बलात्कार गरेका थिए । घटनाबारे उजुरी गर्न खोज्दा पञ्चायतीले रोकेर ५५ हजारमा मिलापत्र गराउन खोजेपछि पीडितले आत्महत्या गरेकी थिइन् ।
घटना सार्वजनिक भएपछि बलात्कारमा संलग्न दुई जना पक्राउ परेका थिए भने दुई जना फरार छन् । पञ्चायती गर्ने ३ जना पक्राउ परेका थिए भने ७ जना फरार छन् ।
प्रहरीले घटनाको अनुसन्धान सकाएपछि सरकारी वकिलको कार्यालयले अदालतमा बलात्कारमा संलग्नविरुद्ध बलात्कार र आत्महत्या दुरुसात्हन तथा पञ्चायती गर्नेहरुविरुद्ध आत्महत्या दुरुत्साहन र प्रमाण नष्ट गरेकोमा मुद्दा दायर गरेको थियो । यसमा अधिकतम ५ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।
न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले बलात्कारमा संलग्न भएको अभियोग लागेका दुवै १८ वर्षभन्दा कम उमेरका भएकाले पूर्पक्षका लागि बाल सुधार गृहमा पठाएको छ ।
पञ्चायती गर्नेहरुलाई जनही १ लाख १० हजार धरौटी बुझाएर तारेखमा छाड्न आदेश दिएको छ ।
सरकारी वकिलको कार्यालय, सप्तरीले भने यसविरुद्ध पुनरावेदन गर्ने बताएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *