पत्रकार विरेन्द्र साह हत्या प्रकरण : १३ वर्षपछि चौथो आरोपी समातिए

२५ भदौ, वीरगञ्ज । बाराका पत्रकार विरेन्द्र साहको हत्यामा संलग्न चौथो आरोपी बिहीबार पक्राउ परेका छन् । बाराको महागढीमाई नगरपालिका–२ तेलकुवाका ४५ वर्षीय हरेराम पटेललाई प्रहरीले पक्राउ गरेको हो ।
कोल्हवी नगरपालिका–४ सपही टोलबाट पटेललाई बिहीबार दिउँसो साढे २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
‘पाँच जना मिलेर हत्या गरिएको थियो, यसअघि तीन जना पक्राउ परिसकेका थिए, अदालतको आदेशले दुई जना विरुद्ध सर्वश्वसहित जन्मकैदको फैसला गरिसकेको छ,’ उनले भने, ‘चौथो अभियुक्त हरेरराम पटेललाई पनि पक्राउ गर्न सफल भएका छौं । आवश्यक कारबाहीका लागि अदालत पठाउँछौं ।’ पक्राउ पर्न बाँकी रहेको अभियुक्तको पनि खोजी भइरहेको उनले बताए ।
तत्कालीन माओवादीले १८ असोज २०६४ मा बारा इनर्वासिरा–८ बस्ने ३४ वर्षीय पत्रकार वीरेन्द्र साहको अपहरण गर्‍यो । उम्जन गाविस पिप्रा बसतपुरबाट अपहरणमा परेका उनको शव २२ कात्तिकमा साविकको डुमरवाना–७ स्थित जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा फेला पर्‍यो । टाँगियाबस्ती नजिकै गाडिएको शवसँगै फेला परेको डटपेन र डायरी अहिले पनि नेपाल पत्रकार महासंघमा सुरक्षित रुपमा राखिएको छ ।
पत्रकार साहलाई हरेराम पटेल, कुन्दन फौजदार भन्ने नरेन्द्रकुमार फौजदार, राम एकवाल सहनी र मनेजर गिरी समेतका ५ जनाले अपरहण गरी हत्या गरेको आरोप लागेको थियो । उनीहरुले गोली प्रहार गरेर हत्या गरेपछि पत्रकार साहको शव जंगलमा खाल्डो खनेर गाडेका थिए ।
पक्राउ परेकालाई के कारबाही भयो ?
पत्रकार साहको हत्यामा संलग्न तीन अभियुक्त यसअघि नै पक्राउ परिसकेका छन् । राजनीतिक पहुँचका आधारमा अन्य अभियुक्तहरु बाहिर बस्दै आएका थिए । बारा इनर्वासिरा गाविस–९ बस्ने मनेजर गिरीलाई २०६५ असोज १९ गते र बाराकै खोपवा गाविस–८ बस्ने राम एकवाल सहनीलाई २०६५ पुस २१ गते नै पक्राउ गरिएको थियो । उनीहरु दुवै जनालाई अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाइसकेको छ ।
त्यस्तै साविकको बारा गडहल–५ बस्ने कुन्दन फौजदार भन्ने नरेन्द्र फौजदार २०७६ फागुन २५ गते पक्राउ परेका थिए । उनलाई बारा जिल्ला अदालतमा फागुन २९ गते पेश गरिएकोमा पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।

यो पनि पढ्नुहोस
पत्रकार वीरेन्द्र साह हत्या प्रकरण : १२ वर्षपछि खोलो फर्कियो

बारा जिल्ला अदालतको २०६८ जेठ १६, पुनरावेदन अदालत हेटौंडाको २०६९ साउन १६ र सर्वोच्च अदालतको २०७३ पुस २० गतेको फैसला आदेशले अभियुक्त हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मीको हकमा फरार करार गरी मुद्दा मुल्तबीमा राखिएको थियो ।
तर बारा प्रहरीले बिहीबार लुकीछिपी बसेको छ भन्ने सूचनाको आधारमा पक्राउ गरेको छ । आवश्यक प्रकृया पुर्‍याई बारा जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ । साहको हत्याका आरोपी लालबहादुर चौधरी धामी अझै पक्राउ परेका छैनन् ।
त्यसबेला साह एभिन्यूज टेलिभिजन, दृष्टि साप्ताहिक र नेपाल एफएममा आवद्ध थिए । उनी तत्कालिन नेकपा (एमाले) निकटका पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत थिए । साहको हत्या भएपछि दोषीमाथि कारबाहीको माग गर्दै देशभरका पत्रकार आन्दोलनमा उत्रिए । पत्रकार हत्याको घटनाले अन्तराष्ट्रिय सञ्चारमाध्यममा समेत चर्चा पाएको थियो ।
नेपाल पत्रकार महासंघले घटनाबारे अध्ययन गर्न गठन गरेको टोलीले ०६४ साल २३ असोजमा काठमाडौंमा पत्रकार सम्मेलन गरेर साहको अपहरण तत्कालिन नेकपा (माओवादी) ले गरेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो ।
 

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *