दुर्गाप्रसादले भने : जेलको भन्दा घरको भात मीठो ! (भिडियोसहित)

९ चैत, इलाम । भारतीय जेलमा ४० वर्ष विताएर फर्किएका दुर्गाप्रसाद तिम्सिना आइतबार बिहान इलामको माई नगरपालिका–१०, लुम्बाकस्थित घर–आँगनमा हँसिलो देखिन्थे । प्लास्टिकको कुर्सीमा लगलग काम्दै बसेका उनको मुहार आइतबारभन्दा उज्यालो देखिएको थियो ।
अघिल्लो दिन बिहान कोलकाताको दमदम केन्द्रीय कारागारबाट छुटेर काँकरभिट्टा छेउ आइपुग्न लाग्दासम्म उनी झस्किरहेका थिए । उनलाई लागेको हुँदो हो, ‘कतै मलाई फेरि अर्को जेलमा पो लगिंदैछ कि !’
चार दशक बढी उनी भारतका विभिन्न जेलमा घुमाइए । त्यसैले उनलाई कारागारबाट छुट्दैछु भन्ने विश्वास नलागेको हुनसक्छ । दमदम कारागारबाट छुट्ने वित्तिकै उनले भाइ प्रकाशचन्द्र तिम्सिनालाई सोधेका थिए, ‘मलाई दार्जीलिङको जेलमा लैजान आँटेको हो ?’
तिम्सिनाले ‘होइन, घर लैजाने हो’ भनेपछि उनी बोलेनन् । बरु केहीबेरमा गीत गाउन थालेका थिए तर, शब्द स्पष्ट थिएन ।
लामो यात्रापछि घर पुगेका उनी गाउँलेको भीड देखेपछि चाहिं अलमलिएजस्तो देखिएका थिए ।
****
शायद, आइतबार साँझ आमा र भाइसँग खाना खाएर उठेपछि चाहिं उनले पिंजडाबाट मुक्त भएको आभास गरिरहेका थिए । त्यसैले होला अघिल्लो दिनसम्म मौनता साधेका उनी सोमबार बिहान भने बोल्न पनि तम्सिए । मुस्कुराउँदै बोल्न खोजे पनि उनको आवाज चाहिं स्पष्ट थिएन ।
हामीले कुराकानीको शुरुआत गर्‍यौं, जेलमा डायरी लेखेको विषयबाट ।
‘जेलमा त डायरी लेख्नुहुन्थ्यो रे नि त !’ दुर्गाप्रसादले विस्तारै जवाफ फर्काए, ‘अँ… ।’
‘डायरीमा आमाबुबाको नाम लेख्नुभएको रहेछ नि ?’, यो प्रश्न गर्दा उनी मुसुक्क हाँसे । त्यसपछि अनलाइनखबरकर्मीको साथमा भएको डायरी लिएर उनले फेरि ती शब्दहरू लेख्न थाले ।
शुरुआतमा आफ्नै नाम कोरे, त्यसपछि बुबाआमाको नाम पनि लेखे । अन्य कुरा लेख्न भन्दा चाहिं झञ्झट माने ।
हरेक प्रश्नको उनी छोटो जवाफ दिन्थे, केहीवेर बोलिसक्दा गलेको जस्तो हुन्थे । आवाजबीचमै टुंगिन्थ्यो ।
****
सोमबार बिहानै उनको घरमा पुग्दा भाइ धर्मानन्द तिम्सिनाले दुर्गाप्रसादको छेउमा दुई वटा कुर्सी राखिदिएका थिए । धर्मानन्द पनि छेवैमा टुसुक्क बसिरहेका थिए ।
सामान्य बोल्न थाल्ने वित्तिकै हामी उत्साहित भयौं । दुर्गाप्रसादलाई सोध्नुपर्ने प्रश्नहरू बग्रेल्ती थिए ।
भारतमा कसरी पक्राउ पर्नुभयो ? … को हत्या गर्नुभएको हो ? होइन भने कसले फसायो ? यत्तिका वर्षपछि घर आउन पाउँदा कस्तो लाग्यो ? लगायत प्रश्न मनमा थिए ।
बोल्दै गर्दा अप्ठ्यारो मान्लान् कि भन्ने डर पनि थियो । त्यसैले उनलाई विस्तारै विस्तारै प्रश्न गरिरहेका थियौं ।
त्यसक्रममा हामीले उनलाई जेलमुक्त गराउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिबारे सोध्यौं ।
‘त्यहाँ एकजना दास थरका व्यक्तिले तपाईंलाई लामो समयदेखि बसेको कुरा बाहिर भन्नुभएको रहेछ नि ? नाम याद छ ?’
‘सुवास ।’
माओवादीको आरोपमा पक्राउ परेर कोलकाता कारागारमा १० वर्षअघि पुगेका वेला राधेश्याम दासले उनलाई देखेका थिए । गत जनवरीमा पनि उनलाई त्यहीं देखेपछि सोधपुछ गर्दा दुर्गाप्रसाद चार दशकदेखि जेल बसेको उनले थाहा पाएछन् । त्यसपछि नै दुर्गाप्रसादको विषयमा चर्चा शुरू भएको हो ।
‘जेलबाट निस्किएपछि उनले दूतावासमा पनि खबर गरेछन् तर, चासो नदिएपछि वेस्ट बंगाल रेडियो क्लबका अध्यक्ष अम्बारिस नाग विश्वासलाई भनेछन्’ दुर्गाप्रसादका आफन्त धीरेन्द्र शर्माले सुनाए, ‘त्यसपछि क्लबकै पदाधिकारीको सक्रियतामा दाइबारे हामीलाई थाहा भएको हो ।’
आफन्तहरूका अनुसार राधेश्यामलाई उनले सुवास भनी चिन्दा रहेछन् ।
फेरि सोध्यौं, ‘अनि, दार्जीलिङ चाहिं वेलावेला लगिरहन्थ्यो ?’
‘लगिरहन्थ्यो ।’ (मुन्टो हल्लाउँदै)
खुट्टामा घाउ रैछ नि ? के भएको हो ?
‘खटिरो हो ।’
‘जेलमा कुट्थे पनि तपाईंलाई ?’
‘कुट्या थिएनन् ।’
सिस्नुपानी लगाउँछन् भन्नुभएको थियो रे त ?
‘पहिले पहिले लाउँथे, दार्जीलिङमै हुँदा ।’
तपाईंलाई किन लगेको रहेछ थाहा छ ?
‘केही थाहा छैन ।’
दार्जीलिङ जाने वित्तिकै लग्यो होला, होइन ?
‘अँ ।’
किन जानुभएको थियो ? पैसा कमाउन ?
(उनी मुसुक्क हाँसे । बोलेको प्रष्ट बुझिएन ।)
के काम गर्नुभयो ?
‘झार उखेल्ने ।’
चियाबारीमा ?
‘होइन, फूलबारीमा ।’
कति समय उखेल्नुभयो ?
‘६/७ वर्ष ।’
भतिज गोपाल तिम्सिनाका अनुसार यो प्रश्नमा उनी पछिल्लो दिनमा जेलमा बस्दा गरेको कामबारे बताइरहेका थिए । ‘जेलमा रहँदा फूलबारीमा काम गर्नु हुँदोरहेछ’ गोपालले अनलाइनखबरसँग सुनाए, ‘ठूलोबुबाले त्यही सोच्नुभयो ।’
फेरि प्रश्न राख्यौं, ‘दार्जीलिङ गएपछि शुरूमा केमा काम गर्नुभयो ? चियाबगानमा होला नि ?’
‘अँ.. ।’
अनि, जेलमा बस्दा के खान दिन्थ्यो ?
‘भात, रोटी ।’
मीठो हुन्थ्यो ?
‘अँ ।’
अनि, जेलको मीठो हुँदोरहेछ कि घरको ?
(हतारिंदै) ‘घरको ।’
अनि, के–के खानुभयो त ?
‘भात, तरकारी, दाल ।’
पहिले दुई कक्षा पढ्नुभएको रहेछ, फेरि पढ्ने ?
‘नपढ्ने ।’
अनि, ज्योतिषी पनि सिक्नुभएको रहेछ नि ?
‘अलिअलि ।’
अहिले पनि हात हेर्न सक्नुहुन्छ ?
‘सकिंदैन ।’
उहाँ को हो चिन्नुहुन्छ ? (धीरेन्द्र शर्मालाई देखाउँदै)
दुर्गाप्रसाद मौन रहे । त्यसपछि शर्मा आफैं बोले, ‘म तुलसी काकाको छोरा के !’
हामीले थप्यौं, ‘टीका लगाउन जानुभएको थियो रे नि !’
फेरि सोध्यौं, ‘घर आउँदा त खुशी लाग्यो होला नि ? धेरैपछि आमालाई देख्नुभयो । आमासँग गफ गर्नुभयो कि छैन ?’
उनले छोटो जवाफ दिए, ‘छैन ।’
कोलकाता कारागारबाट छुटेपछि उनले रेसम फिरिरी गीत गाएका थिए । त्यही गीत पुनः गाउन आग्रह गर्दा चाहिं उनी बोलेनन् । आइतबार साँझ चाहिं उनले आफैं एउटा गीत सुनाएका थिए ।
****
केहीबेरको मौनतापछि फेरि सोध्यौं, ‘तपाईंलाई फसाएकै हो त ?’
‘हो ।’
कसले फसायो त ?
‘प्रकाश भन्नेले ।’
सँगै जानुभएको हो कि क्या हो ?
‘होइन । उतै भेट भएको थियो, दार्जीलिङमै ।’
कहाँ छ त ऊ अहिले ?
‘दार्जीलिङमै छ ।’
के भनेर फसाएको थियो ?
‘मीठो खुवाउँछु भनेर ।’
अब भेट्नुभयो भने के गर्नु हुन्छ ?
‘केही न केही ।’
अनि तपाईंलाई सिस्नुपानी लगाउने चाहिं भारतको पुलिस हो ?
‘अँ… । कुटेन । सिस्नुपानी मात्र लगायो, दार्जीलिङमा ।’
अन्तिममा सोध्यौं, ‘बिरामी चाहिं कहिले हुनुभयो ?’
उनले सटिक जवाफ फर्काए, ‘दार्जीलिङमै हुँदा ।’
तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *