भ्रमबाट जोगिऔं, डिप्रेसनको उपचार छ

कोरोना भाइरसको महामारीले निम्त्याएको यो अवस्थामा हामी जति जोखिम बढेको छ, त्यति नै सचेत बनेर अरू रोगको जोखिमबाट समेत जोगिनुपर्ने अवस्था छ ।
यो जटिल समयमा हामी शारीरिक र मानसिक रोगको समेत सम्भावित समस्याबाट जोगिनुपर्ने आवश्यकता छ । उच्च मनोबलसहित बाँचेको खण्डमा मात्रै हामीले कोरोनाको यो संकटलाई समाप्त गर्न सक्छौं ।आज हामीहरू धेरैलाई नजानी नजानी गाँज्ने एउटा रोग बनेको छ, डिप्रेसन । त्यही डिप्रेसन, जसलाई हामी विसाद वा अवसाद भन्ने गर्छाैं ।
डिप्रेसन भनेको सामान्य अवस्थामा मान्छेमा उत्पन्न हुने चिन्ता मात्रै होइन । यसको शिकार हुनको लागि दुई हप्ताभन्दा बढी बिनाकारण दिनभरि निराश, नरमाइलो र दिक्दार लागिरहने जस्ता विशिष्ट किसिमका लक्षणहरू छन् ।
जस अनुसार पहिलेपहिले आनन्द दिने कुराले पनि पछि झर्काे लाग्न थाल्नु, थोरै सक्रियतामा पनि धेरै थकानको महसुस हुनु र जाँच गर्दा थप केही पनि समस्या नदेखिनु नै डिप्रेसनको मुख्य समस्या हो ।
लगभग एकैपटक विश्वमा ४ प्रतिशत जति मान्छेलाई डिप्रेसनले गाँजेको हुन्छ । उनीहरू विभिन्न कारणले उपचारको पहुँचमा आउन सकिरहेका छैनन् । नेपालमा पनि उपचारको पहुँचमा पुग्न नसकेका मनोरोगीको संख्या धेरै छ । उनीहरू उपचारको पहुँचसम्म आउन नसक्नुको पछि पनि दुईवटा कारण रहेका छन् ।
एउटा त सबैतिर मानसिक सेवाको अभाव र रोगीलाई समाजले फरक ढंगले हेर्ने गरेका कारण पनि उनीहरू उपचारको पहुँचमा आउने गरेका छैनन् ।
मानसिक समस्याका लक्षण के–के हुन् ?
व्यक्तिमा दुई हप्ताभन्दा धेरै लगातार दिक्दारी लाग्नु, अनावश्यक थकानको महसुस हुनु आदि मानसिक समस्याका मुख्य लक्षण हुन् ।
भोक र निद्रामा गडबढी हुनु, आफ्नो भविष्य व्यर्थ छ म बाँच्नुको अर्थ छैन, म समाज र परिवारको लागि बोझ भएँ भन्नेजस्ता सोच पैदा हुनु पनि मानसिक समस्याको लक्षणभित्र पर्छ । मानसिक समस्याले थप च्याप्दै लग्यो भने त्यस्ता बिरामीहरूले आत्महत्याको प्रयाससमेत गर्ने गर्छन् ।
कडा खालको मानसिक रोगले गाँजेका व्यक्ति भने अस्वाभाविक व्यवहार देखाएर विक्षिप्तताको अवस्थामा पुग्छन् । तर यसको उपचार पनि छ ।
कारण के हो ?
मानसिक समस्याको दुईवटा कारणहरू छन् । एउटा जैविक कारण हो भने अर्काे मनोवैज्ञानिक कारण ।
कुनै व्यक्तिमा डिप्रेसन छ भने उसको बच्चालाई पनि यस्तो रोगले छिटो समात्ने सम्भावना सामान्य मान्छेको तुलनामा धेरै हुने गर्छ । जैविक कारणअन्तर्गत नै हाम्रो मस्तिष्कको नसामा हुने सन्तुलनमा तलमाथि भयो भने यस्ता समस्या देखिन सक्छ ।
त्यस्तै, मनोवैज्ञानिक कारण अन्तर्गत व्यक्तिको सहन गर्ने क्षमता र वातावरणलाई हेर्ने हेराइ आदिले पनि मान्छे यस्तो समस्यामा पर्ने गर्छ । जस्तो कोरोना भाइरसको महामारीका कारण मान्छेमा धेरै निराशा छाउने गर्छ । यसले पनि डिप्रेसनको शिकार बनाउन सक्छ । मनोरोगको सामाजिक कारण पनि हुने गर्छ । यो कारण आफ्नो बसोबासस्थलको वरपरको वातावरणले निर्धारण गर्ने गर्छ ।
मानसिक समस्याको उपचार पद्धति
यसको उपचार पद्धति पनि भिन्न भिन्न किसिमको हुने गर्छ । जसमध्ये एउटा भनेको साइकोथेरापी हो र दोस्रो औषधिको सेवन हो ।
सुरुवाती चरणमा रहेको मानसिक समस्यालाई साइकोथेरापीले नै समाधान गर्न सकिन्छ भने त्योभन्दा माथिल्लो तहमा पुगेपछि यसको उपचारको लागि औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । व्यक्तिको जीवनशैलीमा असर नपुर्‍याएको अवस्थामा साइकोथेरापीबाट व्यक्तिलाई पुरानो अवस्थामा ल्याउन सकिन्छ । तर व्यक्तिको जीवनशैलीमा नै असर पर्न थाल्यो भने त्यसलाई मोड्रेट लेभलको जीवनशैली भनिन्छ ।
त्यस्तो अवस्थामा भने हामीले औषधोपचारको सहारा लिनु जरुरी हुन्छ । सामान्यतया जटिल अवस्थाबाहेक अरू अवस्थामा केही महिनाको उपचार पाएमा मानसिक समस्या भएका व्यक्ति पूर्ण निको हुन्छन् । त्योभन्दा कडा खालको समस्या भएको छ भने बिरामीको लागि आवश्यक पोषण्, मनोपरामर्श र डिप्रेसनको औषधिसमेत एकैपटक प्रयोग गर्नुपर्ने हुन्छ ।
डिप्रेसनबारे केही भ्रम

डिप्रेसन भनेको कमजोर मन भएकाहरुलाई हुन्छ भन्ने समाजमा एउटा भ्रम व्याप्त छ । तर कडा मन भएका र व्यक्ति पनि यसको शिकार भएको देख्न सकिन्छ । उच्च ओहोदाका व्यक्तिहरूमा समेत यस्तो समस्या देख्न सकिन्छ ।
कतिपयमा यो कुनै पूर्वजन्मको कारणले हुने समस्या भन्ने भ्रम रहेको देखिन्छ, जुन गलत हो ।
यसको औषधि एकपटक खाएपछि जीवनभरि खाइरहनुपर्छ भन्ने भ्रम पनि छ । यसले पनि धेरै उपचारको लागि आउने गर्दैनन् । तर केही वर्ष उपचार गरेपछि जति सुकै कडा मनोरोग भए पनि यो निको हुन्छ । जीवनभरि उपचार गराउनुपर्छ भन्ने कुरामा भने सत्यता छैन ।
मानसिक रोगको औषधि प्रयोग गरेपछि मान्छेको दिमागलाई त्यसले बोधो बनाउँछ भन्ने भ्रम पनि छ, यो पनि सत्य होइन ।

हाम्रो जिम्मेवारी के हो ?
समाजमा मानसिक समस्याको जोखिम बढिरहँदा हाम्रो पनि यसमा जिम्मेवारी हुने गर्छ । सामान्य लक्षणहरूमात्रै पनि केही दिनसम्म देखियो भने त्यसको उपचार गरिहाल्नुपर्ने हुन्छ ।
हाम्रो नजिकको कसैले यस्तो लक्षण देखायो भने नजिकको स्वास्थ्य संस्थामा वा मानसिक परामर्शदाता कहाँ पुर्‍याउनु सबैको दायित्व हो । साथै, यस्ता समस्या गम्भीर समस्या होइन भन्ने सबैलाई बुझाउनु पनि हामी सबैको रेस्पोन्सिबिलिटी हो ।
कसरी बच्ने मानसिक समस्याबाट ?
हामी अहिले दिनदिनै कोरोना महामारीका कारण वाक्क भएका छौं । यस्तो अवस्थामा भ्रम पैदा गर्ने समाचारहरू पनि धेरै आउने गर्छन् । सामाजिक सञ्जालमा धेरै भ्रामक समाचार आउने गर्छन् । त्यसैले, सामाजिक सञ्जालको प्रयोग कम गरौं ।
कुनै पनि दीर्घरोगको औषधिलाई निरन्तरता दिनु राम्रो हुन्छ । अहिले निषेधाज्ञाका कारण नियमित चिकित्सकसँग परामर्श लिन पाइँदैन । यस्तो अवस्थामा घर वा आफ्नो ठाउँमा आफूलाई सक्रिय राखौं । आफ्ना प्रियजनसँग मनको भावनाहरू व्यक्त गर्ने गरौं । विभिन्न माध्यमबाट आफ्ना परिवारहरूसँग सम्पर्कमा नै बसौं ।
अर्काे उपाय भनेको मादक पदार्थको सेवन कम गरौं । यस्तो व्यवहारले पनि डिप्रेसन निम्त्याउन सक्छ । यसका साथसाथै अर्काे महत्वपूर्ण काम भनेको आत्मबल बढाउनु हो । यो महामारी पनि सधैं रहनेवाला छैन । यस्तो अवस्थामा भोलिको समयमा यो समस्या रहँदैन भनेर आफ्नो आत्मबल बढाएर मानसिक समस्यालाई दूर गराउन सकिन्छ ।
डा. अधिकारीले स्वास्थ्य मन्त्रालयको नियमित कोरोना अपडेटको क्रममा दिएको अभिव्यक्ति

यो पनि पढ्नुहोस
आत्महत्या रोक्न राष्ट्रिय रणनीति ल्याऔं : डा. ओझा

यो पनि पढ्नुहोस
लकडाउनले बढायो मानसिक छटपटी, मनोचिकित्सक भन्छन्– आत्तिनु पर्दैन

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *