पल्सर एनएस २०० लाई टक्कर दिन आउँदै होन्डा हर्नेट २.०

काठमाडौं । बजाजको चर्चित मोटरसाइकल पल्सर एनएस २०० लाई टक्कर दिन होन्डाको नयाँ मोटरसाइकल हर्नेट २.० आउने भएको छ । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले हर्नेट २.० नेपाल ल्याउने भएको हो ।
योसँगै नेपालमा सर्वाधिक दुई पाङ्ग्रे सवारी साधन बिक्री गर्ने होन्डा र बजाजको बीचमा २०० सीसी सेग्मेन्टमा प्रतिस्पर्धा हुने भएको हो ।
स्कुटरको सर्वाधिक बजार हिस्सा रहेको होन्डा र मोटरसाइकलको ठूलो बजार हिस्सा ओगटेको बजाज बीच २०० सीसी सेग्मेन्टमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

बजाजले केहि महिनाअघि नेपालमा पल्सर एनएस २०० एफआई इन्जिन र एबीएस सहित बिक्री सुरु गरेको थियो । लकडाउनको बाबजुद यसको बिक्री निकै राम्रो रहेको छ । होन्डाले २०० सीसी सेग्मेन्टमा प्रतिस्पर्धा गर्ने लक्ष्यको साथ एक महिनाअघि भारतमा बिक्री सुरु गरेको हर्नेट २.० अहिले भारतमा चर्चामा रहेको मोडल हो । यस्तोमा यी दुई कम्पनी बीचको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ । संभवत दशैंपछि हर्नेट २.० नेपालमा बिक्री सुरु हुनेछ ।
पावरको कुरा गर्दा पल्सर एनएस २०० निकै पावरफुल रहेको छ । यसमा रहेको १९९.५ सीसी एसओएचसी ४ भल्भ, लिक्विड कुल्ड, ट्रिपल स्पार्क, एफआई इन्जिनले अधिकतम ९७५० आरपीएममा २४.५ पीएस पावर प्रदान गर्छ भने होन्डा हर्नेट २.० मा रहेको १८४.४० सीसी क्षमताको एसआई, एयरकुल्ड इन्जिनले अधिकतम ८५०० आरपीएममा १७.२ पीएस पावर प्रदान गर्छ ।

पल्सर एनएस २०० मा अगाडि एन्टी फिक्सन ब्रुससहितको टेलिस्कोपिक सस्पेन्सन दिइएको छ भने हर्नेट २.० मा अपसाइड डाउन फर्क दिइएको छ । त्यसैगरि एनएसमा पछाडि निट्रोक्स मोनोशक एब्जर्बर दिइएको छ । होन्डाले हर्नेटको पछाडि मोनोशक सस्पेन्सन दिएको छ ।स्पोर्टस नेकेड डिजाइनमा तयार भएका यी दुबै मोटरसाइकलमा सिंगल च्यानल एबीएस उपलब्ध रहेका छन् । स्पीलीट सिट, पास स्वीच, डिजिटल स्पीडोमिटर, लो फ्यूल वार्निङ लाइट, डिजिटल ओडोमिटर जस्ता समान विशेषता रहेको छ ।
बजाजले नेपालमा पल्सर एनएस २०० एबीएस र एफआई इन्जिन युक्त भेरियन्ट ३ लाख ६० हजार ९०० रुपैयाँमा बिक्री वितरण गर्दै आएको छ भने कार्बुरेटर इन्जिन सहितको भेरियन्ट ३ लाख ३९ हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको छ ।
यस्तोमा होन्डाले हर्नेट २.० मोडलको मूल्य कति कायम गर्छ त्यसले धेरै कुरा निर्धारण गर्ने छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *