नेपालमै बन्छ बजाज ‘आरई’, मासिक ११ हजार किस्तामा किन्न सक्ने

काठमाडौं । बजाज अटोको उत्पादन ‘आरई’ नेपालमा नै एसेम्बल हुँदै आएको छ । सार्वजनिक यातायातको रुपमा संचालन हुँदै आएको आरई तराईका जिल्ला र पहाडी सहरी क्षेत्रमा ट्याक्सीको विकल्पमा चल्दै आएको छ ।
कुनै समय उपत्यकाका सडकमा बिक्रम ट्याम्पोको राज थियो । यसले वातावरणमा ठूलो प्रदुषण निम्तयाको भन्दै यस्ता ट्याम्पोहरु काठमाडौंबाट विस्तापित गरियो । त्यसपछि कुनैपनि कम्पनीले त्यस्ता ट्याम्पो ल्याएर नेपालका अन्य भागमा बिक्री गरेनन् ।
पछिल्ला केही वर्षदेखि तराईका जिल्लाहरु र पहाडी सहरहरुमा तीन पाँग्रे ट्याम्पोहरुको बिक्री वितरण सुरु भएको छ । यस दौडमा बजाज, टीभीएस, पियाजियो लगायतका ब्राण्डहरुले आफ्ना उत्पादन नेपाल ल्याएर बिक्री वितरण सुरु गरेका छन् ।
अहिले नेपालमा बिक्री वितरण भइरहेका यस्ता तीन पाङ्ग्रे सवारी साधनहरुले पहाडी सहरी क्षेत्र र तराइका जिल्लाहरुको यातायातमा निकै ठूलो सहयोग पुर्याउन थालेका छन् ।
सरकारले नै उच्च पहाडी र हिमाली जिल्लाहरुमा यस्ता तीन पाङ्ग्रे सवारी साधन बिक्रीमा रोक लगाएको छ भने काठमाडौं महानगरपालीका र पोखरा महानगरपालीकामा पनि यस्ता तीन पाङ्ग्रे सवारी साधन संचालनमा रोक लगाइएको छ । यद्यपी उपत्यका भित्रका अन्य नगरपालीकाहरुले भने यस्ता साधनलाई प्रयोग गर्न दिन थालेका छन् ।
इन्धन किफायति, साना बाटाहरुमा पनि सहजै चलाउन सकिने र छिटो यात्रा गर्नु पर्ने यात्रुहरुलाई सेवा दिने यस्ता सवारी साधन अहिले धेरैको रोजी–रोटी चलाउने माध्यम बन्दै आएका छन् । यस्तोमा यहाँ हामीले बजाज ‘आरई’को बारेमा जानकारी दिएका छौं ।
गोल्छा ग्रुपले नेपालमा बिक्री वितरण गर्दै आएको बजाज ‘आरई’ नेपालमा आक्रमक बजार बिस्तार गर्दै आएको छ । पछिल्लो तथ्यांक अनुसार ५० प्रतिशतभन्दा बढी बजार हिस्सा यसैले ओगटेको छ ।
कम्पनीले यसलाई ५ लाख ३४ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरेर बिक्री वितरण गर्दै आएको छ । यो मूल्यमा बीमा शुल्क र रुट पर्मिट वापत लाग्ने खर्च ग्राहकले नै व्याहोर्नु पर्ने कम्पनीले जनाएको छ ।
यसलाई किन्न चाहने ग्राहकले ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्ने हो भने उसलाई बाँकी रकम २ वर्ष भित्र तिर्नेगरि कम्पनीले बिना व्याजमा कर्जा उपलब्ध गराउँदै आएको छ ।
यदि यसलाई ५० प्रतिशत डाउन पेमेन्ट गरेर किन्ने हो भने ग्राहकले सुरुमा २ लाख ६७ हजार ४५० रुपैयाँ तिर्नु पर्ने हुन्छ । बाँकी रकम २ लाख ६७ हजार ४५० रुपैयाँ कम्पनीसँग नै कर्जा लिएर किन्दा ११ हजार १४३ रुपैयाँ मासिक किस्ता तिर्दा पुग्ने छ ।
यस्तो छ बजाज आरई
यसमा १९८.८८ सीसी क्षमताको बजाज ट्वीन स्पार्क, फोर स्टोक डिटिएसआई, पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले १०.८६ बीएच पावर र १८ एनएम टर्क प्रदान गर्छ । यसको उच्च गति क्षमता ६५ किलोमिटर प्रतिघन्टा रहेको छ ।
यसको लम्बाई २६३५ एमएम, चौडाई १३०० एमएम र उचाई १७१० एमएम रहेको छ । यसमा २००० एमएमको ह्वील वेस दिइएको छ । लम्बाई अनुसारको ह्वील वेस उत्कृष्ट मान्न सकिन्छ । २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्सले यसलाई नेपालका अफ्ठ्यारा बाटाहरुमा पनि सहजै चलाउन सकिने छ । बजाज आरईमा ८ लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ ।
यसको अगाडि र पछाडि दुबै भागमा डबल एक्टीङ हाइड्रोलिक शक एब्जर्बर दिइएको छ । जसले यात्रालाई सहज बनाउने छ । यसमा सजिलैसँग चालक सहित तीन जनाले यात्रा गर्न सक्ने छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *