बलात्कार पीडित परिवारलाई यो सहरले लखेटी छाड्यो

३० भदौ, काठमाडौं । गत ७ असारमा उनका श्रीमान प्रहरी हिरासतमा पुगे । त्यो पनि, आफ्नै छोरी बलात्कारको अभियोगमा । त्यसपछि सुरु हुन्छ, शिखा (नाम परिवर्तन) को वियोगान्त कथा ।
शिखाको खुट्टामा जन्मजात समस्या छ । लठ्ठीको सहाराले पनि उनलाई पाइला सार्न धौधौ पर्छ । तर, घिस्रिएरै भए पनि यो धर्तीमा उनले ३८ वर्ष बिताइसकिन् । शारीरिक अशक्तताका कारण अपमानका थुप्रै जंघारहरु पार गरिन् । तर, लकडाउनले सिंगो देश ठप्प भएका बेला उनीमाथि यो शहरले जुन तिरस्कारको भारी घोप्ट्याइदियो, त्यो उनका लागि सबैभन्दा असह्य थियो । सहनै नसक्ने ।
शिखा आँखा भरिला पार्दै भन्छिन्, ‘सडकका लावारिस पशुलाई पनि यस्तो व्यवहार गर्दैनथे होला, जुन व्यवहार ममाथि भयो ।’
****
सानै उमेरमा पति वियोगले काठमाडौंमा अलपत्र परेकी शिखाले ऊन बाट्ने र कारखानामा धागो डल्ला पार्ने काम गरेर जीवन घचेटिरहेकी थिइन् । ०६५ साल वैशाखमा उनलाई सहारा दिनका लागि सिन्धुपाल्चोकका राकेश गुरुङ (नाम परिवर्तन) आइपुगे ।
आफ्नो घरमा प्रहरीको हुल देखेपछि शिखा जिल खाइन् । कुन आमाले सोच्छिन् होला आफ्नै श्रीमानले छोरीलाई बलात्कार गर्छ भनेर । आफ्नै छोरी बाबुबाटै असुरक्षित छे भन्ने कुराले त्यो आमालाई कति पोल्छ होला ? यो वयान गर्न सम्भव कुरा होइन ।
राकेशकी एक छोरी थिइन् । श्रीमतीको मृत्यु भइसकेको थियो ।
जीवन सम्झौता नै त हो । राकेश र शिखाले सम्झौता गरे । र, जीवनको नयाँ बाटो तय गरे । शिखालाई पनि जीवनप्रतिको आशा थप जागेर आयो ।
ललितपुरको पाटनमा बसिरहेका शिखा दम्पत्ति सात वर्ष पहिले त्यहाँबाट सरेर ललितपुरको महालक्ष्मी नगरपालिका – ६, सिद्धिपुरमा पुगे । एक छोरा जन्मिए । जेठी श्रीमतीतर्फकी छोरीलाई निःशुल्क होस्टेलमा राख्ने गरी सिन्धुपाल्चोकबाट राजधानी ल्याए ।
राकेशले होस्टेलमा बस्दै गरेकी छोरीलाई डेढ वर्ष पहिले पढाइ छुटाएर घरमा ल्याए । शिखालाई अचम्म लागेको थियो, किन यस्तो गरे श्रीमानले ? उनको पढाइ किन छुटाएको होला ? यद्यपि, घरको काममा सघाउ हुने भएकाले भने शिखाका लागि भने दुःखको भारी अलिकति भए पनि बिसाएजस्तो भयो ।
राकेशले घरको गारो लगाउने, प्लास्टर गर्ने, रङ लगाउने काम गर्थे । छोरा हुर्कदै गएपछि शिखाले पनि आफ्नो शरीरले सक्नेजति इलम सुरु गरिन् । शिखा भन्छिन्, ‘नेपाल अपांग संघले केही रकम दियो, त्यसले आलु चिप्स बनाउने र पसलमा बेच्ने काम गर्न थालेकी थिएँ ।’
शिखाका श्रीमानले खेती गर्न केही जग्गा पनि भाडामा लिए । यसले जीविका चलाउन थप राहत पुग्यो । ‘चार हजारको एउटा कोठा लिएर सम्पूर्ण परिवार बसेका थियौँ’, शिखाले थपिन्, ‘खानका लागि त्यति ठूलो समस्या थिएन ।’
लकडाउनपछि श्रीमानको काम पनि ठप्प भयो । शिखाको आलु चिप्स घरेलु कारखानाले पनि हावा खायो ।
‘वडा कार्यालयले दुई पटक राहत दियो । छोराको स्कुलबाट १५/१५ दिनमा राहत आएको थियो’, शिखा भन्छिन्, ‘कहिले आधा त कहिले भरी पेट गरेर बाँच्यौं । तर, कोठा भाडा दिने पैसा भने थिएन । श्रीमानले पछि दिउँला भनेर घरवेटीलाई मिलाउनुभएको थियो ।’
शिखालाई असार पहिलो सातादेखि स्वास्थ्यमा समस्या देखियो । उनी अत्याधिक रक्तश्राबले थलिइन् । उनी भन्छिन्, ‘म सहनै नसकेर अस्पताल गएकी थिएँ, छोराछोरी त प्रहरी कार्यालयमा गएछन् ।’
आफ्नो घरमा प्रहरीको हुल देखेपछि शिखा जिल खाइन् । कुन आमाले सोच्छिन् होला आफ्नै श्रीमानले छोरीलाई बलात्कार गर्छ भनेर । आफ्नै छोरी बाबुबाटै असुरक्षित छे भन्ने कुराले त्यो आमालाई कति पोल्छ होला ? यो वयान गर्न सम्भव कुरा होइन ।
महानगरीय प्रहरी प्रभाग लुभुका सई रत्नबहादुर थापाले भने, ‘दुई नानी र बाबु प्रहरी कार्यालय सोध्दै–सोध्दै उजुरी दिन आउनुभएको थियो । पीडक शंका पाएर भाग्न खोज्दैरहेछ, हामीले तत्काल प्रक्राउ गर्‍यौं ।’
उनीहरुले समाचारमा देखेपछि आफूहरु उजुरी गर्न प्रहरी कार्यालय आएको बताएका थिए ।
आइतबार भेटिएकी १७ वर्षीया बलात्कृत छोरीले अनलाइनखबरसँग भनिन्, ‘पहिलेदेखि बलात्कार गर्दै आएको थियो ।’
त्यसपछि उनी बोल्न सकिनन् । अनुहारले नै बोल्थ्यो, ‘के बोल्ने, के नबोल्ने ? कुनै भेउ पाएकी छैन ।’
****
१० असारमा शिखाले घरबेटी संगीता श्रेष्ठलाई ढोकामा देखिन् । उनी कुनै सान्त्वनाका लागि होइन, भाडाको रकम असुल गर्न ढोकानेर उभिएकी थिइन् । घरबेटी एकैपटक चर्किइन्, ‘खै भाडा ? फागुनदेखि तिरेको छैन ।’
शिखाले जवाफ दिइन्, ‘कहाँबाट तिर्ने त भाडा ? मुख्य कमाउने मानिस जेल जानु भइसक्यो । म अपाङ्गले यस्तोबेला कहाँबाट लिएर दिऔँ ?’
घरबेटीले स्वर अझ ठूलो बनाइन्, ‘पानी, बत्तीको त होला नि ?’
शिखाले खुरुखुरु पाँच सय रुपैयाँ झिकिन् र घरबेटीका हातमा राखिदिइन् ।
शिखा भन्छिन्, ‘दृष्टिविहीन साथीभाइहरुले बच्चालाई केही खानु भनेर त्यो पाँच सय रुपैयाँ सहयोग गर्नुभएको थियो ।’
शिखाकी छोरी बलात्कृत हुनुमा न छोरीको दोष थियो, न त आमाको नै । तर, समाजले उनीहरुलाई यसरी व्यवहार गर्‍यो कि मानौं, अपराध उनीहरुले नै गरेका हुन् ।
अर्को दिन पनि उसै गरी भाडाका लागि घरबेटी आइपुगिन् । र, भनिन्, ‘कि भाडा देऊ, कि निस्किहाल ।’
शिखाले रुँदै भनिन्, ‘घरमा आफ्नै टेन्सन छ । छिमेकका मानिसहरुले उस्तै टेन्सन दिन्छन् । तपाईले यस्तो भन्नुहुन्छ । मलाई त झुण्डिएर मरौँ जस्तो हुन्छ दिदी ।’
घरबेटी झन् जंगिइन्, ‘मर्ने भए खोलातिर गएर मर् । तैंले भाडा नदिएपछि हामी कसरी बाँच्ने ? यो कुनै धर्मशाला होइन ।’
शिखा सुनाउँछिन्, ‘हरेक दिनजसो आएर भाडा माग्न थाल्नुभयो । कतै ऋण पाएपछि सबै चुक्ता गर्छु भनेकी थिएँ । तर, यस्तो बेला ऋण पनि कहाँबाट ल्याउनुु ?’
स्कुलबाट शिखाको परिवारलाई खाना त आइरहेको थियो । तर, शिखाका आमाछोरीलाई समाजमा भने बसिसक्नुको वातावरण दिएन । उनी भन्छिन्, ‘जसले भेटे पनि तिमी त झुण्डिएर मर्छु भन्थ्यौ रे त भन्दै खिसिट्युरी गर्थे । मसँग फर्काउने कुनै जवाफ हुँदैनथ्यो ।’
घरबेटीले शिखामाथि झम्टिँदै भनिन्, ‘वडाध्यक्ष र प्रहरीले पैसा नदिए ढोकामा ताल्चा लगाउनू भनेका छन् । यो टोलमा कसैले पुलिस ल्याउन सकेको थिएन । तै‌ंले हामी सबैको बेइज्जत गरिस् ।’
एकदिन घरबेटी आएर फेरि उसैगरी हपारिन्, ‘तिमीहरुले यो टोलकै बेइज्जत गर्‍यौ । जति भन्दा पनि भाडा किन नदिएको ? तिमीहरु मान्छे हो कि पशु ?’
जे भने पनि सहनका लागि शिखा लाचार थिइन् । गरिबी र अपांगता उनको शत्रु थियो । उनले भनिन्, ‘लकडाउन खुल्यो भने कतैबाट लिएर दिउँला नि !’
घरबेटी बोलिन्, ‘तेरो श्रीमान त्यस्तो मान्छे होइन । तैंले नै फसाएको हो । पहिलाको नदिए पनि तँ बसेको दुई महिनाको भाडा दिइहाल् त ।’
शिखाप्रतिको तिरस्कार उनी बस्ने घरमा मात्र सीमित थिएन । सिंगो समाजले नै उनका आमाछोरीलाई हेयको दृष्टिले हेर्न थालेको थियो । उनको गरिवी र छोरीको बलात्कारको विषय वडाकै हट समाचार बनेको थियो ।
****
अकस्मात् शिखा गत शुक्रबार लुभुको प्रहरी कार्यालयमा पुगिन् । र, प्रहरीसँग भनिन्, ‘मलाई घरमा बस्नै गाह्रो भयो । तपाईंहरु पुगेर सम्झाइदिनुपर्ने भो ।’
प्रहरीले उनको घरबेटीकहाँ पुगेर सम्झाए पनि । सई थापा अनलाइनखबरसँग भन्छन्, ‘हामी उहाँका घरबेटीसँग बस्ने वातावरण मिलाएर फर्किएका थियौँ ।’
शिखालाई लाग्यो, अब त केही दिन ढुक्कसँग बस्न पाइने भयो ।
शनिबार बिहानै प्रहरीले शिखालाई भनेको थियो, ‘वडाअध्यक्ष आएर भाडा मिलाउँछु भन्नुभएको छ । तपाईं ढुक्क भएर बस्दा हुन्छ ।’
नौ बजेसम्म शिखाको परिवारले केही खाएको थिएन । शिखाले छोरीलाई भनिन्, ‘जूठो भाडा माझ्दै गर् त, अब खाना खानुपर्ला ।’
त्यहीबेला घरबेटी संगीता र उनकी सासू धनदेवीले फेरि उसैगरी ढोकामा आएर भने, ‘भाडा दे । नत्र निस्किहाल् । हामीले ढोकामा ताल्चा लगाउँछौँ ।’
शिखाले भनिन्, ‘वडा अध्यक्षज्यू आएपछि मिलाउँला भनेको होइन र ?’
सासूले शिखामाथि झम्टिँदै भनिन्, ‘कोही आउँदैन । अध्यक्ष र प्रहरीले पैसा नदिए ढोकामा ताल्चा लगाउनू भनेका छन् । यो टोलमा कसैले पुलिस ल्याउन सकेको थिएन । तै‌ंले हामी सबैको बेइज्जत गरिस् ।’
शिखा ढोकाबाट बाहिर निस्किइन् ।
उनी सुनाउँछिन्, ‘घर बाहिर टोलभरिका दुई/तीन सय मान्छे जम्मा भएका रहेछन् । सबैले मलाई नै धारे हात लगाइरहेका थिए । कोही थर्काउँदै झम्टिन खोज्थे ।’
कसैले शिखालाई आत्महत्याको विषय झिकेर खिसिट्युरी गर्थे त कसैले तत्काल टोलबाट निस्कन भन्दै थिए । भीडबाट ठूलो स्वर आइरहेको थियो – यस्ताको कोठामा ताल्चा लगाउनुपर्छ ।
शिखा न केही बोल्न सक्थिन्, न कुनै प्रतिकार गर्न । ‘छोरीको मुख हेर्‍यो उस्तै छ, छोराको उस्तै निराश’, शिखाले गहभरि आँशु पार्दै भनिन्, ‘मेरो दिमागले काम गरेन । ताल्चा लगाइदिने भए लगाइहाल्नुस् भनिदिएँ ।’
भीडको हल्लाले शिखाको दिमागका नशाहरु टिनिक्क भए । शरीर शीताङ्ग बन्यो । छेउको सिंढीमा थचक्क बसिन् । भीड फेरि उनीतर्फ नै ओइरियो । घरबेटीले भनिन्, ‘भोलि केही अप्ठ्यारो त पार्दिनस् नि ? यो कागजमा सही गर् । तेरो देवर आएपछि ताला लगाउँछु ।’
उनका देवरको परिवार सातदोबाटोमा बस्दै आएका थिए । केही समयपछि देवर पनि आइपुगे । देवरले भने, ‘भाउजू पनि खासै ठीक मान्छे त होइन, के गर्ने, विचार गर्नू !’
त्यतिबेला शिखालाई लाग्यो, यो संसारमा मेरो भन्नु कोही छैन । मान्छेले दया, माया र मानवता भन्ने चिज बेचेर खाइसके । शिखा भक्कानिन्छिन्, ‘देवर आएपछि त केही ढाडस देला भन्ने आशा थियो । आफ्नो मान्छे भएपछि केही सहज होला भन्ने आँट त हुन्छ नि मान्छेलाई । तर, ऊ पनि उतै लागेर मलाई यो बिरानो सहरमा एक्लै बनाइदियो ।’
अन्ततः शिखाले हातमा छोरा र छोरीलाई डोर्‍याइन् । अनि कोठा छाडेर बाटो लागिन् । सबैका आँखा उनीहरुतिर तीर बनेर सोझिए ।
उनलाई कहाँ जाने, केही थाहा थिएन । बाटोमा जसले देख्यो, उसैले गिज्याउँथे । शिखा भन्छिन्, ‘हामी भोकभोकै हिँडेका थियौँ । झुण्डिएर मर्छु भन्ने यही होइन भन्दै बाटोमा तिरस्कार गर्थे । हामी मुख छोपेर खोलातर्फ लाग्यौँ ।’
त्यो दृश्य संसारमै निकै हृदयविदारक, कारुणिक दृश्य हो । यो सहरले गरिवी र अशक्तमाथि गरेको भद्दा मजाक थियो त्यो ।
शिखाले भनिन्, ‘पर, चौरमा गाई चराइरहेका मान्छेहरु देखेँ । हामी त्यतै सुरक्षित हुन्छौँ भनेर गयौँ । कसैले देख्ला कि भनेर हामीले अनुहार छोपेका थियौँ ।’
त्यहाँबाट सहयोगका लागि याचना गर्दै शिखाले नेपाल अपाङ्ग महिला संघकी महासचिव मीना पौडेललाई फोन गरिन् ।
नभन्दै दिउँसो तीन बजेतिर मीना, संघकी अध्यक्ष टीका दाहाल र ओरेक नेपालकी कार्यक्रम संयोजक सञ्जिता तिमल्सिना शिखा भए ठाउँ पुगे ।
सञ्जिता सुनाउँछिन्, ‘यो त वडाअध्यक्षको विषय हो भनेर हामीले त्यहाँबाट पटक–पटक वडा कार्यालयमा सम्पर्क गर्‍यौँ । तर, उहाँ (वडाध्यक्ष) आउनै मान्नुभएन । उपमेयरलाई बोलायौँ ।’
घरमा दुई/तीन सय मानिसहरुको भीड जम्मा भयो । संस्थाबाट आएर समाज भत्काउन लागेको आरोप लाग्यो ।
‘टोल सुधार समितिले त उहाँहरूलाई टोलमै नराख्ने निर्णय गरेको कागजमा हस्ताक्षर गराएको रहेछ’ अध्यक्ष टीकाले भनिन्, ‘त्यहाँ हामी आफैंले असुरक्षाको महसुस गर्‍यौं ।’
त्यहाँ उपस्थित भीडको एउटै आक्रोश थियो कि शिखाले समाजको बेइज्जत गरिन्, प्रहरी लगाएर अपमान गरिन् ।
शिखाप्रतिको संवेदनासँग भने समाजको एकरत्ति ध्यान थिएन । टीका भन्छिन्, ‘युवा युवती, पुरुष, महिला, पढेलेखेकाहरुकै भीड थियो । तर, उनीहरु कसैले एक शब्द मानवताको भाषा बोलेनन् ।’
त्यही बेला प्रहरी पनि पुग्यो । तर, जति नै सम्झाउन खोज्दा पनि शिखालाई डेरामा राख्ने परिस्थिति भएन ।
अर्को दिन लुभु प्रहरी कार्यालयमा जम्मा भयो भीड । भाउजूको जिम्मा म लिन्छु भनेर प्रहरी कार्यालय पुगेका देवर पनि भागे । तीन/चार सयको भीडले घेरेको थियो प्रहरी कार्यालय ।
सञ्जिता भन्छिन्, ‘छोरीलाई नेपाल अपाङ्ग महिला संघको पुनर्स्थापना केन्द्र र आमाछोरालाई महिला आयोगको सेल्टरमा पुर्‍यायौं ।’
के यो घटना राजधानीका ‘सभ्य मानिस’भित्र लुकेको कुरुप र अमानवीय चरित्र होइन र ?
रामेश श्रेष्ठले यो गीत त्यसै लेखेका होइनन्–
गाई त बाध्यो ढुंग्रोमा मोई छैन, मोई छैनगरिबको चमेली, बोल्दिने कोही छैनरातो भाले धुरीमा करायो…. करायोगरिबको चमेली, निसाफै हरायो ….!

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *