रवितादेवीको बिलौना : दुई सन्तानलाई कसरी हुर्काउने ?

३१ भदौ, वीरगञ्ज । श्रीमान छैनन्, हातमा सिप पनि छैन, दुई वटा सन्तानलाई कसरी हुर्काउने ? वीरगञ्ज–३१ बेल्वाकी रविता देवीको बिलौना मिश्रित प्रश्न हो यो । गत भदौ २६ गते उनले जीवनमा कल्पनै नगरेको घटना व्यहोर्नु पर्‍यो । गरिबीका कारण श्रीमान सतन माझीले विष सेवन गरेर आत्महत्या गरेपछि रविता देवीको जीवनमा ठूलो बज्रपात आइपर्‍यो ।
ज्याला मजदुरी गरेर जीवन गुजारा गर्ने परिवार । अघिल्लो दिन श्रीमान दाउरा बेच्न गएका थिए । घरमा दाल-चामल सकिएको थियो । श्रीमानले पैसा ल्याएका होलान् भनेर मागिन् । तर उनले रक्सी पिएर आएका रहेछन् । उल्टै गाली गरेर जंगलतिर हिँडे । उनले उतै विष सेवन गरेछन् । थाहा पाएपछि जसोतसो अस्पताल त पुर्‍याइयो । तर ढिला भइसकेको रहेछ । बचाउन सकिएन । शव उठाउनेसमेत पैसा थिएन । दाताहरुको सहयोगमा शव गाउँ ल्याइयो र दाहसंस्कार भयो ।

यो पनि पढ्नुहोस
गरीबको मरण : भोकले आत्महत्या, शव उठाउने खर्च भएन

सम्पत्तिको नाममा एउटा फुसको छाप्रो छ । सोही छाप्रोको एउटै कोठामा सुत्ने र पकाएर खाने व्यवस्था मिलाइएको छ । घर भएको जमिन आफ्नो हैन । आफन्तले किनेको जमिनको छेउमा छाप्रो बनाउन दिएका हुन् । दुई सन्तानकी आमा बनिसकेकी उनको नागरिकतासमेत बनेको रहेनछ । श्रीमानको काजकिरिया चलिरहेको छ । श्रीमान हुँदा जे जसरी भएपनि उनैले कमाएर ल्याउँथे । जसरी तसरी गर्जो टर्दै आएको थियो । अब कसरी गुजारा चलाउने ? मन बिथोलिएको छ ।
श्रीमानको मृत्युपछि एउटा काखे छोरा र अर्को तीन वर्षकी छोरीको लालन पालनाको जिम्मा उनको काँधमा आएको छ । ‘हालत त जान्ते बानी नु कुछो नइखे, सबकुछ त किन केही खाएके पडी’ (अवस्था हेरिहाल्नु भएको छ, सबै कुरा किनेर नै खानुपर्छ ।) उनले भनिन् ।
पहिले पनि एकहप्ता जति सिलाई सिकेकी उनलाई सिलाई कटाइको तालिम लिन पाए केही गर्न सक्छु भन्ने लागेको छ ।
‘केही नगरी परिवार पाल्न सकिन्न, बाल बच्चाको पेट भर्नका लागि पनि केही काम त गर्नैपर्छ,’ उनले भनिन्, ‘सिलाई कटाइको तालिम लिन पाएँ भने काम गर्न सक्छु भन्ने लागेको छ ।’
दाताहरुले दिए राहत
सतनको मृत्युपछि बेल्वास्थित उनको घर पुगेर कतिपयले राहत सामाग्री र आर्थिक सहयोग पनि गर्न थालेका छन् । मंगलबार सामुदायिक सेवा केन्द्र मुर्लीले खाद्यान्न लगायत सामाग्री सहयोग गरेको हो ।

सामुदायिक सेवा केन्द्रले तीन बोरा चामल, हर्लिक्स, चाउचाउ, विष्कुट लत्ता कपडा लगायत प्रदान गरेको छ । केन्द्रका सचिव कुल नारायण प्रधान (दिलिप), सामाजिक अभियन्ता प्रकाश थारुसहितको टोली माझीको घर पुगेका थिए ।
आइतबार सामाजिक अभियन्ता थारु, वीरगञ्जकै प्रेम घिमिरेले पनि तीन बोरा चामल दिएका थिए । शनिबार अनलाइनखबरमा प्रकाशित समाचार पढेर काठमाडौंका एकजना दाताले दिएको नगद पाँच हजार पनि रवितालाई हस्तान्तरण गरिएको छ ।
‘केही दिनका लागि पुग्ने खाद्यान्न र पैसा सहयोग भएको छ, तर यसरी सहयोग गरेर मात्रै हुँदैन,’ सामाजिक अभियन्ता थारुले भने, ‘उनलाई आत्मनिर्भर कसरी बनाउन सकिन्छ, त्यसतर्फ सोच्नुपर्छ ।’

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *