दुर्गाप्रसादको अर्को पीडा : घरमा चारवटा चुल्हा छन्, सबैजसो बिरामी

९ चैत, इलाम । ‘होइन, यति लामो समय जेल बसेका अरु कोही मान्छे पनि होलान् ?’
माई नगरपालिका- ३, लुम्बाकमा दुर्गाप्रसाद तिम्सिनाको भुईँघर अगाडि उभिएर छिमेकी खगेन्द्र घिमिरेले सोधे ।
आफन्तसमेत रहेका राम सञ्जेलले जवाफ फर्काए, ‘गिनिज बुकमा त ३६ वर्ष जेल बसेको मान्छेको नाम रैछ, उहाँको त गिनिज बुकमै ट्राई गर्नुपर्छ कि क्या हो !’ आफ्ना कान्छा नाति गोपाललाई त्यसबारे बुझ्न लगाएको उनले बताए ।
२७ वर्षसम्म जेल बसेको प्रशस्त उदाहरण इन्टरनेटमा भेटेको सुनाउँदै दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेला धेरै जेल बस्नेमध्येमा रहेको उनले बताए । छिमेकीहरु उनको कुरा चाख मानेर सुनिरहेका थिए ।
लुम्बाकको घिमिरे गोलाइ पछाडि रहेको भुईँघरमा आइतबार दिनभर गाउँभरका मानिसहरुको आउजाउ भइरहेको थियो, उनीहरु एकअर्कामा अनेक खाले प्रश्न तेर्स्याइरहेका थिए ।
कतिपय नाता पर्ने व्यक्तिहरु आउँथे र दुर्गाप्रसादलाई चिनाउन खोज्थे, उनीचाहिं खासै बोल्दैनथे । मुन्टो मात्र हल्लाउँथे र चिनेको संकेत दिन्थे ।
०००

दलानमा राखिएको खाटमा बसेका छिमेकी शिवलाल अधिकारीलाई ४१ वर्षपछि घर आएका दुर्गाप्रसाद आफूसँग मजाले बोल्छन् होला भन्ने लागेको रहेछ ।
‘यसो बोल्नुहुन्छ कि, धेरैपछि आएका छिमेकीसँग चिनजान हुन्छ कि भन्ने लागेको थियो’, पूर्वशिक्षक समेत रहेका अधिकारीले भने, ‘खोइ भाषा नबुझेर हो कि एकदम लाटिनुभएको जस्तो छ ।’ तर, आफन्तहरुले दुर्गाप्रसादले जवाफ नफर्काए पनि नेपाली मजाले बुझ्ने बताए ।
दुर्गाप्रसाद हराउँदा उनको परिवार एकतप्पाको खँबुवा भन्ने ठाउँमा थियो । छोरा हराएपछि आमा धर्मदेवीसहित परिवार उब्जाउ जमिन खोज्दै बसाइ सरेर लुम्बाक झरेको थियो । त्यसैले अहिलेका छिमेकी शिवलालले दुर्गाप्रसादलाई यसअघि देख्न पाएका थिएनन् ।

यो पनि पढ्नुहोस
भारतीय जेलबाट छुटेका दुर्गाप्रसादले घर पुगेर भने – आमा !

त्यही हूलमा रहेका अर्का छिमेकी बोले, ‘खै पहिले एउटा छोरो हराएको भन्ने अलिअलि सुनेका थियौं, कस्तोचाहिं रहेछन् भनेर हेर्न आ’को । छिमेकी त चिन्नुपर्‍यो नि !’
‘अनि, कस्तो पाउनुभयो त ?’ अनलाइनखबरको प्रश्नमा उनले भने, ‘अनुहार त कताकता दिदीसँग मिल्दो रहेछ, चालचलन र गालाचाहिं माइला काकासँग पनि मिल्दो रै’छ ।’
लामो समय जेल बसेका दुर्गाप्रसाद लिखुरे वृद्ध होलान् भन्ने आफूले सोचेको तर उनी शारीरिक रुपमा त्यति दुब्लो नपाएको उनले बताए ।
०००
साँझतिर घरमा आइपुगे, आफन्त इन्द्र तिम्सिना । निकै बेर चुपचाप बसेका उनी दुर्गाप्रसाद अलिअलि गुन्गुनाउन थालेपछि बोल्न अघि सरे ।
सुरुमा दुई हात जोड्दै भने, ‘चिन्नु भो ? म इन्द्र । जेठा बडिबुबाको नाति ।’
बडिबुबा भन्ने बित्तिकै उनी मुसुक्क हाँसेर सम्झिएको संकेत गरे । दुर्गाप्रसादले बडिबुबाकहाँ टीका लगाउन जाने गरेको पनि सुनाए । तर, धेरै बोल्न सकेनन् ।
कान्छा भाइ धर्मानन्द र उनका छोरा गोपाल तिम्सिना ।
कान्छा भाइ धर्मानन्दले चाहिं जेलमा दाजुले पाएको यातनाका कारण डरले अझै पनि स्पष्टसँग बोल्न नसकेको बताए ।
दुर्गाप्रसादका भाइ प्रकाशचन्द्र तिम्सिनाका अनुसार जेलमा उनले एउटा कापी पाएका थिए, त्यहाँ उनले पाएको यातनाबारे नेपाली र हिन्दी भाषामा लेखिएको थियो ।
‘त्यो ल्याउन त दिइएन तर हामीले पहिल्यै पढेका थियौं’ उनले भने, ‘त्यहाँ चरम यातना दिइएकाले बचाउन गुहार गरेको पाइन्छ ।’ डायरीमा दुर्गाप्रसादले नेपाली र हिन्दी दुवै भाषामा लेखेको उनले बताए ।
०००
आमा र भाउजुले एक जना दाइ हराएको बताउने गरेको छिमेकी खामसिंह मोक्तानले बताए । ‘यत्तिका वर्षपछि आउनुहोला भन्ने कसरी सोचिन्छ र !’ उनले भने, ‘उहाँ आउनुभएको सुन्ने बित्तिकै हेर्न आएँ ।’
‘कस्तो रैछ छिमेकी’ भन्ने पनि हेर्न मन लागेको उनले सुनाए । ‘हुन त पहिले कस्तो हुनुहुन्थ्यो भन्ने पनि थाहा थिएन’ भीडमा रहेका अर्का व्यक्ति राम सञ्जेलले भने, ‘तर, लामो जेल जीवनले स्वास्थ्यमा चाहिं धेरै गडबडी गरे जस्तो देखियो ।’
छिमेकी तोरणबहादुर राईलाई ४१ वर्षपछि दुर्गाप्रसाद घर आउँदा उनको व्यवहार अर्कै संसारबाट मानव समाजमा आएजस्तो लागेको बताए । उनले भने, ‘उहाँ पटकपटक झस्किरहनुभएको छ, बोली पनि छैन ।’

यो पनि पढ्नुहोस
४१ वर्षपछि आमा छोराको भेट : झण्डै चिनिनँ ! फोक्से मासु लागेछ

फोटोमा हेर्दा हराएका दाइ दुर्गाप्रसाद पनि भाइ धर्मानन्द जस्तै लागेको उनले सुनाए । तर, प्रत्यक्ष भेट्दा फरक पाएको उनको भनाइ थियो ।
अर्का एकजना छिमेकीचाहिं ४० वर्ष अनाहकमा जेल राखेपछि अदालतले क्षतिपूर्ति किन नदिलाएको भन्दै प्रश्न गरिरहेका थिए । दुर्गाप्रसादका आफन्त धीरेन्द्र शर्माले उनीमाथि लागेको अभियोगबाट छुटकारा पाउने गरी आदेश आउने बित्तिकै क्षतिपूर्तिका लागि कानूनी लडाइँ अघि बढाउने बताए ।
छिमेकीहरुले यसअघि जापानमा अनाहकमा जेल पारेका गोविन्द मैनालीले पनि क्षतिपूर्ति पाएको स्मरण गराएर परिवारलाई सान्त्वना दिइरहेका थिए । तर, उनको आधा जीवन जेलमा वितेको पूर्ति पैसाले कसरी नै पो गर्न सक्थ्यो र ?
०००

‘परिवारलाई नै दशा रहेछ’ भीडबाट एकजना बोले, ‘पहिले बुबा बिते, आमाको हात गयो । कान्छा छोरा धर्मानन्दको पनि शरीरभरि घाउखटिरा आएका थिए । अहिले पनि उनी स्पष्टसँग बोल्न सक्दैनन् ।’
धर्मानन्द आफू बिरामी भए पनि सबैको सरसहयोगमा दाजु दुर्गाप्रसादलाई पाल्ने बताउँछन् । ‘अहिलेसम्म सबैतिरबाट सहयोग भइरहेको छ, आफ्नै दाजु हो पालिहाल्छु नि’, उनी भन्छन् ।
०००
‘आउन त आयो, खोइ बोल्नै सक्दो रैनछ’, घरतिर छिर्ने बाटोमा उभिएका अर्का छिमेकीको आवाज सुनियो । उनको बुझाइमा दुर्गाप्रसादले घरमा झन् धेरै दुःख पाउँछन् । ‘बरु उतै उपचार गरिदिन्थे होला, यहाँ के खाने ? के उपचार गर्ने ?’ उनले थपे, ‘एउटै घरमा चारवटा चुल्हा छन्, सबै बिरामी छन् ।’
दुर्गाप्रसादको घरमा आमा धर्मादेवीले खेतमा चुल्हो बनाएकी छन् । दिदीले बायाँतिरको कुनोमा चुल्हो बनाएकी छन्, धर्मानन्द र गोपालको चुल्हो भुईँतलामा थियो । धर्मानन्दकी कान्छी श्रीमतीको पनि अर्कै चुल्हो थियो । घरको यो तनावमा दुर्गाप्रसादको बेहाल हुने छिमेकी बताइरहेका थिए ।
बरु सरकारले उपचारका लागि पहल गरिदिए भलो हुने उनीहरुको भनाइ थियो । ‘यत्रो समयपछि गरीबको छोरो घर फर्किएको छ, अब फेरि दुःख नपाओस्’, उनीहरुको भनाइ थियो ।
तस्वीरहरुः शंकर गिरी/अनलाइनखबर

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *