बालबालिकाको सारथि पढाइ शिविर

सिन्धुली ।  तीन कक्षा उक्लिएकी उनले विद्यालय जान नपाएको ६ महिना भयो । फिक्कल गाउँपालिका–५ सोल्पा शिखुडाँडाकी ९ वर्षीया रेविका सुनुवारलाई दुई कक्षामा हुँदा विद्यालयमा साथीसंगीसँग खेल्दै पढेको घरिघरि सम्झना आउँछ । विद्यालय जान नपाए पनि उनी यतिखेर आफ्नै घरको पढाइ कुनोमा व्यस्त हुन्छिन् । पढाइ शिविरमा पाएका चित्र भएका किताब र आफैंले तयार गरेका सामग्री ओल्टाइ–पल्टाइ गरेर दिन बिताउँछिन् ।
दुई वर्षअघि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वल्र्डभिजनको सहयोगमा सिड्स नेपाल सिन्धुलीले पढाइ शिविर र पढाइ कुनाको अवधारणा ल्याएको हो । त्यही पढाइ शिविर शनिबारीय कक्षा नै अहिले सोल्पा शिखुडाँडाका बालबालिकाका लागि विद्यालय भएको छ । शनिबार मध्याह्न हुनासाथ गाउँका बालबालिका चित्रसहितको किताब बोकेर दगुर्छन् । नजिकै ठूलो चौर छ, त्यहीको एक सामुदायिक भवनभित्र गोलाकार भएर बालबालिका आफ्नै धुनमा मस्त हुन्छन् । चित्र कथा, लोपोन्मुख घरेलु सामग्री, नेपाली अक्षरहरू ती बालबालिकालाई दिइएको मुख्य पाठ्यभार हो ।
मन लागेको चित्र हेर्ने, खेल्ने र नेपाली भाषामा दख्खल राख्ने गरी स्वस्फूर्त पढ्न त्यहाँ प्रेरित गरिन्छ । त्यसैको उपज हो घरमा निर्माण भएको पढाइ कुना । शनिबारीय कक्षामा सामेल भएका सबैजसो बालबालिकाले घरमा पढाइ कुनो बनाएका छन् । आफूले बनाएका चित्रलगायत पढाइ सामग्री पढाइ कुनोको भित्तामा राखेर बालबालिका स्वअध्ययन र खेल्नमा मस्त हुन्छन् ।
रेविकाका बुवा हर्कबहादुर छोरीले पढाइ कुनो निर्माण गरेर रमाएकोमा दंग छन् । ‘शिविरमा गएर के के सिकेर आउँछे, भित्ताभरि आफैंले बनाएकी चित्र टाँसेर घरै उज्यालो बनाएकी छे । यो पनि नभएको भए त, पढाइ सबै बिर्सिने पो रहिछ,’ हर्कबहादुरले भने । कक्षा ३ कै मनीष नेपाली पढाइ शिविरमै अब्बल छन् । उनी लोपोन्मुख घरेलु सामग्रीहरू किताब हेर्दै दुरुस्तै कापीमा उतार्छन् । ‘भविष्यमा चित्रकार होलान् जस्तो छ,’ पढाइ शिविरकी सहजकर्ता मनीषा परियारले भनिन्, ‘कोरोना कहर सुरु भएपछि विद्यालय जान नपाएर होला, बालबालिकाहरू शनिबारीय कक्षामा औधी रमाएका छन् । पढाइ कुनोलाई पहिलाभन्दा व्यवस्थित बनाउँदै लगेका छन् । नेपाली विषयमा पोख्त भएका छन् ।’
दुई घण्टाको कक्षामा अचेल चार/पाँच घण्टासम्म बालबालिकाहरू शिविर बस्ने गरेका छन् । उनीहरूलाई खाजाको व्यवस्थासमेत गरिएको छ । जिल्लामा कोरोना संक्रमण बढेका बेला एक/दुई साता बन्द भए पनि अहिले भने पढाइ शिविर सुचारु छ । मनीषका बुवा डिल्लु नेपाली छोराको पढ्ने बानी नछुटेको बताउँछन् । भन्छन्, ‘लामो समय विद्यालय बन्द हुँदा पनि शिविरमा जाने गरेकाले पढ्ने र खेल्नमा केटाकेटीहरू रमाएकै छन्, यसले गर्दा पढाइ भएकै छ, जस्तो लाग्छ ।’
पढाइ शिविरका कारण बाहिरबाट जाने मानिसहरूसँग पनि बालबालिकाहरू धक नमानी बोल्ने गरेका छन् । यतिखेर सरसफाइमा ध्यान जानेखालका गीतहरूको रचना गरी एकै स्वरमा गाउन लगाउने गरिएको छ । जसबाट बालबालिकाहरूमा सरसफाइको चेतना जागृत हुने सहजकर्ता मनीषाको दाबी छ । कोरोना कहरले विद्यालय बन्द हुँदा बालबालिकाको पढाइप्रतिको लगाव नहटोस् भनेर जोखिममा परेका समुदायमा गणना गरी पोसाक, झोला, किताब, कापीलगायतका सामान वितरण गरेर शनिबारीय कक्षा र पढाइ कुनोलाई अझ व्यवस्थित बनाइएको सिड्स नेपालका कार्यक्रम संयोजक नारायणकाजी पाण्डेले बताए । उनका अनुसार फिक्कल, तीनपाटन र गोलन्जोर गाउँपालिकामा ५३ वटा पढाइ शिविरमा सात सय बालबालिका अध्ययन गर्छन् । पाँच सयभन्दा बढी पढाइ कुनो बनाइएको उनले बताए ।
राजकुमार कार्कीले कान्तिपुरमा खबर लेखेका छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *