कोभिडका कारण लघुवित्तका ६८ प्रतिशत ऋणी कर्जा तिर्न नसक्ने अवस्थामा


काठमाडौं। कोभिड–१९ को महामारीका कारण लघुवित्तबाट ऋण लिएका ६८ प्रतिशत ऋणी कर्जा तिर्न नसक्ने नसक्ने अवस्थामा पुगेका छन्। कोभिड संक्रमण फैलिन नदिन सरकारले लकडाउन, निषेधाज्ञा गरेपछि व्यवसायमा प्रभाव परेकाले लघुवित्तका सदस्यहरु ऋण तिर्ने क्षमता कमजोर भएको हो।
नेपालमा बैंक तथा वित्तीय संस्थाको पहुँच नपुगेका गरिव तथा विपन्न वर्गलाई वित्तीय पहुँच पुर्याउन लघुवित्त कार्यक्रम सुरु गरिएको हो। लघुवित्तले निम्न वर्गका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्दै आएका छन्।
लघुवित्तलाई थोक कर्जा उपलब्ध गराउँदै आएको सेन्टर फर माइक्रोफाइनान्स नेपाल (सीएमएफ) ले कोभिड १९ ले लघुवित्तमा पारेको प्रभावबारे अध्ययन गरेको थियो।
कुल लघुवित्तमध्ये २५ प्रतिशत संस्थामा चैत र वैशाखमा परेको प्रभाव अध्ययनमा ग्रामीण क्षेत्रका ६३.८२ प्रतिशत र शहरी क्षेत्रका ६८.६३ प्रतिशत ऋणीलाई कर्जा तिर्न समस्या भएको प्रतिवेदनले औंल्याएको छ।
यसैगरी ग्रामीण भेगका २२.६६ प्रतिशत सदस्यले ऋण तिर्न आंशिक कठिनाइ भएको र १३.५३ प्रतिशत ऋणीलाई भुक्तानीमा समस्या नभएको उल्लेख गरेका छन्। शहरी भेगका २१.४७ प्रतिशतलाई ऋण भुक्तानीमा आंशिक र ९.८९ प्रतिशतलाई समस्या नभएको प्रतिवेदनले औल्याएको छ।
हाल राष्ट्र बैंक बैंकबाट लाइसेन्स लिएर ९० लघुवित्त संस्थाहरु सचालनमा रहेका छन्। गत वर्षसम्म यी संस्थाहरुले करिव ४७ लाख सर्वसाधारणलाई वित्तीय सेवा दिएका छन्। यी संस्थाहरुले साढे १० लाख समूह बनाएर १३ खर्व ५३ अर्व ऋण लगानी गरेको राष्ट्र बैंकले जनाएको छ।
लघुवित्तसंस्थाहरूका सेवाग्राहीमध्ये सबैभन्दा बढी व्यापारमा संलग्न छन्। त्यसपछि क्रमशः कृषि, पशुपालन र अन्य क्षेत्रमा सञ्लग्न रहेका पाइएको छ । लघुवित्त संस्थाका ग्राहकहरूमध्ये ५०.७१ प्रतिशत घरपरिवार सदस्यले लघु कर्जा लिएर व्यापार व्यवसायमा लगानी गरेका छन्।
यसैगरी लघुवित्तबाट ऋण लिएर २२.१४ प्रतिशतले कृषिमा, १४.२९ प्रतिशतले पशुपालन र ११.४३ प्रतिशतले अन्य पेशामा लगानी गरेका छन्।व्यापार पेशामा अंगालेका ग्राहकहरूले ऋण लिएर किराना पसल, कस्मेटिक पसल, होटल व्यवसाय, सिलाई कटाईसम्बन्धी तालिम तथा पसल, ग्रील उद्योग, जुत्ता पसल, ब्युटीपार्लर, पुस्तक पसल, बुटिक, पापड उद्योग, मासु पसल, मोटर ग्यारेज, भाडा पसल, फेन्सी पसलजस्ता प्रकृतिका व्यवसाय सञ्चालन गरेका छन्।
यसैगरी, कृषि पेशा अन्तर्गत तरकारी खेती, उखु खेती, धान खेती, मौसमी खेती लगायतमा लगानी भएको छ । पशुपालन पेशाअन्तर्गत बंगुरपालन, बाख्रापालन, भैंसीपालन, गाईपालन लगायतका पेशा अँगालेका छन्।
अन्य पेशाअन्तर्गत गाडी सञ्चालन, ढुवानी सेवा, ई–रिक्सा सञ्चालन, खसी तथा कुखुरा बिक्री जस्ता पेशा अंगालेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। कोभिडका कारण ग्रामीण क्षेत्रमा कृषि व्यवसाय गर्ने भन्दा पनि शहरमा व्यवसाय गर्नेलाई बढि प्रभाव परेकाले कर्जा भुक्तानीमा असर गरेको हो।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *