सिम्रौनगढको जियोफिजिकल सर्भे

९ चैत, वीरगञ्ज । बाराको ऐतिहासिक स्थल सिम्रौनगढ क्षेत्रको ‘जियोफिजिकल सर्भे’ गरिएको छ । बेलायतको दुरहाम युनिभर्सिटी आर्कोलोजिकल सर्भिसका वरिष्ठ पुरातत्वविद डंकन हालेसहितको टोलीले सर्भे गरेको हो ।
जमिनको एक्सरे गर्ने मेसिनले ढुंगा र इँट्टा नभएको, माटो मात्रै भएको ठाउँमा आधा मिटर तलको भाग देखाउने विज्ञहरु बताउँछन् ।
वरिष्ठ पुरातत्वविद् देवेन्द्रनाथ तिवारीका अनुसार गत वर्ष जनवरीमा स्क्यानिङ गरेर हेर्दा माटाको स–साना टुक्रा र पुराना इँट्टाहरु फेला परेको थियो । रानीबास दरबारको अवशेषको रुपमा बगैंचा भएको ठाउँ उत्खनन गरिएको थियो । ‘ढुंगा आयो भने त्यो भन्दा तल थाहा हुँदैन । माटोको भित्र के छ सबै थाहा हुन्छ । ढुंगा इँट्टाको गाह्रो के छ सबै देखिन्छ ’ उनले भने ।
तिवारीले सिम्रौनगढमा (जीपीआर) र ड्रोन क्यामेराबाट सर्भे भइरहेको जानकारी दिए । ड्रोन क्यामेराले रानीबास र ईसराबती पोखरीको ३ सय मिटर क्षेत्रको भिडियो उतारेको छ ।
‘माथि बिग्रेको अवस्था देखिन्छ, भित्र के छ त ? भनेर सर्भे गरिएको छ । चारपाँच महिनापछि रिपोर्ट पुरातत्व विभागमा आइपुग्छ’ पुरातत्वविद तिवारीले भने ‘ डिफेन्स वालको अवस्था बुझ्ने प्रयास गरेका छौं, नान सागर घाट भएको क्षेत्र जहाँ सशस्त्र प्रहरीको क्याम्प पनि छ । पश्चिमतर्फ त्यो क्षेत्रमा सर्भे गरेका छौं । दक्षिण तर्फ कवलपुरमा सर्भे गरेका छौं । रानीबास र अमरगञ्जमा पनि सर्भे गरेका छौँ। ’
अध्ययनका क्रममा दरबारभित्र पस्ने मूल ढोकाको रुपमा हाल बाँसघारी भएको क्षेत्रलाई आफूले मानेको उनले बताए । ‘ ढिस्को छ, ढुंगाहरु छ, माटाका खपडाहरु पनि छ । पुरातत्वको हिसाबले पटरी हामी भन्छौं । डिफेन्स वालको त्यो खण्ड नै राज्यको मूल ढोका हो कि भन्ने मेरो अनुमान छ’ उनले भने ।
११ औंदेखि १३ औं शताब्दीसम्मको अवेशष पाउने सिम्रौनगढ क्षेत्र ३० वर्षअघि आउँदा भन्दा अहिले धेरै फरक भइसकेको उनले बताए । उनले भने ‘ सिम्रौनगढमा पुरातात्विक क्षेत्रहरुको अवस्था बिग्रेकै छ सुधार भएको छैन । जनचेतना हुनुपर्छ, पुरातत्वको सम्पत्ति भनेको हाम्रो सम्पत्ति हो, जागरुकता नभए बचाउन सकिदैन ।’

डाक्टर डंकन हालेले सिम्रौनगढ किल्लाको पर्खालको अवस्थाको बारेमा सर्भे गरेको बताए । पुरातत्व विभागका अधिकृत विष्णुप्रसाद पाठकले पुरातत्व विभागले प्राचीन र मध्यकालीन इतिहास बोकेको सिम्रौनगढ क्षेत्रको के कस्तो अवस्था छ ? यहाँको संरचनाहरु कस्तो छ, पुरातात्विक स्थलहरुको संरक्षण सम्वर्द्धन गर्नका लागि सिम्रौनगढ राज्यको अवस्थाका बारेमा बुझेको बताए ।
‘जसरी मेडिकल डक्टरले एक्स-रे गर्छ, जियो फिजिकल सर्भेको माध्यमबाट संरचनाको अवस्थाको अध्ययन गरिन्छ’ उनले भने ‘गत वर्षबाटै काम शुरु गरेका हौं, सर्भेपछि त्यसको रिपोर्टको आधारमा क्रमिक रुपमा योजनाबद्ध रुपमा कार्यक्रम ल्याउने विभागको लक्ष्य छ । अध्ययन अनुसन्धान निरन्तर चलिरहन्छ ।’
उनी पुरातत्व विभागको मात्रै भर नपरेर हाम्रो सम्पत्ति हो, हाम्रो पूँजी हो भनेर स्थानीयले ठाउँको संरक्षण गर्नुपर्ने बताउँछन् । एउटा व्यक्तिको नभएर समुदायको, स्थानीय, प्रदेश र राष्ट्रको सम्पदा भएकोले यसको जगेर्ना गर्नु सबै सचेत नागरिकको दायित्व हुने उनको तर्क छ ।
सिम्रौनगढको उचित संरक्षणमा हुन नसकेको गुनासो
सिम्रौनगढ वडा नं ४ जानकीनगरका वासिन्दा डा. अजय चन्द्र विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सकिने स्थल ओझेलमा परेको बताउँछन् । ‘ सुन जलिरहेको छ, कोइला बचाउन लागि परेका छौ भने जस्तै छ यहाँ । ऐतिहासिक र पुरातात्विक स्थलको संरक्षण गर्न छोडेर सिम्रौनगढका अगुवाहरु अन्तरद्वन्द्वमा अल्झेका छौं ।’
उनले भने ‘यो सिम्रौनगढ राज्यको राजधानी नै हो, हामी धेरै अगाडि जान सक्छौं । ११औं शताब्दीमा कस्तो थियो, त्यस्तै अवस्थामा विकास गर्न सकिन्छ । स्थानीय, प्रदेश र संघ गरी तीनै तहको सरकारको समन्वयमा उत्खनन गर्नुपर्छ । सबै मिलेर यसको विकास गर्नुपर्छ ।’
सिम्रौनगढ क्षेत्रको प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको स्थानीयबासीको बुझाइ छ । त्यसैले यसवर्ष रामनवमीमा सिम्रौनगढमा महोत्सव गर्ने तयारी पनि भइरहेको छ । स्थानीय अभियन्ता रञ्जित कुशवाहा पनि सिम्रौनगढ क्षेत्रको महत्व अनुसार संरक्षण हुन नसकेको बताउँछन्।
‘सिम्रौनगढमा पर्यटक आउँछ, तर थाहै हुँदैन कुन बेला आयो, कुन बेला गयो । बास बस्नलाई समस्या छ’ कुशवाहाले भने, ‘ऐतिहासिक स्थल भएपनि यसको प्रचार गर्न सकेनौं । जनप्रतिनिधिले नेतृत्व लिएर कामहरु गर्नुपर्ने हो, सबैले जिम्मेवारी लिनुपर्ने हो । तर नाइ कहिल्यै भन्दैनन् । काम कछुवाको तालमा भइरहेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *