बौद्धिक अपांगता भएकालाई कसरी पढाउने ?

काठमाडौँ । तनहुँकी सुशीला मल्लकी १५ वर्षीया छोरी राम्ररी बोल्न र सुन्न सक्दिनन् । हिँड्न पनि गाह्रो हुन्छ । अरूले बोलेका कुरा ढिलो टिप्छिन्, चाँडै बिर्सिन्छिन् । ६ महिनाअघिसम्म स्कुलमा जसोतसो अक्षर कोर्न जानेको पनि भुल्न थालिसकेकी छन् ।
स्कुल छुटेपछि उनमा रिसाउने, झर्किने, झगडा गर्ने प्रवृत्ति बढेको छ । जसोतसो सिक्न थालेको व्यावहारिक सिकाइ र अनुशासन बिर्सिंदै गएकी छन् ।
छोरीलाई सकेसम्म सहज बनाउन गीत, भिडियो, टेलिभिजनतिर ध्यान केन्द्रित गराउँछिन् । मेसेन्जरको भिडियो कलमा छोरीका साथीहरूसित भुलाउँछिन् । साथीहरूसँग भुल्न पाउँदा खुसी हुन्छिन् । अनलाइन कक्षा वा परामर्शदातासँग कुराकानी गराउन पाए झर्किने, रिसाउने स्वभाव कम हुन्थ्यो कि भन्ने आशले सुशीला विभिन्न भर्चुअल बैठकहरूमा सहभागी हुन्छिन् । आफ्ना कुरा राख्छिन् । तर, कतैबाट चित्तबुझ्दो जवाफ पाउँदिनन् । ‘कतै छोरीलाई ‘इन्गेज’ गराउन पाए धेरै राहत मिल्ने थियो,’ उनले भनिन्, ‘छोरी पढ्ने स्कुलमा पनि पढाउने कुरा थियो पछि स्रोतसाधन छैन भनेर कक्षा सुरु गरिएन ।’
बालदिवसको नारामा भनिएजस्तो छोरीलाई पढाउने अधिकार सुनिश्चित नभएकामा उनी खिन्न छिन् । ‘फरक क्षमताका बालबालिकालाई पढाउनेबारे सरकारले पनि केही सोचिदिए हुन्थ्यो,’ उनी झिनो आशा राख्छिन् ।
***
चापागाउँकी अञ्जना लामाकी आठ वर्षीया छोरी पनि बोल्न सक्दिनन् । कान सुन्दिनन् । आफ्ना कुरा व्यक्त गर्न सक्दिनन् । आमाले अनुमानका भरमा उनका चाहना पूरा गरिदिन्छिन् ।
अञ्जना छोरीलाई विशेष कक्षामा पढाउँथिन् । बिहान साढे ९ बजे स्कुल पुर्‍याउँथिन् । छोरी दिनभर स्कुलमा आफूजस्तै साथीहरूसँग भुलिन्थिन्, खेल्थिन्, नाच्थिन्, गाउँथिन् । दिउँसो ३ बजे लिन जानुपर्थ्यो । स्कुल बन्द भएपछि छोरी साथै छिन् । ‘एकै ठाउँमा बसिरहनुपर्दा उकुसमुकुसले होला रातदिन कराउने, रुने, नटेर्ने भएकी छ, पढेको कुरा बिर्सिन थालेकी छ,’ उनले भनिन्, ‘साह्रै दुःख दिएको बेला त स्कुल खोलिदिए आनन्द हुन्थ्यो जस्तो लाग्छ ।’ छोरी पढ्ने स्कुलबाट अनलाइन कक्षा पढाउने खबर आएको छैन ।
***
बौद्धिक अपांगता अभिभावक महासंघ नेपालका अनुसार यी दुई पात्रले झन्डै १ हजार ५ सय विद्यार्थीको प्रतिनिधित्व गर्छन् । जो कोरोना महामारीको कारणले सरकारले अगाडि सारेको वैकल्पिक अर्थात् अनलाइन कक्षामा अट्न सक्दैनन् । पहाडी तथा हिमाली दूरदराज मात्रै होइन, उपत्यकामै पनि अनलाइन कक्षा गराउन सम्भव नहुने बौद्धिक अपांगता भएका विद्यार्थी पढाउने कीर्तिपुरको बाल कल्याण स्कुलकी शिक्षक चाँदनी ढेवाजु बताउँछिन् । ‘अभिभावक खेतीकिसानीमा व्यस्त हुन्छन् उनीहरूसँग इन्टरनेट, फोन, कम्प्युटरको पहुँच हुँदैन,’ उनले भनिन्, ‘आई कन्ट्याक गराएर पढाउँदा त उनीहरूलाई बुझाउन, भुलाउन गाह्रो हुन्छ भने अनलाइन त सम्भवै छैन ।’ यसको साटो विद्यार्थी, अभिभावकहरूलाई बेला–बेला फोन सम्पर्क गरेर सोधखोज गर्ने गरेको बताइन् ।
बौद्धिक अपांगता भएका विद्यार्थीको उमेरअनुसार बौद्धिक विकास नहुने, स्मरण शक्ति नहुने र स्रोतसाधनको पहुँच नपुग्ने भएकाले अनलाइन कक्षामा सिकाउन समस्या छ । सामान्य विद्यार्थीहरूलाई समेत वैकल्पिक तथा अनलाइन कक्षामा सहभागी गराउन नसकिरहेका बेला बौद्धिक अपांगता भएकालाई थुप्रै अड्चनहरू रहेको बौद्धिक अपांगता अभिभावक महासंघका अध्यक्ष राजु बस्नेतले बताए ।
बौद्धिक अपांगताका विद्यार्थीहरू स्वभावैले सुस्त हुन्छन् । उनीहरूको सामान्य विद्यार्थीको जस्तो सिकाइ, बुझाइ हुँदैन । सरकारले उनीहरूलाई खुसी बनाउने, सहज बनाउने माध्यमका रूपमा विशेष कक्षा तथा स्रोत कक्षाको व्यवस्था गरेको हुन्छ । महासंघका अनुसार देशभर १४ वटा विशेष विद्यालय र १ सय २४ वटा स्रोत कक्षा छन् । एक शिक्षकलाई १० विद्यार्थी र १० विद्यार्थीहरूलाई एक आया (हेरचाह गर्ने आमा) को व्यवस्था छ । बौद्धिक अपांगताका विद्यार्थीहरूलाई सामान्य विद्यार्थीको जस्तो पाठ्यभार राखिँदैन । उनीहरूलाई व्यावहारिक ज्ञान दिन सरल भाषामा अध्ययन सामग्री तयार गरिएको हुन्छ । उनीहरूलाई खुसी पार्ने नाचगानलगायतका गतिविधि गराइन्छन् । लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीले यस्ता क्रियाकलाप छुटाइसकेका छन् ।
घरमा एक जना अभिभावक ढुक्कैले गोठालो लाग्नुपर्ने बुटवलकी सविना बस्नेतले बताइन् । ‘जबसम्म स्कुल खुल्दैनन्, बच्चा हेर्नुपरेपछि अभिभावकले सानातिना आयआर्जनका काममा गर्न पाएनन्, ढुक्कै बच्चा रुँघेर बस्नुपर्छ, परिवारको गुजारा चलाउनेजस्ता यावत् समस्या छन्,’ उनले भनिन् । सविना बौद्धिक अपांगताका अभिभावकको हैसियतले पैरवी गर्छिन् । उनकी ११ वर्षकी छोरी सुस्त तथा बौद्धिक अपांग छिन् । बुटवलकै एक विशेष स्कुलमा पढ्छिन् । ६ महिनादेखि उनको पनि पढाइ टुटेको छ ।
शिक्षा ऐन, ०२८ को नवौं संशोधनमा ‘विशेष शिक्षा, समावेशी शिक्षा, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा, दूर शिक्षा तथा खुला शिक्षा सञ्चालनसम्बन्धी व्यवस्था’ मा बौद्धिक अपांगता भएका बालबालिकाको लागि पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण सिकाइ र मूल्यांकन प्रणालीमा फरक व्यवस्था गर्न सकिने उल्लेख छ । अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ मा सरकारले बौद्धिक अपांगता भएका बालबालिकाका लागि सिकाइ आवश्यकतालाई सम्बोधन गर्न पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण सिकाइलगायतका विषयमा उपयुक्त व्यवस्था गर्ने भनिएको छ ।
नीति तथा कानुनमा व्यवस्था भएबमोजिम बौद्धिक अपांगता भएका बालबालिकाले पनि विषम परिस्थितिमा पढ्न पाउने व्यवस्था गरिनुपर्ने महासंघ अध्यक्ष बस्नेतले बताए । ‘बच्चाहरूले कनिकुथी केही नयाँ सिक्न पाउने, ज्ञान लिन पाउने कुरामा सरकारले विद्यार्थी र अभिभावकलाई सहज व्यवस्था गरिदिनुपर्छ, नत्र वृत्तिविकासमा झन् समस्या थपिन्छ ।’
विद्या राईले कान्तिपुरमा खबर लेखेकी छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *