काठमाडौंको ‘इज्जत राख्ने’ राधास्वामी आश्रम

२५ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ११ गतेदेखि लकडाउन गर्‍यो । संख्यात्मक हिसाबले त नेपालमा त्यतिबेलासम्म कोरोनाबाट दुई जना संक्रमित भएका थिए ।
दुईमध्ये एक निको भइसकेका थिए । तर त्रासका कारण मानिसहरु घरबाहिर निस्कन सकेका थिएनन्, सरकारले पनि ननिस्कनु भनेको थियो ।
लामो समय घरभित्र थुनिएपछि दैनिक ज्यालामजदुरी गरेर खानेहरुको घरमा चुलो बल्न छाड्यो । उनीहरुलाई खाना खुवाउन सहयोगीहरु हातहरु पनि अगाडि आए । देशभर झण्डै २५ हजार सदस्य रहेको राधा स्वामी सत्संग व्यास नेपालले भने तयसो गर्न सकेन ।
काठमाडौंमा कीर्तिपुरको सुन्दरीघाट र सामाखुसीमा रहेको आश्रममा सत्संग बन्द थियो । भक्तजनहरू आफ्नै घरमा थिए । आश्रमको मध्य नेपालको क्षेत्रका प्रमुख कृष्ण दाहाल भन्छन् ‘चाहँदा चाहँदै पनि हाम्रो विधानमा भएको व्यवस्थाका कारण अरूले जसरी बाहिर निस्किएर सहयोग गर्न सकेका थिएनौं ।’
कोरोना संक्रमण बढ्दै गयो, विदेशमा रहेका नेपालीहरुले पनि दुःख पाएको खबरहरु आए । भारतीय सीमामा क्षेत्र तथा तेस्रो मुलुकमा अलपत्र नेपालीहरुलाई उद्दार गरेर ल्यनउनुपर्ने दबावमा सरकार पर्‍यो । सरकार बल्लतल्ल भित्र्याउन त तयार थियो, तर तेस्रो मुलुकहरुबाट आएकाहरुको पीसीआर टेष्ट नगर्दासम्म कहाँ राख्ने ? कसले खुवाउने भन्ने जस्ता अन्यौल कायमै रह्यो ।
स्थानीय प्रशासन होल्डिङ सेन्टरको खोजीमा जुट्यो । केही घण्टाका लागि राख्न त पार्टी प्यालेसहरु भेटिए तर पीसीआर रिपोर्ट नआउँदासम्म खाने र बास बस्ने व्यवस्था कहाँ गर्ने भन्ने समस्या भयो । यस्तो स्थानको खोजीका क्रममा जेठको दोस्रो साता काठमाडौंका प्रमुख जिल्ला अघिकारी जनकराज दाहाल, प्रहरी प्रमुख श्यामप्रसाद ज्ञवालीसहित ४ सदस्यीय टोली कीर्तिपुरस्थित शाखा कार्यालयमा पुग्यो । र, उनीहरुले सत्संग आश्रमको संरचनालाई होल्डिङ सेन्टरको रूपमा प्रयोग गर्ने अनुमति मागे ।
सत्संगका प्रमुख दाहाल भन्छन् ‘उहाँहरूले ‘चौतारी’को रूपमा आश्रमलाई प्रयोग गर्न दिनुपर्‍यो भन्नु भएको थियो । उहाँहरूको आवश्यकता र हाम्रो सेवाको चाहना मिल्यो, त्यसपछि हामीले होल्डिङ सेन्टरको रूपमा आफ्नो आश्रमको संरचना तयार पार्ने अनुमति दियौं ।’
०००
आइतबार संसदको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित ‘कोरोना रोकथामबारे सरकारको काम कारबाही अध्ययन उपसमिति’ले सिंहदरबारमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र उपत्यका नगरपालिका फोरमका प्रतिनिधिहरूलाई छलफलको लागि बोलाएको थियो । सो बैठकमा काठमाडौंका प्रजिअ दाहालले काठमाडौंको इज्जत जोगाएको भन्दै राधास्वामी सेवा आश्रमको प्रशंसा गरे ।
प्रमुख जिल्ला अधिकारीले भनेजस्तै आश्रमले काठमाडौंको इज्जत जोगाउनको लागि के–के काम गरेको रहेछ ? भनेर बुझ्न हामी आश्रम पुग्यौं ।
होल्डिङ सेन्टर प्रयोग गर्नुपूर्व सरकारले क्वारेन्टिनमा बस्नेलाई जस्तै प्रतिव्यक्ति एक छाकको लागि १७५ रूपैयाँ खर्च गर्ने योजना बनाएको थियो । त्यसमा बिहानको खाजा, दिउँसोको खाना, साँझको खाजा र रातिको खाना गरी चार पटक खानेकुरा दिने कुरा भएको थियो ।

बाहिरबाट ल्याउनेहरूलाई पनि पीसीआर नेगेटिभ आयो भने घर पठाउने र पोजिटिभ आएकोलाई आइसोलेसनमा लैजाने भएकोले त्यो वास्तवमै केही दिनको लागि मात्रै राख्ने ‘चौतारी’ कै रूपमा प्रयोग गर्ने जिल्ला प्रशासन कार्यालयको योजना थियो । त्यो आफैँमा खर्चालु काम पनि थियो । तर प्रस्ताव गर्न गएका चार जनालाई अचम्ममा पार्ने गरी आश्रमका सञ्चालकले बस्न मात्रै नभएर सकेको दिनसम्म खाना खुवाउने बतायो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को तर्फबाट खानाको लागि प्रतिव्यक्ति एक छाकको १७५ रूपैयाँसमेत उपलब्ध गराउने प्रजिअ दाहालले बताएका पनि थिए । तर आश्रमले सरकारी सो सहयोग नलिने सुनाएर सकेको दिनसम्म आफ्नै तर्फबाट खाना खुवाउने बताएको थियो ।
‘आश्रमको मुख्य मान्यता भनेको नै आफ्नो घरमा आएका जोकोही पाहुनालाई भोकै पठाउनु हुन्न भन्ने हो । ‘सेवा ही परमोधर्म’ नै हाम्रो मुख्य मन्त्र हो’ प्रमुख दाहाल भन्छन् ‘हामीले जे गर्‍यौं एउटा आध्यात्मिक संस्थाले गर्नैपर्ने कर्तव्य गरेका हौं । अरू केही पनि होइन ।’
०००
जेठ १६ गते सरकारले विदेशबाट नेपाली ल्याउने र भारतको समेत २० वटा नाकाबाट नेपालीलाई भित्र्याउने निर्णय गर्‍यो । भारतबाट आएकाहरूलाई कीर्तिपुरको सुन्दरीघाटस्थित आश्रमको शाखामा राख्ने र तेस्रो देशबाट आएकालाई सामाखुसीमा राख्ने निर्णय गरियो ।
दुवै ठाउँमा खाने र बस्ने सुविधा एकै किसिमको थियो । पहिलो एक महिनासम्म त खाटको व्यवस्था समेत गर्न नसकेर सबैलाई भुइँमा नै दरी ओछ्याएर चिसो नपस्ने गरी सुत्ने व्यवस्था गरिएको थियो । तर एक महिनापछि प्रशासनले नै झण्डै ५ सय जनालाई पुग्नेगरी खाटको व्यवस्था गरेपछि सबैलाई खाटमा सुत्ने व्यवस्था मिल्यो ।
क्षमताको हिसाबले सुन्दरीघाटमा मुस्किलले ३ सय जना अट्ने क्षमता थियो भने सामाखुसीमा ५ सय जनाको । सामाखुसीमा एउटै समयमा १११ जनाले प्रयोग गर्नसक्ने शौचालय पनि तयार पारिएको थियो । खाना बनाउने आफ्नो सुविधासम्पन्न भान्सा तयार नै थियो । त्यही आश्रमको प्राङ्गण र सत्संग हलमा बेड राखेर त्यसपछि जेठको तेस्रो सातादेखि सुरु भयो ‘होल्डिङ सेन्टर’को सेवा ।
त्यहाँ होल्डिङ सेन्टर बनाउने योजना प्रमुख जिल्ला अधिकारी दाहालको नै थियो । कुरा मिले पनि डीसीसीएमसीको आधिकारिक पत्र आउन केही दिन लागेको थियो । तर सो पत्र आउनुपूर्व नै आश्रमले नै बारबेर गरेर पाहुना राख्ने व्यवस्था मिलाउन थालिसकेको थियो ।
स्यानिटाइज गर्न आवश्यक पर्ने सकै सामान नेपाल रेडक्रस सोसाइटीले सहयोग गर्‍यो, पानी ट्यांकी र त्यहाँको लागि साबुनहरू र ब्ल्यांकेटहरू पनि रेडक्रसले नै दियो । केही ब्ल्यांकेट नेपाल प्रहरीले पनि सहयोग गरेको थियो ।
बेरबार गर्न त्रिपाल कुनै प्रहरी र कुनै रेडक्रसबाट मिल्यो । बाँकी आवश्यक सामग्री प्रशासन, प्रहरी र रेडक्रस जहाँ जे छ त्यतैबाट ल्याइयो । पहिलो चरणमा भारतबाट आएका ३०० जनालाई कीर्तिपुरमा राखियो ।कस्तो थियो खानाको व्यवस्था ?
आश्रमका प्रमुख दाहाल होल्डिङ सेन्टरमा आएर बस्नेहरूलाई ‘पाहुना’ भन्न रूचाउँछन् । उनका अनुसार पाहुनाका लागि तातो पानी र १३ वटा जडीबुटी मिसाएर बनाइएको पानी २४ घण्टै उपलब्ध थियो ।
दाहाल भन्छन् ‘हामी यो जडीबुटी युक्त पानीले कोरोना रोक्छ भन्दैनौं, यसले रूघाखोकी र चिसोबाट जोगाओस् भनेर खुवाएका हौं । यही पानीले नै हुनुपर्छ यहाँ बस्ने कोहीले पनि एक पटक हाछ्युँ गर्ने र खोक्नु समेत परेको थिएन ।’ सामान्य किसिमको तातो पानीमा बिरे नुन, मरिच, तेजपत्ता, दालचिनी, गुर्जाे, बेसार लगायत १३ किसिमको जडीबुटी मिसाएको पानी पाहुनालाई खान दिइएको थियो ।
खाजाको रूपमा चिया र मठ्ठा(बिस्कुट जस्तै आकारको तर बाक्लो एक किसिमको आश्रममा बढी प्रयोग गरिने खानेकुरा हो) दिने गरिन्थ्यो ।
बिहान साढे १० बजे खानाको समय हुन्थ्यो । खाना र खाजाको लागि निश्चित समय तालिका भित्तामा टाँसेर नै राखिएको हुन्थ्यो । खानामा दालभात तरकारी रोटी र अचार दिने गरिन्थ्यो । अचार बाहिर किनेको नभई आश्रममा नै बनाउने गरिन्थ्यो । अचारकै लागि कागती विभिन्न ठाउँबाट २ क्विन्टल ल्याइएको थियो, बुटवलको केन्द्र र कोही संगतकोमा फलेको आँप, काभ्रेको दाप्चामा रहेको आश्रमकै शाखाबाट लप्सी, र दोलखा शाखाबाट अमला ल्याएर अचार बनाइएको थियो ।
दिउँसो साढे ३ बजे रोटी र चनासहितको खाजा र चिया खाजाको रूपमा उपलब्ध हुन्थ्यो ।
साँझ ७ बजे बिहानको जस्तै परिकारका खाना उपलब्ध हुन्थ्यो । बेलुका खाना पछि एक गिलास दूध पिउन दिने गरिन्थ्यो । दूधमा बेसार हाल्न आग्रह गरिन्थ्यो । भारतबाट आउनेले बेसार हालेर खाने गर्थे तर तेस्रो मुलुकबाट आउनेले फिक्का दूध मात्रै पिउने गर्थे । दूध भने आश्रमले दुग्ध विकास संस्थानबाट किनेर नै दिने गरेको थियो ।
पाहुनाको पाँचदेखि १८ दिनसम्मको बसाइ
चौतारीको रूपमा प्रयोग गर्न मागेको आश्रममा पाहुनाले आफूलाई आवश्यक पर्नेजति दिन बस्न सक्ने सूचना दिइएको थियो । आश्रम प्रशासनका अनुसार थोरै बस्ने ५ दिनदेखि धेरैदिन बस्नेले १८ दिनसम्म आश्रममा दिन बिताए ।
दाहाल भन्छन् ‘मान्छेको परिवार र समाजले परेको बेलामा कस्तोसम्म व्यवहार गर्दा रहेछन् भन्ने कुरा यो महामारीमा थाहा भयो । समस्यामा परेको एक जनालाई आफ्नो परिवार र समाजमा भित्र्याउँदा सबैलाई कोरोना सर्नेजस्तो व्यवहार समेत केहीले गरे ।’
१४ दिन क्वारेन्टिनमा बसेर पीसीआर टेस्ट गर्दा तीन/चार दिनमा नेगेटिभ रिपोर्ट आएपछि मात्रै केही पाहुनाहरू घर गएको आश्रमले जनाएको छ । सुन्दरीघाटमा बसेकाहरूमध्ये केहीलाई आएको दुई/चार दिनमा नेगेटिभ रिपोर्ट आए पनि १४ दिन क्वारेन्टिनमा बसेर मात्रै आउन भनेकोले पनि केही १५ दिनभन्दा धेरै होल्डिङ सेन्टरमा बस्नु परेको आश्रमले बताएको छ ।
कतिलाई खुवायो आश्रमले खाना ?
आश्रमले दिएको तथ्यांक अनुसार आश्रमको दुईवटा शाखामा मात्रै कुल ५३०६८ थाली खाना वितरण भएको छ भने ३३२५ प्याकेट लन्च बक्स आश्रमबाट बाहिर लगिएको थियो । आश्रमबाट बाहिर भन्नाले विदेशबाट आएकाहरूलाई नै इचंगुनारायण र काठमाडौंकै केही पार्टी प्यालेसमा समेत राखिएको थियो । त्यहाँ खानाको व्यवस्था नभएको अवस्थामा आश्रमसँग खाना र खाजाको माग गर्ने गरिन्थ्यो ।

आश्रमकै तथ्यांक अनुसार जेठको तेस्रो सातादेखि भदौ २२ गतेसम्मको तथ्यांकअनुसार सामाखुसी शाखामा २४३४ जना र सुन्दरीघाटमा १९४३ जनालाई होल्डिङ सेन्टरमा राखिएको थियो ।
एक जनाको लागि प्रतिछाक कति रूपैयाँ लाग्थ्यो भन्ने प्रश्नमा दाहाल भन्छन् ‘पूर्वीय मान्यता अनुसार एउटा हातले दिएको दान अर्काे हातलाई त थाहा नहोस् भन्छन्, यो पनि आश्रमको तर्फबाट दिइएको एक किसिमको दान नै हो । त्यसैले दान लिनेले पनि मैले यति घाटा लगाएछु भन्ने गरी हामीले एक जनाको नाममा भनेर हिसाब गरेका छैनौं, त्यो नभन्दा नै राम्रो होला भन्ने लाग्छ ।’
आश्रमले यही होल्डिङ सेन्टरमा खाना खुवाउनको लागि भनेर कसैसँग सहयोग मागेको छैन । आश्रमका अनुसार असार मसान्ततिर रासन सकिएपछि भारतीय संगतहरूकै आग्रह अनुसार त्यहाँबाट रासन ल्याउनको लागि भन्सार छुट गराइदिन माग गरेको थियो । प्रजिअ दाहालको आग्रहलाई गृहसचिव र अर्थ मन्त्रालयले समेत छोटो समयमा नै त्यो प्रक्रिया पूरा गरेर भन्सार छुटमा ३० लाख बराबरको रासन ल्याउन अनुमति दियो ।
दाहाल भन्छन् ‘संगतले गरेको सहयोगले नै हामीले यति सहयोग गर्न सकेका हौं । हामीले बाहिर कसैसँग हारगुहार गर्नुपरेन गर्नुपरेन । त्यसैले यो सबै सहयोग हाम्रै सदस्य र संगतहरूको सहयोग हो ।’ यद्यपि सरसफाइमा खानामा भन्दा धेरै खर्च लागेको आश्रमले जनाएको छ ।
आश्रमले एक पटक खाना खाजाको लागि चाहिने ‘डिस्पोजेबल थाली कचौरा, गिलास जस्ता सामग्रीको लागि मात्रै ४० रुपैयाँ प्रतिव्यक्ति खर्च हुने गरेको थियो । खाना थप गर्नुपर्‍यो भने त्यो थाली डस्टबिनामा फ्यालेर फेरि अर्काे थालीमा थप खाना खाने नियम बनाइएको थियो । आश्रमले पाहुनालाई पनि नराम्रो लाग्ने भन्दै खानाको खर्च भने सार्वजनिक नगर्न आग्रह गर्‍यो ।
अन्त कहाँकहाँ छ यस्तो सेवा ?
राधा स्वामी सत्संग सेवा ब्यास यो विशुद्ध आद्यात्मिक संस्था हो । यसको देशभरमा १०५ वटा ठाउँमा यस्तै शाखा आश्रमहरू सञ्चालनमा छन् । २०४७ सालबाट निरन्तर चलिरहेको यो संस्थाको विधान अनुसार संस्थाले लिएको उद्देश्य अनुसारको काम गर्न छाडेपछि यसको नाममा रहेको सबै सम्पत्ति नेपाल सरकारको नाममा हुने भनेर उल्लेख गरेको छ ।
अहिले यो संस्थाले काठमाडौं बाहेक पनि विभिन्न स्थानमा क्वारेन्टिनको रूपमा या अरू कुनै रूपमा कोरोनाबाट प्रभावितलाई सेवा दिँदै आएको छ ।
पश्चिममा महेन्द्रनगर कञ्चनपुर, कैलालीको लम्कीचुहा, कोहलपुर, बुटवल, पाल्पा, पोखरा, चितवन, नारायणघाट, हेटौंडा जनकपुर, काठमाडौं, काभ्रे र दोलखामा पक्की संरचना रहेको संस्थाले अहिले भने लम्कीचुहा कैलाली, पर्सा खैरेनी लगायत ठाउँमा क्वारेन्टिन सञ्चालन गर्दै आएको छ । संस्थाले काठमाडौंमा रहेको शाखालाई पनि यदि विषम परिस्थितिको विकास भएको खण्डमा आइसोलेसन सेन्टर बनाउन चाहे पनि सरकारले सोही अनुसार सञ्चालन गर्न आफूले स्वीकृति दिइसकेको संस्थाले जनाएको छ ।
एक महिना सञ्चालनको लागि प्रशासनको आग्रह
आफूसँग भएको रासन सकिँदै गएपछि हाल दिँदै आएको भोजन सहितको सेवालाई निरन्तरता दिन असमर्थ हुन लागेको भनेर भदौको सुरुमा आश्रमले प्रशासनलाई जानकारी गराएको थियो । तर भदौ ४ गते जिल्ला विपद् व्यवस्थापन समितिले पत्र लेख्दै केही समयको लागि सो सेवा बन्द नगरिदिन आग्रह गरेको थियो ।
तर मौखिक रूपमा भने एक महिनासम्म सो सेवा बन्द नगरीदिन सरोकारवाला निकायले आग्रह गरेको थियो । सोही आग्रह अनुसार अहिले पालो दिनको लागि समेत पोखराबाट समेत सेवाग्राहीलाई बोलाएर आश्रमले सेवा दिइरहेको छ । आश्रमको विधान आदिको कारणले पनि सरकारले दिएको सहयोग झट्ट लिन सक्ने अवस्था नरहेको दाहालले जानकारी दिए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *