३० लाखभन्दा कम मूल्य र पाँच लाख डाउन पेमेन्टमा किन्न सकिने ३ इलेक्ट्रीक कार

काठमाडौं । विद्युतीय कार नेपालमा निकै चर्चामा रहेको सवारी साधन हो । विशेषत महंगो मूल्यको कारण विद्युतीय कारमा संसारभर ठूलो उत्साह आउन नसकेको समयमा नेपालमा विद्युतीय कारको विक्री उल्लेख्य बढेको थियो । तर, सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत विद्युतीय कारमा करका दर बढाएसँगै यसको विक्री खुम्चिएको छ ।
यसअघि १७/१६ लाखमा विक्री वितरण हुँदै आएका कारको मूल्य अहिले बढेर २५/२६ लाख रुपैयाँ पुगेको छ भने २२ लाख रुपैयाँको कारको मूल्य बढेर ३० लाख रुपैयाँ पुगेको छ । करिब ५० लाख हाराहारीको कारको मूल्य ६० लाख र ५६ लाख मूल्य रहेको कारको ७६ लाख रुपैयाँ पुगेको छ ।
फाइल तस्विर
नयाँ करको नियम अनुसार मोटर क्षमताको आधारमा अन्तःशुल्क लगाइएको छ भने भन्सार कम्बस्चन इन्जिनयुक्त गाडीको सरह ८० प्रतिशत बनाएर ५० प्रतिशत छुट दिइएको छ । यसले समग्र विद्युतीय कारको विक्रीमा उच्च गिरावट आएको छ ।
अहिले बजारमा दिगो ग्रुपले विक्री गर्दै आएको इ८, महिन्द्राको आधिकारीक विक्रेता अग्नी इनर्जीले विक्री गर्दै आएको इटुओ प्लस र अटो होस्टले विक्री गर्दै आएको डेरी ब्राण्डका विद्युतीय कार कम मूल्यमा किन्न पाइन्छ ।
अटो होस्टले विक्री गर्ने डेरी ब्राण्डमा इभी७ र इएम७ छन् भने महिन्द्राले इटुओको पि४ मोडल विक्री गर्दै आएको छ । डेरी ब्राण्डको इभी ७ को मूल्य २५ लाख ९९ र इएम७ को मूल्य २६ लाख ५० हजार रुपैयाँ रहेको छ । महिन्द्राको इटुओ इलेक्ट्रीकको मूल्य भने २९ लाख २५ हजार रुपैयाँ निर्धारण गरेको छ ।

दिगो ग्रुपले विक्री गर्दै आएको इलेक्ट्रीक कार इ८ को मूल्य २४ लाख ९४ हजार रुपैयाँ तोकेर विक्री हुँदै आएको छ । यी सबै कार किन्न चाहने ग्राहकले ८० प्रतिशतसम्म फाइनान्स सुविधा पाउने छन् । ८० प्रतिशत फाइनान्स लिएर गाडी किन्ने ग्राहकले ५ लाखभन्दा केहि बढी रकम डाउन पेमेन्ट वापत बुझाउँदा पुग्ने छ ।
महिन्द्रा इटुओमा ४८ सेलको लिथियम आयोन फोस्फेट ब्याट्री दिइएको छ । यसलाई फूल चार्ज गर्नको लागि सामान्य घरायसी प्लगइनमा चार्ज गर्दा ४ देखि ५ घन्टा लाग्नेछ । एकपटक फूल चार्ज गरेपछि १३० किलोमिटरसम्म यात्रा गर्न सकिने यो कार सिटीमा चलाउन उत्कृष्ट रहेको छ ।
दिगो इ८ मा १५.२ किलोवाट आवरको लिथियम आयोन फस्फोरस व्याट्री दिइएको छ । उक्त व्याट्रीलाई ३ किलोवाटको घरायसी विजुलीबाट ५ घन्टामा फुल चार्ज गर्न सकिन्छ । यसलाई एक पटकको फुलचार्जमा १५० किलोमिटर सम्म गुडाउन सकिन्छ ।

डेरी ब्राण्डको इभी७ इलेक्ट्रीक मोडल हो भने इएम७ इलेक्ट्रीक र सोलारबाट चल्ने कार हो । इभी ७ मोडलमा १५० एम्पीएर आवरको व्याट्री दिइएको छ । यसले एक पटकको फुल चार्जमा १५८ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ । इएम ७ ले भने १७४ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।
डेरी र दिगो ब्राण्डका कारको उच्चगति क्षमता ६० किलोमिटर प्रतिघन्टा रहेको छ भने महिन्द्रा इटुओ ९० किलोमिटरको रफ्तारमा चलाउन सकिन्छ ।
डेरी र दिगो ब्राण्डका कार चीनमा उत्पादन भएका हुन् भने महिन्द्रा भारतीय ब्राण्ड हो । नेपाली बजारमा महिन्द्राको इलेक्ट्रीक कारले आफुलाई प्रमाणित गरिसकेको छ भने डेरी र दिगो ब्राण्ड नेपालको लागि नयाँ हो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *