गोल्यान घराना अब नाति पुस्ताको काँधमा

३० भदौ, काठमाडौं । केही साताअघि जापानी प्रधानमन्त्री सिञ्जो आबेले स्वास्थ्यका कारण पदबाट राजीनामा दिए । त्यो समाचारले नेपालको सामाजिक सञ्जालमा राम्रै स्थान पायो । नेतृत्व हस्तान्तरणको यो काइदा नेपाली राजनीतिमा कहिले ? सामाजिक सञ्जालमा यस्तै प्रश्न उठेका थिए ।
नेतृत्व हस्तान्तरणको आवश्यकता राजनीतिमा मात्र होइन, नेपाली उद्योग–व्यवसायमा पनि उत्तिकै छ । पुरानो शैली परिवर्तन गरेर अत्याधुनिक प्रविधिबाट हिजो घण्टौं लाग्ने काम क्षणभरमै गर्नुपर्ने बेला आएको छ । यसकारण पनि नेपाली उद्योगमा पुस्ता परिवर्तनको चर्चा बेलाबखतमा हुने गर्छ ।
नेपालको प्रतिष्ठित औद्योगिक घरानामध्येको एक गोल्यान समूहको नेतृत्व अहिले तेस्रो पुस्ता अर्थात् नाति पुस्तासम्म आइपुगेको छ । सोहनलाल गोल्यानले विराटनगरमा चप्पल, छाता, जिपर (प्यान्ट र ज्याकेटको चेन) र अडियो क्यासेट बनाउने उद्योग पनि खोलेका थिए । त्यसैबाट उद्यम सिकेका उनका छोरा पवन गोल्यानले कपडा उद्योगमा पारिवारिक नेतृत्व लिए । अहिले खास गरेर निर्यातजन्य उद्योगका लागि नामी छ–सोहनलाल गोल्यानले जग बसाएको यो समूह ।
सोहनले छोरा पवनलाई १४ वर्षकै उमेरबाट व्यवसाय सिकाउन थालेका थिए । पवनले व्यवसायको नेतृत्व छोरा अक्षयलाई हस्तान्तरण गरिसकेका छन् । उनले किन चाँडै काँध हलुँगो पार्न चाहे त ? अहिले नेपालको जुनसुकै क्षेत्रको नेतृत्वमा युवा पुस्ताको तागत आवश्यक भएको उनी बताउँछन् ।
१६ वर्ष नपुगी प्रवेशिका (एसएलसी) परीक्षा दिन नपाइने युग थियो, त्यो । कागजमा दुई वर्ष उमेर बढाएर १४ वर्षको उमेरमा विराटनगरकै सत्यनारायण हाइस्कुलबाट एसएलसी पास गरेपछि पवनलाई बुबा सोहनलाल गोल्यानले पुर्ख्यौली व्यापार पेसा सिकाउन थाले ।
‘बुबाले पहिलो दिन दिएको दुईवटा बहिखातामध्ये एउटा खाली थियो,’ पवन सम्झन्छन्, ‘त्यसमा अर्कोको पूरा कारोबार ध्यान दिएर सार्न भन्नुभयो ।’

उनले दोस्रो दिनबाट नयाँ खातामा नयाँ हिसाब किताब राख्न सिके । त्यसरी बुबालाई कारोबारमा सघाउँदै, सिक्दै उनले १९ वर्ष पुग्नै लाग्दा मोरङ क्याम्पसबाट वाणिज्य शास्त्रमा स्नातक गरे । ‘त्यसपछि बुबाले मलाई कारोबार पूरै जिम्मा लगाउनुभयो’, पवन भन्छन् ।
त्यसबेला विराटनगरमा गोल्यान समूहको कपडा उद्योग थियो तर बन्द अवस्थामा । पवनले त्यसलाई सञ्चालनमा ल्याए । त्यसपछि उनले पस्मिना उद्योगमा हात हालेर सबैभन्दा धेरै निर्यात गर्ने उद्यमी बने ।
पवनले नेपाल बाहिर उद्योग खोल्ने सोच कहिल्यै राखेनन् । यसको खास कारण छ । ‘बुबाले धेरै मुलुक घुमेर हेर्नुभयो, हङकङ र यूएईमा लगानी गर्ने योजना पनि बनाउनुभएको थियो’, पवन भन्छन्, ‘तर असफल भएकाले मैले दायाँबायाँ नहेरी स्वदेशमै काम गरेँ ।’
बुबाले सम्हाल्न नभ्याएर बन्द गरेको कपडा उद्योगबाटै आफ्नो व्यावसायिक यात्रा सुरु भएको पवन बताउँछन् । ‘अनि धागो उद्योग खोल्ने योजना बन्यो’, उनी भन्छन्, ‘सन् १९९४ मा एमएस ग्रुपका शशिकान्त अग्रवालसँग मिलेर ५०/५० प्रतिशत लगानीमा रिलायन्स स्पिनिङ मिल खोल्यौं ।’
त्यसलगत्तै नेपाल–भारतबीच भएको व्यापारिक सम्झौताले धागो उद्योगलाई मद्दत गर्‍यो । त्यसकै परिणाम स्वरूप नेपालमा बनेको सुर्ती र सिन्थेटिक धागो ठूलो परिमाणमा भारत निर्यात हुन थाल्यो । अलिपछि त टर्कीतिर पनि निर्यात हुन थाल्यो, जुन अहिले पनि जारी छ ।
गोल्यान समूहको अर्को उद्योग छ– शिवम् प्लास्टिक इन्डस्ट्रिज । यहाँ उत्पादित ८० प्रतिशतभन्दा बढी पोलिप्रोप्लिन ब्याग (सिमेन्ट राख्ने बोरा), टार्पाेलिन (त्रिपाल) र झोलाहरू भारत निर्यात हुन्छन् ।
‘निर्यातकै हेतुले खोलेको स्विटर उद्योग भने सोचे जस्तो हुन सकेन’, पवन भन्छन्, ‘अहिले भतिजले सम्हालिरहेको त्यो उद्योगले आन्तरिक बजारमा भने राम्रै गरिरहेको छ ।’

यो पनि पढ्नुहोस
गोल्यानको उद्यम : चप्पलदेखि धागोसम्म, होटलदेखि हाइड्रोसम्म

अक्षयको काँधमा घराना विजनेश

पवनका दाजु ‍‍‍‍बासुदेव पनि व्यवसायमा सक्रिय छन् । बासुदेवका छोराहरू शक्ति र अनन्त दुबै व्यावसायी हुन् । अनन्त दुबईमा व्यवसाय गर्छन् भने अर्का छोरा शक्तिको नेपालमै व्यावसाय गर्छन् । भतिजी बुहारी (शक्तिकी श्रीमती) लतिकाले नेपालमै एउटा व्यवसायको नेतृत्व लिएकी छन् ।
पारिवारिक सल्लाहमा पवनका छोरा अक्षयलाई समूहको कार्यकारी नेतृत्व तोकिएको छ । उनका एक छोरा केही वर्षअघि बिते । स्वर्गीय छोराको स्मरणमा पवनले फाउन्डेसन दर्ता गरेर सामाजिक काम पनि गर्दै आएका छन् । रिटायर्ड लाइफमा पूरै समाज सेवामा केन्द्रित हुने उनको योजना छ ।
भर्खरै ३० काटेका अक्षय उच्च शिक्षाका लागि धेरै विदेशमा बसे । पुर्ख्यौली घर मोरङ भएपनि काठमाडौंमै हुर्किएका उनी बुबाको चाहनाअनुसार आफ्नै देशमा केही गर्छु भन्दै फर्किएर गोल्यान समूहको नेतृत्व लिएका छन् ।
उनी बुबा र बडा’बाको मार्गदर्शनमा परिणाम देखाउने ध्याउन्नमा छन् । ‘मलाई बार्सिलोना एकदमै राम्रो सहर लाग्ने, त्यतै बस्छु जस्तो पनि लागेको थियो’ स्पेनमा एमबीए पढेका उनी भन्छन्, ‘तर बुबाको चाहनालाई ध्यानमा राखेर आफ्नै देश फर्किएँ ।’
अमेरिकामा स्नातक सकेका अक्षय एक समय बार्सिलोनाप्रति यति मोहित थिए कि त्यहाँ बस्न उनले भाषा पनि सिक्नेदेखि त्यहाँ अवसरहरू पनि पहिचान गरेका थिए । तर अहिले उनलाई स्वदेश फर्किने निर्णय सही लागेको छ ।
चार वर्षदेखि व्यवसायमा
अक्षयले चार वर्षअघि रिलायन्स स्पिनिङ मिल्सको जिम्मेवारीबाट व्यवसायमा आएका हुन् । त्यसपछि समूहकै कार्यकारी नेतृत्व पाएका उनी अहिले हाइड्रोपावर प्रोजेक्ट, सोलार आयोजना लगायतमा पनि प्रत्यक्ष जोडिएका छन् । एउटा जलविद्युत् आयोजना उनकै नेतृत्वमा निर्माण भइरहेको छ ।
बुबाले सुरु गरेको कृषि पनि उनको प्राथमिकतामा छ । उनी टेक्सटायल र कृषिलाई बढी रोजगारी सिर्जना गर्ने क्षेत्र बनाउन चाहन्छन् । उनको रिसर्चले अहिले संसारका ५ प्रतिशत नागरिकले टेक्सटायल क्षेत्रमा रोजगारी पाएको देखाएको छ ।
‘बंगलादेशमा १० प्रतिशतभन्दा धेरै र भारतमा ५.५ प्रतिशत नागरिकले टेक्सटायलमा रोजगारी पाएका छन्’ अक्षय भन्छन्, ‘हाम्रो नेपालमा भने एक प्रतिशतभन्दा कमले मात्र यो क्षेत्रबाट जीविकोपार्जन गरेका छन् ।’

बुबाले झापामा स्थापना गरेको गोल्यान एग्रो फार्मलाई अझ अत्याधुनिक किसिमले अघि बढाउने अक्षय बताउँछन् । उनी भन्छन्, ‘हामीले कृषिबारे ज्ञान हासिल गरिसक्यौं, यसमा श्रोत पनि छ ।’
अक्षय नेपालमा धेरै सम्भावनाहरू देख्छन् । कोभिड–१९ सकिनेबित्तिकै नेपालको पर्यटन क्षेत्र जुर्मुराउने उनी बताउँछन् । ‘अहिले आपत् पर्‍यो भनेर नआत्तिऔं’, उनी भन्छन्, ‘कोभिड सकिएपछि पर्यटन क्षेत्र निकै राम्रो हुनेछ ।’
परम्परागत खेतीपाती गर्ने चलनका कारण नेपाली कृषिमा व्यावसायिकता कम भएको उनको बुझाइ छ । आधुनिकीकरण गरे कृषि पनि हाइड्रो, पर्यटन, उद्योग जस्तै हुने उनी बताउँछन् ।
अहिले गोल्यान समूहले ठूलो परिमाणमा धागो निर्यात गरिरहेको छ । अब तयारी पोसाक निर्यात गर्ने तयारी भइरहेको अक्षयले सुनाए । ‘नेपाली उद्योगले धागो निर्यात गर्ने अनि सर्ट–प्यान्ट लगायत तयारी कपडा आयात गर्ने गरिएको छ’, उनी भन्छन्, ‘हामी धागोमात्र होइन, तयारी कपडा पनि पठाउने गरी काम गरिरहेका छौं ।’
निर्यातजन्य उद्योगमा केन्द्रित गोल्यान समूहले पछिल्लो समय रियलस्टेट र सेवा क्षेत्रमा पनि लगानी बढाएको छ । होटलतर्फ रेसिडेन्सेस् एट हायात प्लेसमा लगानी छ भने वेस्टार प्रपर्टिजमार्फत ललितपुरको बालकुमारीमा हाउजिङ छ ।
त्यस्तै, माथिल्लो बलेफी जलविद्युत् आयोजना, बलेफी हाइड्रोपावर आयोजना, भोटेकोसी हाइड्रो र केएनबीआर इस्वा हाइड्रोपावरमा पनि गोल्यान समूहको लगानी छ । सोलार परियोजनामा भने अरू साझेदार पनि छन् ।
अक्षयका अनुसार, जलविद्युतमा करिब ७० मेगावाटको परियोजना छ । त्यसमध्ये संखुवासभामा निर्माणाधीन ४८ मेगावाटको लोअर अप्चुवा आयोजना उनी आफैँले हेरिरहेका छन् ।
पवनको भावी योजना
नेपालका उद्योगी–व्यवसायीहरूमा राजनीतिप्रति निकै रूचि जागेको देखिन्छ । कुनै दलका नेता निकट भएर चुनावमा टिकट लिने, आरक्षण वा मनोनयनको कोटामा पर्ने अनि सांसद, मन्त्री बन्ने ध्याउन्नमा लाग्ने उद्योगी–व्यवसायी धेरै छन् ।
पवन गोल्यानको पनि त्यही सोच हो कि ? ‘निजी क्षेत्रको विकास र समाज सेवा अब मेरो रूचिका क्षेत्र हुन्, त्यो नै मलाई काफी हुन्छ’, उनी भन्छन्, ‘कुनै पार्टीमा लागेर राजनीति गर्ने सोच पहिला पनि भएन, अहिले पनि छैन ।’
शक्ति गोल्यान र अनन्त गोल्यान
त्यही योजना बनाएर सारा उद्योग–व्यवसाय छोरा–भतिजालाई सुम्पिएको उनी बताउँछन् । उनी अबको धेरै समय जयन्त गोल्यान फाउन्डेसनमा बित्ने बताउँछन् । समाज सेवामा धेरै समय दिन गत १० वर्षदेखि बिस्तारै व्यवसाय अर्काे पुस्तामा हस्तान्तरण गर्दै गएको उनी बताउँछन् ।
गोल्यान समूहमा कुनै ठूलो एजेन्डा आयो भने मात्र आफूले सुझाव दिने वा निर्णय सुनाउने पवन बताउँछन् । आफ्नो लागि धेरै गरेकाले अब समाजको लागि गर्ने समय आयो भन्ने महसुस भएको उनी बताउँछन् ।
उनले व्यवसायको दैनिक रिपोर्टिङ लिन छाडेको पनि निकै भइसक्यो । ‘अब म एनएमबी बैङ्कको ‘सेरेमोनियल’ अध्यक्ष मात्र रहन्छु । धेरै झापा बसेर कृषि फार्म हेर्दै फाउन्डेसनको काम बढाउँछु’, पवन भन्छन्, ‘युवा पुस्तालाई मोटिभेसन पनि गर्नुपर्छ भन्ने लागेको छ ।’

यो पनि पढ्नुहोस
अर्गानिक कृषिमा गोल्यान समूहको लगानी, माटो ब्रान्ड स्थापना

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *