श्रीमानको शालिक अनावरणपछि रमाले भनिन् – बल्ल सपना पूरा भयो

९ चैत, सप्तरी । श्रीमान् वेदप्रसाद भट्टराईले रमालाई जीवनभर साथ दिन पाएनन् । आधा उमेरसम्म पनि श्रीमानको साथ नपाएकी उनी हिजोआज पनि झलझली सम्झिरहन्छिन् । ज्यूँदो नभएपनि श्रीमानको अनुहार उनको घर अगाडि नै छ ।
सोमबार स्व. भट्टराईको शालिक आफनै सप्तरीको सुरुङ्गा नगरपालिका–१ स्थित घरअगाडि अनावरण हुँदा रमा र उनकी कान्छी छोरी सरला १० मिनेटसम्म वेदप्रसादको शालिकमा टाँसिरहे । आमा छोरी मिलेर अगरबत्ती बाल्दै माला उनको शालिकमा लगाइरहे ।
२०७५ सालमा नै निर्माण भएको शालिक सोमबार माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले अनावरण गरेका हुन् । २ वर्षभन्दा बढी समय शालिक निर्माण पूरा भए पनि छोपेर राखिएको थियो ।
‘घरै अगाडि हुनुहुन्थ्यो । तर हेर्न पाउँदिनथे । उहाँको अनुहार नै छोपिएको थियो’ ५१ वर्षकी रमाले भनिन्, ‘अब उठ्नेबित्तिकै सधैं उहाँको दर्शन गर्न पाउँछु ।’
माओवादी जनयुद्धका कमाण्डर थिए सप्तरीको तत्कालिन शिशुवारी गाविस (अहिलेको सुरुङ्गा नगरपालिका– १ का वेदप्रसाद भट्टराई । २०५८ साल चैत ९ गते नेपाली सेनाले भट्टराईलाई सप्तरीकै तत्कालिन बसबिट्टी गाविसमा नियन्त्रणमा लिई हत्या गरेका थिए ।
त्यतिबेला रमाको काखमा ४ बर्षकी कान्छी छोरी थिइन्, जेठी ८ बर्ष र माइली ६ बर्षकी थिइन् । तीन छोरीलाई पाल्ने जिम्मेबारी उनीमाथि आइलाग्यो । उनले हिम्मतका साथ तीनै जना छोरीको पालनपोषण गर्दै शिक्षा पनि दिइन् । दुई छोरीको विवाह भइसकेको छ ।
द्वन्द्वकालीन अवस्थामा घरमा सेना र प्रहरीले निगरानी बढाएका कारण रमाले श्रीमानको धेरै वटा श्राद्ध पनि गर्न सकिनन् । रमाको एउटा सपना थियो, श्रीमानको शालिक बनोस् ।
यसका निम्ति उनी तत्कालिन माओवादीको जिल्ला नेतृत्वसँग आग्रह गरिन् । जिल्ला नेतृत्वले २०७५ सालतिर रमाको घरै अगाडि वेदप्रसादको शालिक निर्माण गरिदियो ।
‘शालिक निर्माण भएको तीन बर्षसम्म शालिक छोपिएरै राखिएको थियो’ उनले भनिन्, ‘बल्ल आजदेखि अनुहार हेर्न पाउने भएको छु । बल्ल सपना पूरा भएको छ ।’
कान्छी छोरी सरला भन्छिन्, ‘अब बाबाको माया पाउन नसकेपनि उहाँलाई सधैं हेरिरहन्छु ।’

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *