नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक

शरद शर्मा (रासस)

३० भाद्र २०७७, मंगलवार १५:१८

नेकपा स्थायी कमिटी बैठकको दृष्य । फाइल तस्वीरः प्रधानमन्त्रीको सचिवालय ।

काठमाडौं, भदौ ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा संघ-संस्थालाई कुनैपनि गतिविधि नगर्न निर्देशन दिएको छ ।
पार्टीले अन्तरपार्टी निर्देशन–५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउन्डेसन, अध्ययन केन्द्रजस्ता संस्थालाई प्रदेश, जिल्ला र स्थानीय तहमा कुनैपनि शाखा गठन र गतिविधि गर्न रोक लगाउने निर्देशन दिएको हो ।
नेकपाले ती नेताका नाममा खोलिएका प्रतिष्ठान वा संघ-संस्थामध्ये अधिकांशले पार्टीभित्र गुटबन्दी गर्न थालेपछि अन्तरपार्टी निर्देशन–५ मा रोक लगाउने निर्देशन दिएको हो । केन्द्रमा भने कुनै रोक लगाइएको छैन ।
पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी, जीवराज आश्रित, नरबहादुर कर्माचार्य, निर्मल लामा, सुरेश वाग्ले, कृष्णसेन इच्छुक मोतीदेवी, सहाना प्रधान, झलनाथ खनाललगायत नाममा त्यस्ता संस्था खोलिएका छन् । तीमध्ये केहीका केन्द्रमा मात्र र केहीका जिल्लाहरुमा पनि शाखा खोलिएका छन् ।
‘पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रतिष्ठान वा संघ-संस्थाहरु परिचालित छन् । तीमध्ये अधिकांश गुटबन्दीको माध्यम बन्दै गएका छन् । गुटबन्दी रोक्न प्रतिष्ठानलाई नियमन गर्न जरुरी छ’-अन्तरपार्टी निर्देशन–५ मा भनिएको छ ।
पार्टी सचिवालय बैठकले प्रतिष्ठानसम्बन्धी अध्ययन गर्न कार्यदल बनाएर प्रतिवेदन सार्वजनिक नगरेसम्म तिनका शाखा गठन र गतिविधि नगर्न निर्देशन दिएको हो ।
अन्तरपार्टी निर्देशन–५ मा सचिवालयले प्रतिष्ठानको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न स्पष्ट कार्यादेशसहितको कार्यदल गठन गर्ने उल्लेख गरिएको छ ।
कार्यदलको प्रतिवेदन प्राप्त भएपछि त्यसमाथि छलफल गरी प्रतिष्ठानबारे आवश्यक निर्णय गर्ने जनाइएको छ ।
नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसालले नेताका नाममा प्रतिष्ठान खोल्नु राम्रो भएपनि त्यसबाट पार्टीलाई नै नोक्सान पुर्‍याउने किसिमको गुटबन्दी गर्न नहुने बताउनुभयो ।
उहाँले नेताका नाममा खोलिएका अधिकांशले पार्टीभित्र गुटबन्दी गर्न थालेपछि अंकुश लगाउनुपरेको स्पष्ट गर्नुभयो ।
‘नेताका नाममा खोलिएका प्रतिष्ठानले तिनै नेताको विचार र आदर्शलाई प्रचारप्रसार र तिनले पुर्‍याएको योगदानको चर्चा गर्दै वैचारिक बहस गर्नुपर्ने हो’-उहाँले भन्नुभयो-‘तर, त्यसरी खोलिएका प्रतिष्ठानले नेताहको विचार र आदर्शलाई भुलेर पार्टीभित्र गुटबन्दी गर्न थालेकाले व्यवस्थित बनाउन अहिलेलाई रोक लगाइएको हो ।’
उहाँले प्रतिष्ठानले पार्टीको नीतिबाहिर रहेर समानान्तर गतिविधि सञ्चालन गर्न थालेकाले व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले नेताका नाममा स्थापना हुने प्रतिष्ठानलाई पार्टी मातहत ल्याएर सञ्चालन गर्नुपर्ने धारणा पनि राख्नुभयो ।
तत्कालीन नेकपा (एमाले)ले पनि प्रतिष्ठानलाई व्यवस्थित बनाउनका लागि भुसालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
उक्त कार्यदलले तयार पारेको ‘प्रतिष्ठान सञ्चालन निर्देशिका’ प्रतिवेदन केन्द्रीय कमिटीमा बुझाउन नपाएको उहाँले गुनासो गर्नुभयो ।
उहाँ आफूले त्यतिबेला प्रतिवेदन बुझाउन पाएको भए प्रतिष्ठानलाई व्यवस्थित गर्न सकिने बताउनुहुन्छ ।
उहाँकाअनुसार उक्त निर्देशिकामा प्रतिष्ठान पार्टी मातहत सञ्चालन गर्नका लागि प्रतिष्ठान समन्वय कमिटी गठन गर्ने उल्लेख थियो ।
पूर्वएमाले र माओवादी पार्टीले निर्णय गरेर प्रतिष्ठान वा संघ-संस्था स्थापना गरेका छन् । कतिपय नेताले आफूखुसी दिवंगत नेताका नाममा प्रतिष्ठान, फाउन्डेसन र अध्ययन केन्द्रजस्ता स्थापना गर्ने गरेको पाइएको छ ।
अर्का स्थायी कमिटी सदस्य मणि थापाले पार्टीका नेताका नाममा प्रतिष्ठान वा कुनै संघ-संस्था स्थापना गर्नु आवश्यक रहेपनि त्यसका नाममा पार्टीभित्र गुटबन्दी गर्नु पार्टीकै हितविपरीत हुने बताउनुभयो ।
उहाँ प्रतिष्ठानलाई पार्टीकै गतिविधि नगरी गैरराजनीतिक क्रियाकलाप गर्न छुट दिनुपर्ने सुझाव दिनुहुन्छ ।
पार्टीभित्र विद्यमान प्रतिष्ठानले गुटबन्दी गरेकाले त्यसलाई व्यवस्थित बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *