शहीद सिन्धु–लालध्वज मार्ग कालोपत्रे

शहीद सिन्धु–लालध्वज मार्गको ट्रयाक खोलेको चौबीस वर्षपछि कालोपत्रे गर्न शुरु भएको छ । तनहुँको शुक्लागण्डकी–१ कोत्रेदेखि व्यासनगरपालिका–६ क्रियापानी हुँदै लमजुङको दुईपिप्लेसम्म जोडिने उक्त मार्गमा कालोपत्रे गर्न लागिएको हो । जिल्ला सदरमुकाम दमौलीदेखि कोत्रेसम्मको पृथ्वीराजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको शहीद लालध्वज मार्ग गण्डकी प्रदेशको आर्थिक सहयोगमा कालोपत्रे गर्न लागिएको हो । कोत्रे–थप्रेक सडक मार्गअन्तर्गत करिब १६ किलोमिटर दूरीमध्ये पहिलो चरणमा १ हजार ३०० मिटर दूरी कालोपत्रे गर्न लागिएको वडाध्यक्ष रविचन्द्र पौडेलले बताउनुभयो ।
विसं २०५३ मा उक्त सडकको ट्रयाक खोलिएको थियो । उहाँले भन्नुभयो, “कालोपत्रे शुरु गर्न लागेसँगै पूर्वाधार विकास कार्यालयका प्राविधिकले सडकको माटो परीक्षण थालेका छन् ।” गण्डकी प्रदेशको रु डेढ करोडको लागतमा मिर नेपाल कन्ट्रक्सन पोखराले कालोपत्रे गर्ने जिम्मा पाएको छ । उक्त दूरीको सडक दशै अगावै कालोपत्रे सम्पन्न गर्ने लक्ष्यका साथ काम शुरु गरिएको वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७६÷७७ को अनुदान बजेटबाट शुक्लागण्डकी नगरपालिकाको १ र २ नम्बर वडामा पर्ने जुवेखोलादेखि धोबिडाँडासम्मको मार्ग कालोपत्रे गर्न लागिएको वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो । शहरी विकास मन्त्रालयबाट उक्त मार्गको स्तरोन्नतिका लागि डिपिआर गर्न बजेटसमेत विनियोजन गरिसकेको छ ।
त्यसैगरी उक्त मार्ग हँुदै सिन्धुमार्गको साँघेफाँट र व्यास नगरपालिका–५ चापाघाटस्थित सदरमुकाम नजिक जोडिने हुँदा रिङरोडको रुपमा विकास गर्न लागिएको शहीद सिन्धु लालध्वज मार्ग निर्माण समितिका अध्यक्ष डिल्लीराम अधिकारीले बताउनुभयो । विसं २००७ को प्रजातान्त्रिक आन्दोलनको क्रममा व्यास नगरपालिका–८ पुलिमराङका लालध्वज गुरुङले तत्कालिन सदरमुकाम बन्दीपुर कब्जा गर्ने क्रममा विसं २०१८ मा तनहुँको कोत्रेमा सहादत प्राप्त गर्नुभएको थियो । उहाँले सहादत प्राप्त गरेको स्थानदेखि थप्रेकसम्मको मार्गलाई शहीद लालध्वज मार्ग नामकरण गरिएको हो ।
प्रजातान्त्रिक आन्दोलनका क्रममा व्यास–८ पुलिमराङका शम्शेर गुरुङ र भरत गुरुङ चितवनमा तथा लालध्वज, सर्वसिं र हस्तवीर गुरुङ तनहुँको कोत्रेमा शहादत प्राप्त गरेका थिए । पाँच जनाको शहीदको सम्झनामा व्यास नगरपालिकाको सक्रियतामा उनीहरुको (जन्मघर) व्यास–८ पुलिमराङमा अर्धकदको शालिक निर्माण गरेर शहीद ग्रामको रुपमा विकास गर्न थालेको छ ।
बाइस लाख जरिवाना सङ्कलन
जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरी रु २२ लाख ३५ हजार ९३० जरिवाना रकम सङ्कलन गरेको छ । जिल्ला अदालतको फैसलाबाट कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहँदै आएका व्यक्तिलाई पक्राउ अभियान थालेपछि उक्त जरिवाना रकम सङ्कलन भएको हो । एकासी दिनमा १०८ जना फरार अभियुक्त पक्राउ गर्दा उक्त रकम सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।
सवारी ज्यान, कर्तव्य ज्यान लागुऔषध, बैंकिङ कसुर, कीर्ते, वन, सार्वजनिक अपराध तथा देवानीलगायत मुद्दामा फरार रहेका व्यक्ति पक्राउ परेका हुन् । प्रहरीले गत आइतबार एकै दिनमा ३५ जना फरार अभियुक्तलाई पक्राउ गरेको थियो । अदालतबाट फैसला भई जरिवाना भुक्तान गर्न बाँकी रहेका उनीहरुबाट रु २०० देखि दुई लाखसम्म गरी रु चार लाख १६ हजार ३२५ भुक्तानीको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी एकाइबाट एकै दिनमा उक्त सङ्ख्यामा उनीहरु पक्राउ गर्नु उपलब्धिमूलक भएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताउनुभयो । रासस

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *