शहादतको ४७ वर्षपछि शहीद घोषणा

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार १७:०७

–चन्द्रकला भण्डारी
झापा विद्रोहका क्रममा पञ्चायती शासकद्वारा शहादत प्राप्त राम प्रधान र चन्द्र डाँगी ४७ वर्षपछि शहीद घोषणा भएका छन् । उनीहरुलाई यही चैत ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शहीद घोषणा गरेको हो । विसं २०७२ मा सरकारले सुखानी जङ्गलमा गोली हानी हत्या गरिएका झापा विद्रोहका पाँच योद्धालाई शहीद घोषणा गरे पनि उहाँहरु दुई जना छुट्नुभएको थियो ।
समकालीन योद्धा केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएका बेला उनीहरुलाई शहीद घोषणा गर्नुभएको छ । यो राज्यले उनीहरुप्रति गरेको उच्च सम्मान भएको अर्का योद्धा तथा तत्कालीन संविधानसभा सदस्य मनकुमार गौतमले बताउनुभयो । उहाँका अनुसार सुखानीका तत्कालीन पाँच योद्धालाई पनि उहाँले पहिलोपटक प्रधानमन्त्री हुँदा शहीद घोषणा गर्नुभएको हो ।
प्रधानलाई विसं २०३० कात्तिक ४ गते इलामको शान्तिपुरमा एक किसानको घरको कोठाभित्र आश्रय लिएर सुतेका अवस्थामा प्रहरी र पञ्चायतका समर्थकले बाँसको सुइराले घोचीघोची हत्या गरेका थिए । डाँगीलाई भने बिर्तामोडस्थित गरामनीमा आफ्नै घरमा प्रहरीले गोली हानी हत्या गरेको थियो । प्रधानका समकक्षी खडानन्द वाग्लेले विसं २०५४ मा तत्कालीन बुधबारे गाउँ पञ्चायतमा आफू अध्यक्ष हुँदा हाल बुद्धशान्ति गाउँपालिका–१ स्थित भोटेटारमा उहाँको अर्धकदको शालिक बनाइएको बताउनुभयो । सोही स्थानमा रामकी धर्मपत्नी इन्द्रमाया र दुई छोराले मजदूरी गरेर जीपनयापन गरिरहेको वाग्लेको भनाइ छ । आर्थिक अवस्था नाजुक भएको सो परिवारलाई हालसम्म कसैबाट पनि सहयोग नभएको उहाँले जानकारी दिनुभयो । “उहाँ पञ्चायती शासनविद्धको आन्दोलनमा होमिनुभयो”, वाग्लेले भन्नुभयो, “घरको अवस्था त्यही बेला कमजोर थियो, छोराछोरीले पढ्न लेख्न पाएनन् ।” उहाँको हत्यापछि पढाइलेखाइ नभएका सन्तानले जागिर खाने कुरा भएन । अहिले मजदूरी गरेर जीवन निर्वाह गरिरहेका छन् ।”
त्यसैगरी विसं २०३० साउन २० गते डाँगीको भने प्रहरीले घरमै गोली हानी हत्या गरेको थियो । साविक बिर्तामोड–७ नडियाबारीमा सेल्टरका रुपमा रहेको उहाँका घरमा तत्कालीन झापा आन्दोलनका योद्धाको गोप्य बैठक चलिरहेका अवस्थामा प्रहरीले घेराउ गरेको थियो । प्रहरीको घेरा तोडेर भाग्ने क्रममा उहाँलाई गोली हानेर हत्या गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला सदस्य शिव ढुङ्गेलले बताउनुभयो ।
हाल बिर्तामोड–९ मा डाँगीको परिवार बसोबास गर्दै आएको छ । उहाँकी धर्मपत्नी र दुई छोरा छन् । सरकारले हालसम्म उहाँका नाममा कुनै पनि सहयोग नगरेको बताइएको छ । दुवै परिवारका सदस्यले सरकारले उहाँहरुलाई उच्च सम्मान दिँदै शहीद घोषणा गरेकामा खुशी व्यक्त छन् । रासस

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *