घरै बस्नुपर्दा चिढिँदै बालबालिका

धनगढी । विद्यालय छुटेयता धनगढी– ५ का ११ वर्षीय सोमित बिष्टको स्वभावमा निकै परिवर्तन आएको छ । चार कक्षामा अध्ययनरत उनी फरासिला अनि सबैसँग घुलमिल हुन रुचाउँथे । अहिले एक्लै बस्छन् । बेलाबेला आमाबाबुसँग झर्किरहन्छन् । समयमा खाजाखाना खानसमेत रुचाउँदैनन् । बरु राति अबेरसम्म इन्टरनेट गेम खेल्छन् ।
‘मेरो बच्चाको स्वभाव निकै फेरबदल भयो । अहिले पढलेखमा त लगाउनै मुस्किल भइसक्यो,’ सोमितका बुबा प्रदीपले भने, ‘भोकप्यास पनि मान्न छाडेको छ । बच्चा एकोहोरो भएको छ ।’ गाउँटोलका अधिकांश अभिभावकले आफ्ना बच्चामा उस्तै समस्या रहेको सुनाए ।
६ महिनादेखि विद्यालय अवरुद्ध हुनु तथा लामो समयको बन्दाबन्दीका कारण घरमै बस्नुपर्दा बालबालिकामा गम्भीर मनोवैज्ञानिक समस्या देखापरेको अध्येताहरू बताउँछन् । बिर्सने, दिक्क लाग्ने, हैरानी महसुस हुने, अरूसँग कुरा गर्न मन नलाग्ने, व्यक्तिगत सरसफाइ गर्न मन नलाग्ने समस्या देखिएका बालबालिकाको क्षेत्रमा कार्यरत सामाजिक कार्यकर्ताहरूको भनाइ छ । बालबालिकालाई समय बिताउन गाह्रो हुने, टाउको तथा शरीर दुख्ने, परिवारका सदस्यसँग बस्न मन नलाग्ने, रिस उठ्नेलगायत समस्या देखिएको एक अध्ययनले औंल्याएको छ ।
बाल सहभागिताको क्षेत्रमा कार्यरत ६८ वटा संस्थाहरूको साझा समूह (कन्सोर्टियम नेपाल) ले सुदूरपश्चिमका अछाम, बझाङ, डोटी, कैलालीसहित ३१ जिल्लामा बालबालिकामा परेको असरबारे हालै अध्ययन गरेको हो । ‘लामो समय घरभित्रै बस्नुपर्दा बालबालिकालाई चौतर्फी असर परेको देखिन्छ,’ सेती प्रादेशिक अस्पतालका बालविशेषज्ञ डा. हेमराज पाण्डे भन्छन् ।
अध्ययनमा सहभागी बालबालिकामध्ये ९ प्रतिशतमा बिर्सने समस्या देखिएको छ । त्यस्तै ६५ प्रतिशतले समय बिताउन गाह्रो हुने, १७ प्रतिशतले हैरानी महसुस हुने गरेको गुनासो गरेका छन् । १३ प्रतिशतमा रिस उठ्ने समस्या पाइएको छ । ८ प्रतिशत बालबालिकाले टाउको तथा शरीर दुख्ने समस्या रहेको बताएको कन्सोर्टियमका अध्यक्ष किरण थापाले जानकारी दिए ।
अध्ययनअनुसार विगतमा सप्ताहमा एक–दुई दिन छुट्टी भए मक्ख पर्ने बालबालिका यति बेला खुसी छैनन् । ८८ प्रतिशत बालबालिका सकेसम्म चाँडो विद्यालय खुलोस् भन्ने चाहना राख्छन् । अध्ययन अनुसार २९ प्रतिशत बालबालिका मात्र कुनै खालको वैकल्पिक पठनपाठनमा सहभागी हुन पाएका छन् । वैकल्पिक पठनपाठन सञ्चालन भएका विद्यालयमध्ये करिब २० प्रतिशत मात्र प्रभावकारी देखिएका छन् । वैकल्पिक कक्षामा पनि निजी विद्यालयका माथिल्लो कक्षामा पढ्ने बालबालिकामा मात्र पहुँच छ । ‘यो संख्या पनि निकै कम रहेको पाइएको छ,’ थापाले भने ।
वैकल्पिक कक्षाको पहुँचमा भएका बालबालिका बढी मात्रामा अनलाइन कक्षामा छन् । तर यस माध्यमको पढाइमा सबैको सहज पहुँच छैन । ‘विश्वासिलो इन्टरनेट सुविधा नहुने, नियमित विद्युत् नहुने, विद्यार्थीसँग अनलाइन कक्षाका लागि आवश्यक ल्यापटप, मोबाइल नहुनेलगायत समस्या छन्,’ धनगढीमै एक निजी विद्यालयका शिक्षक केशव महताले भने ।
अध्ययन प्रतिवेदनमा उल्लेख भएअनुसार ५१ प्रतिशत विद्यालयसँग अनलाइन कक्षाका लागि न्यूनतम आधारभूत व्यवस्था छैन । ६८ प्रतिशत शिक्षक नै अनलाइन कक्षा व्यवस्थित सञ्चालन गर्न सक्षम नरहेको पाइएको छ । ८० प्रतिशत विद्यार्थीसँग अनलाइन कक्षाका लागि आवश्यक सामग्री नै नभएको, ६० प्रतिशत परिवारले अनलाइन कक्षाका लागि आवश्यक सामग्री व्यवस्था गर्न सक्ने अवस्थामा नरहेको पाइएको थापाले बताए । ४६ प्रतिशत बालबालिकाले मात्र कोरोनाबाट बच्ने उपाय तथा रोकथामका उपाय अवलम्बन गरेको पाइएको छ ।
अध्ययनमा सहयोगी वर्ल्ड भिजनका अधिकृत विनयप्रकाश बरालका अनुसार सबै अभिभावकले आवश्यक विद्युतीय सामग्री किन्न नसक्ने र त्यससम्बन्धी आवश्यक जानकारीसमेत नहुने समस्या पनि छन् । सुविधा उपलब्ध हुने परिवारका बालबालिकाले पनि अनलाइन वा वैकल्पिक कक्षाका लागि शान्त वातावरण नपाउने, अनलाइन कक्षामा अनलाइन देखिए पनि ध्यान अन्यत्रै हुने अवस्था रहेको बरालले बताए ।
बालबालिकाले बन्दाबन्दीको समयमा पनि हिंसा महसुस वा अवलोकन गरेका छन् । जसमध्ये १६ प्रतिशत बालबालिकाले फोनमार्फत हिंसा भएको बताएका छन् । २२ प्रतिशतले मानसिक तनाब वा दबाब रहेको, १६ प्रतिशतले यौनजन्य हिंसा वा दुर्व्यवहार भएको उल्लेख गरेका छन् । यस्तै इन्टरनेटमार्फत हुने हिंसा १३ प्रतिशत, बलात्कारको प्रयास ९ प्रतिशत पाइएको अध्ययनले देखाएको छ ।
यस्तो अवस्थामा अभिभावकले बाल–मनोविज्ञानको निकै ख्याल गर्नुपर्ने मनोविद्हरू औल्याउँछन् । ‘बच्चाहरू एक्लो बस्न खोज्ने, मोबाइल बढी चलाउन खोज्नेलगायत समस्या विकराल बनिरहेका छन्,’ काउन्सिलिङ साइकोलोजी नेपालकी बालमनोविद् रोजी महर्जन भन्छिन्, ‘अभिभावकले आफ्नो बच्चामा पहिला र अहिलेको व्यवहारमा कुनै अन्तर आएन–आएको निकै ख्याल गर्नु जरुरी छ । यति फरक देखिन थाल्यो भने बेवास्ता गर्नै हुन्न ।’
अर्जुन शाहले कान्तिपुरमा खबर लेखेका छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *