प्रधानमन्त्रीसँग भेट्न समय मागेको छु : सभामुख सापकोटा

९ चैत, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न समय मागेको बताएका छन् ।
सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले आफूले त्रिभुवन विमानस्थलमा भेट हुँदा प्रधानमन्त्रीसँग भेटका लागि समय मागेको बताए ।
सोमबार बंगलादेश भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारीको विदाइका क्रममा विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी भएको र छलफलका लागि समय मागेको सापकोटाले जानकारी दिए ।
‘कानुनमन्त्रीमार्फत कुरा भइरहेको थियो । आज राष्ट्रपतिज्यूलाई विदाइ गर्ने क्रममा एयरपोर्टमा प्रधानमन्त्रीसँग कुरा भयो । समय मागेको छु, खबर आउला,’ सापकोटाले भने ।
‘कानुनमन्त्रीमार्फत कुरा भइरहेको थियो । आज राष्ट्रपतिज्यूलाई विदाइ गर्ने क्रममा एयरपोर्टमा प्रधानमन्त्रीसँग कुरा भयो । समय मागेको छु, खबर आउला,’ सापकोटाले भने ।
पछिल्लो समय सरकारले ल्याएको अध्यादेश संसदमा टेबुल हुन नसकेको विषयमा प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै सभामुखको आलोचना गरेका थिए । सभामुख सापकोटाले भने संसद प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने बताएका छन् ।
सभामुख सापकोटाले सरकारले ल्याएका विधेयक र अध्यादेश अड्काउने आफ्नो मनसाय नभएको बताए । संसद अधिवेशन नरहेका बेला सरकारले ल्याएका विभिन्न सात वटा विधेयक प्रतिनिधिसभामा पेस हुन नसकिरहेका बेला सभामुख सापकोटाले यस्तो बताएका हुन् ।
‘अध्यादेश टेवुल गर्नुपर्छ । यो किन पेश हुन सकेन भन्ने लुकेको विषय छैन । मैले अधिकतम प्रयास गरेँ । तटस्थ/निष्पक्षतामै मेरो बल छ । सरकारले ल्याएका विषय अड्काउनेमा म छैन । मैले सरकारलाई सहयोग गर्नैपर्छ’ उनले भने ।
फागुन २३ गतेको प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेस भएको थियो । अध्यादेश पेस हुँदै गर्दा कांग्रेसको अवरोधका कारण रोकिएका अन्य सात वटा अध्यादेश पेश हुन सकेका छैनन् ।
पेस हुन बाँकी नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सन्चालन, सुपरीवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र औषधि तेस्रो संशोधन अध्यादेश छन् ।
त्यसैगरी अन्य अध्यादेशमा फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश छन् ।
‘दलहरु तयार भए संसदले उपसभामुख पाउँछ’
भेटमा पत्रकारहरुले संसदले उपसभामुख कहिले पाउँछ ? भनी प्रश्न गरेका थिए ।
जवाफमा सभामुख सापकोटाले भने, ‘उपसभामुखको निर्वाचन गर्न चार राष्ट्रिय पार्टीका बीचमा सहमति हुनुपर्छ । दलहरु तयार भएलगत्तै उपसभामुखको निर्वाचन तालिका आउँछ र संसदले उपसभामुख पाउँछ ।’
संविधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने व्यवस्था छ ।
६ माघ २०७६ देखि प्रतिनिधिसभा उपसभामुखविहीन छ । तत्कालिन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि संसदले अर्को उपसभामुख पाउन सकेको छैन ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *